रिलिज भएनन् विदेशी


नेपाली सिनेमा घरहरुमा शुक्रवार कुनैपनि विदेशी चलचित्रहरु रिलिज भएनन् । यसको प्रत्यक्ष व्यवसायिक फाइदा स्वदेशी चलचित्रहरुलाई परेको छ । यसबाट आफ्नो फिल्म प्रदर्शन गरिरहेका नेपाली चलचित्रका निर्माताहरु हर्षित भएका छन् ।

विदेशी चलचित्र प्रदर्शन गर्न होडवाजी गर्ने राजधानीका मल्टिप्लेक्सहरुले पनि गतसाता नै रिलिज भएका हिन्दी चलचित्रको प्रदर्शनलाई निरन्तरता दिएका छन् । प्रायः हिन्दी चलचित्र प्रदर्शन गर्ने उपत्यका तथा मोफसलका सिनेमा घरहरुले यो साता नेपाली चलचित्र प्रदर्शन गरिरहेका छन् । भारतीय लगानीको बिग सिनेमाले पनि नयाँ फिल्म रिलिज गरेको छैन ।

क्वेस्टको जयनेपालमा पनि नेपाली चलचित्र 'कोही…मेरो'को प्रदर्शन सुरु भएको छ । यो साता बलिउडमा 'हेल्लो डार्लिङ' र हलिउडमा 'टेकस्र' रिलिज त भए तर नेपालमा प्रदर्शन गरिएन । सम्बन्धित हलहरुको व्यवसायिक रिसर्चमा ती फिल्म अटाएनन् । 'यसबाट प्रत्यक्ष फाइदा नेपाली चलचित्रहरुलाई नै हुन्छ' वितरक तथा निर्माता नरेन्द्र महर्जनले भने 'बल्ल नेपाली फिल्महरुले स्वतन्त्रता र प्रतिस्पर्धाको वातावरण पाउँछन् ।'

'कोही…मेरो'का निर्माता सुरज वंशल पनि यो साता विदेशी चलचित्र रिलिज नभएपछि आफ्नो चलचित्रले व्यवसायिक पिकअप गर्नेमा आशावादी छन् । 'हाम्रो मुख्य प्रतिस्पर्धा भनेको स्वदेशीभन्दा विदेशीसँग नै हुन्छ तर हामी थिचोमिचोमा परिरहेका हुन्छौं' वंशल भन्छन् 'सिनेमा कल्चरमा हुर्किरहेकाहरुले यसो भएमा नेपाली चलचित्र हेर्नैपर्ने बाध्यता हुन्छ ।'

0 comments:

Post a Comment