सिनेकर्मी लट्ठिए दोलखामा


दोलखा, श्रावण ३० २०६७ बलिउडवालाहरू सुटिङका लागि स्विट्जरल्यान्ड ताक्छन् । हाम्रा कलिउडवालाहरू पनि गच्छे पुगे सायद उतै जान लोभिन्थे । स्विट्जरल्यान्डलाई माथ गर्ने काठमाडौंनजिकका दृश्यहरू भने अहिलेसम्म कुमारी नै छन्, जसलाई हाम्रा चलचित्र उद्यमीहरूले टिप्न सकेका छैनन् । करिष्मा मानन्धर, श्रीकृष्ण श्रेष्ठ, सुनिल थापा, श्वेता खड्काहरूलाई दोलखाले शनिबार मोहनी लगायो ।
'सुटिङका लागि स्विट्जरल्यान्डजस्तै लाग्यो,'सुनिलले त भनिहाले,'भारतीय चलचित्र उद्यमीहरू सुटिङका लागि यहीँ आए हुने रहेछ ।'
अरनिको राजमार्ग छाडेर नागबेली आकारको कालोपत्रे मार्ग पहिल्याउँदै पूर्वतिर उकालिएपछि सुटिङका लागि चाहिने दृश्य देखिन्छन् । खाडीचौरबाट हरियो जंगलले छोपेको सडक यात्रा गर्दै मुढेबाट खरिढुंगा काटेपछि करिष्मा झनै आनन्दित भइछन् । चरिकोटस्थित कालिञ्चोक हलमा भेटिएकी उनले ती सुन्दर दृश्य सम्झँदै भनिन्, 'भेरी नाइस प्लेस, सुटिङलाई सुट हुने ठाउँ रहेछ।'मौसमी गुराँस फुल्ने खरिढुंगाबाट रोल्वालिङ र लाङटाङ हिमशृंखलाका आकर्षण मात्र हैन, आखाँनजिकका पोथ्रापोथ्री र घाँस पनि सुन्दर लाग्छन् । दोलखा भीमसेन दर्शन गर्न र 'बक्सअफिस फिल्म अवार्ड' मा छनोटका लागि 'कहाँ भेटिएला' फिल्म हेर्न आएकी उनलाई काठमाडौंबाट पिच मार्गबाट छोटो यात्रामा सुन्दर थलो आइपुग्नु नै अनौठो लाग्यो । जम्मा १ सय ३३ किलोमिटर यात्रापछि पुगिने यो रमाइलो थलोलाई सुटिङस्थल बनाउन सहयोग गर्ने उनले बताइन् ।
हिमाल, खोला, पहाड, जंगल, गाउँबस्ती एकै स्थानमा बसेर अवलोकन गर्न सकिने विरलै ठाउँमध्ये चरिकोट पाएपछि नायक श्रीकृष्ण श्रेष्ठ उत्साहित भए । उनले भने, 'जिरीसम्म पुगेको छु र सुटिङका लागि धेरै सुन्दर ठाउँहरू पाएको छु ।' उनी 'कहाँ भेटिएला' को प्रचार गर्न कालिञ्चोक हलको सहयोगमा ५० भन्दा बढी कलाकार लिएर शनिबारै चरिकोट आएका हुन् । चरिकोटनजिकको प्राचीन सांस्कृति थलो दोलखा, कालिञ्चोक, शैलुङ, तामाकोसी, जिरी सुटिङका लागि असाध्यै स्वादिलो थलो भएको उनले बताए ।
ठूलो लगानीका चलचित्रका लागि कुमारी नै रहेको दोलखा साना लगानीका चलचित्र सुटिङमा भने ख्याति कमाएको छ । अचेल कालिञ्चोक र शैलुङमा निकै सुटिङ हुने गरेको छ ।
कालिञ्चोकका होटल व्यवसायी चन्द्र लामाले भने, 'सुटिङका लागि तीन/चार ग्रुपले काम गरिरहेका छन् ।' गौरीशंकर, लाङटाङ, अन्नपूर्णदेखि सगरमाथाका केही अंश देखिने कालिञ्चोक र शैलुङनजिकसम्म मोटर जाने भएकाले सुटिङलाई उपयुक्त थलो बन्दै गएको छ ।
सुटिङ प्रयोजनमा नआए पनि कलाकारलाई चरिकोटवासीले भव्य स्वागत गरे । प्रशंसकहरूले फूल दिए अनि फोटो खिचे । अघिपछि लाग्दै कालकारहरूलाई छोए । कुराकानी गरे । भीडभाडमै कलाकारहरूको बिदाइ पनि भयो ।
करिष्मालाई अर्को कुराले पनि छोएछ । 'प्रायको मोबाइलमा नेपाली गीत सुनें, रिङटोन पनि नेपाली गीतकै थियो,' उनले भनिन्, 'दोलखालीमा नेपाली गीत र चलचित्रप्रति माया रहेछ, यसका लागि धन्यवाद ।'

0 comments:

Post a Comment