एक दिनमै उत्रियो फिल्म


काठमाडौं/ पछिल्ला दिनमा थुप्रै नेपाली फिल्म प्रदर्शन सुरु भएको एक हप्तामै उत्रिएका छन् । हलमा मुस्किलले एक हप्ता टिक्न नसक्नेमा मोफसलमा चलिसकेका, पुराना या त भिडियो प्रविधिका कमसल फिल्म मात्र देखिएकोमा एउटा अचम्मको खबर सुन्नु, देख्नुपरेको छ- नाइँ नभन्नु ल एक दिनमै उत्रियो । नाइँ नभन्नु ल शुक्रबारदेखि राजधानीका गोपीकृष्ण, हीरारत्न, अष्टनारायण, गुण र बाराही गरी पाँच र मोफसलमा पोखरा, विराटनगर र सुर्खेतका हलमा एकैसाथ प्रदर्शन सुरु भएको हो । विकास आचार्य निर्देशित यो फिल्म राजधानीको हीरारत्न हलमा प्रदर्शन सुरु भएको पहिलो दिनमै उत्रिएको छ । हीरारत्न हल स्रोतले बताएअनुसार नाइँ नभन्नु ल हेर्न दर्शक नआएकाले शुक्रबार नै उतारिएको हो । 'फिल्म हेर्न दर्शक नै आएनन्,' हलका एक कर्मचारीले भने, 'घाटामा चलाउने कुरा भएन । उतार्नुपर्‍यो ।'

नाइँ नभन्नु ल एक दिनमै उत्रिएपछि शनिबारदेखि हीरारत्नमा हिन्दी फिल्म लफंगे परिन्दे प्रदर्शन भइरहेको छ । नाइँ नभन्नु ल गोपीकृष्ण मुभिजले वितरण गरेको फिल्म हो भने हीरारत्न हल पनि गोपीकृष्ण मुभिजकै व्यवस्थापनमा केही महिनादेखि पुनः सञ्चालनमा आएको हो । नाइँ नभन्नु ल निर्माण पक्षले आफ्नो फिल्मले राम्रो व्यवसाय गरिरहेको दाबी गरे पनि एक दिनमैै फिल्म उत्रिएको भने यो नै अहिलेसम्मको पहिलो रेकर्ड भएको चर्चा फिल्मकर्मीमाझ चुलिएको छ । रमेशजंग रायमाझी निर्माता रहेको यो फिल्ममा सुमन सिंह, जीवन लुइँटेल र ऋचासिंह ठकुरी प्रमुख भूमिकामा छन् ।

0 comments:

Post a Comment