'दसगजा हेर्न ५० हजारसम्म तिरेका छन्'


काठमाडौं/ भारतले गरिरहेको नेपालको सीमा अतिक्रमणको विषयमा निर्माण गरिएको दसगजा फिल्मको च्यारिटी-सोको एउटै टिकट ५० हजार रुपैयाँमा बिक्री भएको खुलासा फिल्मका निर्माता नवल खड्काले गरेका छन् । दसगजाको अहिलेसम्म राजधानीमा मात्रै सात र धनगढीमा एकपटक च्यारिटी-सो भइसकेको छ ।

राष्ट्रिय स्वाधीनताको आवाज बुलन्द गरिएको बताइने आफ्नो फिल्मको च्यारिटी-सोका लागि मुलुकभित्रका विभिन्न संघसंस्था, संगठन तथा व्यक्तिबाट दिनहुँ प्रस्ताव आइरहेको नवल बताउँछन् । 'च्यारिटी-सोको एउटै टिकट पाँचदेखि ५० हजार रुपैयाँसम्ममा बिक्री भएको छ । मान्छेहरू दसगजा हेर्न निकै आतुर छन् । जसकारण उनीहरू जतिसुकै मँहगोमा पनि फिल्म हेर्न चाहन्छन्,' अहिलेसम्म थप ३० ठाउँमा च्यारिटी-सो कन्र्फम भइसकेको बताउँदै उनी भन्छन्, 'केही दिनमै म्याग्दी, बाग्लुङ, पोखरा, गोर्खा, बुटवल, नारायणघाट, हेटौँडा, धरान र बनेपामा सो हुँदै छ । विदेशबाट पनि अफर आइरहेको छ ।'

मुलुक र छिमेकी राष्ट्र भारतबीचको सम्बन्धमा खलल पुग्ने अनुमानमा सेन्सर बोर्डलेे दसगजा पास गर्न अनाकानी गर्दै अड्काएको थियो । बोर्ड सदस्यहरूले चारपटकसम्म हेरेर पास गरेको दसगजा जहाँजहाँ देखाइयो, त्यहाँका मान्छे निकै राम्रो प्रतिक्रिया दिएको नवल बताउँछन् । 'फिल्म हेरेका आमदर्शकदेखि लिएर सरकारी उच्चपदस्थ अधिकारी, डाक्टर, इन्जिनियर, मन्त्रालयका सचिव, नेता, सभासद्, सीमाविद्, शिक्षक, नागरिक समाजका सदस्य तथा नेपाली फिल्म कहिल्यै नहेर्नेले समेत मुलुकले राष्ट्रवादी फिल्म पाएको प्रतिक्रिया दिए,' च्यारिटी-सोबाटै लगानी उठ्ने अनुमान गर्दै उनले भने, 'हामी नेपालीमा आफ्नो राष्ट्रप्रति कति माया छ भन्ने बुझ्ने मौका पाएँ । दुई दिन पनि नेपाली फिल्म राम्ररी चल्ने ठाउँबाट पनि च्यारिटी-सोको अनुरोध आएको छ ।'निर्माता नवल आफ्नो फिल्मले नेपाली फिल्मको व्यावसायिक क्रमभंगता गरेको बताउँछन् । 'अहिलेसम्म कुनै फिल्मको पनि यति धेरै च्यारिटी-सो भएको छैन,' उनले भने, 'आमनेपाली जनताले भोगेको पीडा र वास्तविकताको विषयमा मौलिक फिल्म बनाए चल्छ भन्ने प्रमाण हो यो ।'

0 comments:

Post a Comment