मेलिनाको मुल्याङकनमा नेपाली हिरो


नेपाली हिरोमा राजेश हमाल मलाई सबभन्दा बौद्धिक र चरित्रवान लाग्छन् भने भुवन केसी अब्बल अभिनेता । दिलीप रायमाझी नृत्यमा पारंगत छन् । निखिल उप्रेती नम्र र शिष्ट छन् ।

मेलिना मानन्धर, कलाकार

दुई दशकदेखि नेपाली फिल्म क्षेत्रमा क्रियाशील छु । यस अवधिमा करिब पाँच दर्जन फिल्ममा अभिनय गरे । अभिनयका क्रममा नयाँ, पुराना गरी दर्जनभन्दा बढी नायकसँग काम गर्ने अवसर पाएँ । मेरो पहिलो फिल्म थियो- पि्रयसी । ०४८ मा बनेको थियो, फिल्म । यसमा मेरा नायक थिए, किरणप्रताप केसी ।

त्यसपछि भुवन केसी, राजेश हमाल, शिव श्रेष्ठ हुँदै अहिलेका नयाँ हिरोहरू कर्मा शाक्य, नवीन श्रेष्ठसँग पनि काम गरेकी छु । यीमध्ये केहीसँगका अभिनय र संगत स्मरणयोग्य छन् भने केहीसँगका तीता । मान्छेका आ-आफ्नै स्वभावगत विशेषता हुन्छन् । सबैका गुण र अवगुण हुन्छन् ।

मैले जे-जति नायकसँग अभिनय गरेँ, भयानक प्रतिभाशाली र बिछट्टै सुन्दर कोही पनि लाग्दैन मलाई । र, असाध्यै कमजोर, खराब र कुरूप पनि कोही लाग्दैनन् । नेपाली फिल्म उद्योगमा यही हिरोचाहिँ 'मेरो आदर्श हिरो हो' भन्ने छैन । एउटा पाटोमा बलिया भएको हिरो अर्काे पाटोमा कमजोर हुन्छ । राम्रो अभिनय गर्न सक्नेले राम्रो डान्स गर्न सक्दैन । उता, डान्समा निपुण नायक अभिनयमा कमजोर हुन्छ ।

अभिनयका हिसाबले भुवन केसी, शिव श्रेष्ठ र दिलीप रायमाझी मलाई अब्बल लाग्छन् । उनीहरूको अभिनय जीवन्त र स्वाभाविक हुन्छ । उनीहरूले अभिनय गरेको फिल्म हेर्दा फिल्म होइन, जीवनको यथार्थ भोगाइ हेरिरहेजस्तो लाग्छ । मलाई उनीहरूको अभिनय कुनै विदेशी सुपरस्टारको भन्दा कम जीवन्त लाग्दैन । उनीहरू राम्रा अभिनेता हुन् । मलाई लाग्छ- जीवन्त अभिनय कलाकारको सबभन्दा महत्त्वपूर्ण योग्यता हो र जोसँग यो योग्यता हुन्छ, ऊ फिल्म जगत्मा लामो समयसम्म टिक्न सक्छ ।

व्यक्तित्व र बौद्धिकताका दृष्टिले राजेश हमाल मलाई उत्कृष्ट लाग्छन् ।

सबै पक्षमा आफूलाई मेन्टेन गरिरहन सक्ने एक मात्र नेपाली हिरो हुन्, उनी । अहिलेसम्म उनी त्यति ठूलो विवादमा मुछिएका पनि छैनन् । उनको चारित्रिक पक्ष सबल छ । उनलाई कुनै पनि नकारात्मक कुराका लागि कसैले औँला उठाएको मलाई थाहा छैन । अरूले के भन्छन् ? वा अरू के गर्छन् ? भन्ने भन्दा पनि 'आफू के गर्छु' भन्नेमा उनी केन्दि्रत हुन्छन् । उनका व्यवहार, बोली र प्रस्तुति एकदमै परिपक्व, शिष्ट र सभ्य छन् । यति लामो समयसम्म फिल्म उद्योगमा एकछत्र राज गरिराख्नु चानचुने कुरा होइन । उनीबाट नेपालका हिरोहरूले सिक्नुपर्ने धेरै कुरा छन् । नेपाली फिल्म उद्योगमा मैले सबभन्दा सम्मान गर्ने हिरो हुन्, राजेश हमाल । उनी असल मान्छे र असल अभिनेता हुन् ।

सौन्दर्यमा भुवन केसी, धीरेन शाक्य र लोकेन्द्र कार्की अब्बल लाग्छन् । भुवन केसी अभिनयमा जति निपुण छन्, सौन्दर्यमा पनि उत्तिकै सम्पूर्ण छन् । यही कारणले उनले सदाबहार हिरोको पहिचान बनाएका हुन् । जति-जति उमेर ढल्किँदै गयो, उनी उति-उति जवान हुँदै गएझैँ लाग्छ । व्यवहारका हिसाबले पनि भुवन असल छन् । आफूभन्दा जुनियर कलाकारलाई कहिल्यै पनि यो जुनियर कलाकार हो भन्ने व्यवहार गर्दैनन् । उनीहरूलाई पनि उत्तिकै आदर र प्रेम गर्छन् । अर्को कुरा, उनीमा कामप्रतिको समर्पण एकदमै राम्रो छ । सबै फिल्ममा उत्तिकै समर्पित भएर अभिनय गर्छन् ।

धीरेन शाक्यको त पहिचान नै ह्यान्डसम हिरोको छ । उनको शारीरिक सुगठन र सुन्दरताबाट प्रभावित छु । लोकेन्द्र कार्कीका त्यति धेरै फिल्म त हेरेकी छैन । तर, उनको शारीरिक बनावट निकै राम्रो लाग्छ ।

नृत्यमा दिलीप रायमाझी अब्बल लाग्छन्, मलाई । नेपाली हिरोहरूको कमजोर पाटो भनेको नृत्य पनि हो । उनीहरूलाई नृत्य गर्न आउँदैन भनेर धेरै आलोचना गरिन्छ । मेरो मूल्यांकनमा दिलीप मात्रै यस्तो हिरो हुन् जो नृत्यमा पारंगत छन् । उनी सबैखाले नृत्य गर्न सक्छन् । नृत्यमा मात्र होइन, अभिनयमा पनि उनी निपुण छन् । हास्य अभिनयमा उनीजति जमेका नयाँ पुस्ताका हिरो कोही पनि छैनन् ।

निखिल उप्रेती, भुवन केसी, कर्मा शाक्य र विनय श्रेष्ठ एकदमै विनम्र शैलीमा बोल्ने हिरो हुन् । उनीहरूको बोलीमा अभिमान र खस्रोपनको झल्को पाइँदैन । सबैसँग सम्मानसाथ शिष्टतापूर्वक बोल्छन् उनीहरू । अझ, निखिल उप्रेतीको बोल्ने शैली ज्यादै नम्र र भद्र छ ।

हरेक क्षेत्रमा असल र खराब मान्छे हुन्छन् । फिल्म क्षेत्रमा पनि यस्ता केही हिरो छन्, जो, 'मै सबथोक हुँ, मबाहेक अरू कोही गतिला छैनन्' भन्ने खोक्रो घमण्ड लिएर बाँचेका छन् । यस प्रवृत्तिका धेरै हिरो छन्, फिल्म उद्योगमा । नायिकाहरूलाई खराब नजरले हेर्ने र दुव्र्यवहार गर्ने हिरो पनि छन्, यहाँ । अभिनयकै क्रममा मलाई एक हिरोले खराब नियत राखेर पट्याउने कोसिस पनि गरेको थियो । तर, उसलाई मैले शिष्टतापूर्वक सम्झाएर ठेगान लगाएको थिएँ । यस्ता प्रवृत्ति भएका हिरोले नेपाली फिल्म उद्योगलाई बद्नाम गरेका छन् । उनीहरूका कारण नायिकाहरूले तनाब व्यहोर्नुपर्छ । यस्ता हिरोलाई म सधै घृणा गर्छु ।

केही हिरो र हिरोइनबीच द्वन्द्वका कारण पानी बाराबारको स्थिति भएको पनि सुनेकी छु । तर, मेरो मामलामा भने यस्तो भएको छैन । नराम्रो नियत राखेर प्रस्तुत हुनेहरूसँग म टाढै बसिदिन्छु । त्यसैले, सतहमा आउनेगरी मेरो कुनै हिरोसँग द्वन्द्व या विवाद भएको छैन ।

हलिउड र बलिउडका हिरोहरूका तुलनमा नेपालका हिरो धेरै कुरामा कमजोर छन् । तर, यसमा हिरोको कुनै दोष देख्दिनँ, म । लगानीका हिसाबले नेपाली फिल्म क्षेत्र अत्यन्त कमजोर छ । कमजोर लगानी भएपछि हिरोहरूले तन, मन र वचनले अभिनय गर्ने वातावरण हुदैन । उनीहरू धेरैभन्दा धेरै फिल्ममा अभिनय गर्ने दाउमा हुन्छन् । नेपाली कलाकारको बाध्यता हो, यो । हतारमा गरिएको अभिनय लतर-पतर त हुनै नै भयो । विदेशी फिल्ममा धेरै लगानी हुन्छ । एउटै फिल्मबाट राम्रो आर्थिक उपार्जन भएपछि त्यहाँका कलाकार तन, मन र वचनले काम गर्छन् । र, अभिनय पनि राम्रो हुन्छ 

0 comments:

Post a Comment