मेरो अनुभव ऋचा शर्मा (नायिका)


मैले पहिलो पटक नायिका हुने अवसर पाएको चलचित्रको शीर्षक 'फस्टलभ' नै भएकाले होला, मलाई तपाईंले यही शीर्षक दिनुभएको । संयोग मान्नुपर्छ, मैले आफ्नो पहिलो चलचित्रमा आफ्नै 'फस्टलभ' को साथ पाएँ र उसकै नायिका हुने सौभाग्य पनि । विनय श्रेष्ठको र मेरो पहिलो भेट द र्‍याम्पमा मोडलिङको प्रशिक्षणका क्रममा भएको थियो । उनी त्यहाँ हामीलाई प्रशिक्षण दिन्थे । त्यतिबेला उनी एक स्थापित मोडल भैसकेका थिए । उनले अभिनय गरेका होर्डिङ बोर्ड र टेलिएड हेरेरै म एक प्रकारले आकषिर्त भैसकेकी थिएँ । पछि विभिन्न समारोहमा हाम्रो भेटघाट भैरहन्थ्यो । सुरजसिंह ठकुरीले एउटा म्युजिक भिडियोमा खेल्न बो लाए, तर मेरो जोडी को हो बताएनन् । एकैचोटी सेटमा पुग्दा थाहा भयो कि विनय नै मेरो जोडी रहेछन् । म निकै खुसी थिएँ त्यतिबेला । त्यही म्युजिक भिडियोको छायांकनका क्रममा हामीले एकअर्कालाई नजिकबाट चिन्ने अवसर पायौं र उनी मेरो जीवनको 'फस्टलभ' भए ।

धनगढीमा हाम्रो घरभन्दा तीन-चार घर पर मेरो बुवाको साथीको घर छ । उहाँको छोरा मसँगै एउटै कक्षामा पढ्थ्यो । मलाई देखेपछि उसको परिवारले 'बुहारी' भनेर जिस्काउँथे । हुनपनि हामीसँगै हात समातेर स्कुल जान्थ्र्यौं । कक्षामा पनि सँगै बसेर हो-हल्ला गथ्र्यौ । मलाई अहिले पनि सम्झना छ- मलाई त्यतिबेला अजय देवगन मनपथ्र्यो, तर उसलाई अजय देवगन पटक्कै मन पर्दैनथ्यो । त्यही कुरामा हामीबीच विवाद पनि हुन्थ्यो । यद्यपि उ मेरो हितैषी साथी थियो । जसलाई प्रेम भन्न मिल्दैन । त्यो त एउटा मित्रता थियो, छ कक्षापछि म काठमाडौं आएँ । बेलाबखत घर जाँदा म उसका लागि केही न केही उपहार लान्थे । अब त धेरै वर्ष भैसक्यो । भर्खरै सुने कि उसले कसैलाई भगाएर विवाह गरेछ । मलाई निकै खुसी लाग्यो । बुझ्ने भएपछिको मेरो 'प्रेम' विनय नै हो र उ नै मेरो ' लास्टलभ' पनि ।

0 comments:

Post a Comment