रोज राणा जेल चलान


काठमाडौं, २६ साउन

नेपाली चलचित्रका नायक तथा निर्माता रोज राणा -सरोज थापा) जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले मानव बेचविखन तथा ओसारपसारको मुद्दामा राणालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई बुधबार केन्द्रीय कारागार चलान गरिएको हो ।

३२ असारमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका राणालाई २ साउनमा जिल्ला अदालत काठमाडौंमा पेस गरिएको थियो । दुईपटक सात दिनको म्याद थपेर अनुसन्धान पूरा भएपछि प्रहरीले जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत जिल्ला अदालतमा राणाविरुद्ध मानव बेचविखन तथा ओसारपसार मुद्दा दर्ता गराएको थियो । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि बुधबार नै उनलाई केन्द्रीय कारागार पठाइएको काठमाडौं परिसरले जनाएको छ ।

प्रहरीले गत वैशाखमा राणाले सञ्चालन गरेको गोंगबु र डिल्लीबजारमा रहेको सो गर्ल डान्सबारमा छापा मारी नांगो नाच देखाएको अभियोगमा बारका कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका महिला डान्सरको बयानका आधारमा प्रहरीले राणामाथि मुद्दा दायर गरेको हो । मुद्दा दायर भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको दुई महिनापछि उनले आत्मसमर्पण गरेका हुन् ।

गत वर्ष पनि नांगो नाच देखाएको अभियोगमा पक्राउ परेका राणा सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएपछि धरौटीमा रिहा भएका थिए । मानव बेचविखन तथा ओसारपसारको मुद्दामा भने धरौटीमा छाड्न मिल्ने प्रावधान छैन । अब अदालतले मुद्दाको फैसला नसकेसम्म राणा जेलभित्रै बस्नुपर्ने भएको छ । मनव बेचविखन तथा ओसारपसार मुद्दामा राणामाथि लागेको अभियोग प्रमाणित भएमा उनी १५ वर्षसम्म जेल बस्नुपर्नेछ ।

प्रहरीले यसअघि नांगो नाच देखाउन लगाउने रेस्टुरेन्ट सञ्चालक, डिस्को सञ्चालक, मसाज पार्लर खोलेर वेश्यावृत्ति गराउनेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गर्ने गरेको थियो ।

0 comments:

Post a Comment