नाइँ नभन्नुस्


नेपाली फिल्म र दर्शकबीचको सम्बन्ध उति राम्रो देखिँदैन । फिल्मकर्मीको आरोप छ- दर्शकले स्वदेशी फिल्मलाई माया गर्दैनन् । दर्शक भन्छन्- छेउ न टुप्पाका हुन्छन् । शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा रहेको फिल्म 'नाइँ नभन्नु ल' ले भने सकारात्मक छनक देखाएको छ । प्रेमकथामा आधारित फिल्मले दर्शकलाई नाइँ नभनाउने प्रयास गरिरहेको छ । फिल्म लेखनबाट निर्देशनमा समेत हात हालेको दोस्रो प्रयासमै विकास आचार्य धेरै हदसम्म सफल देखिएका छन् ।

सानैमा बाबुआमाको मायाबाट टुहुरिएको शिशिर (जीवन लुइँटेल) ऋतु (ऋचासिंह ठकुरी) को मायाबाट पनि टाढिने हो कि भन्ने पीरको कारण बन्छ, वसन्त (सुमन सिंह) । ऋतु आफू वसन्तलाई मन पराउने भएकोले शिशिरलाई सपना नदेख्न भन्छिन् । तर ऊ भने वसन्त पछि शिशिरकै ऋतु हुने प्राकृतिक नियममा विश्वास गर्छ र प्रेमको भीख मागिरहन्छ । प्रकृतिमा ऋतुको गोलचक्कर कहिल्यै नसकिने भए पनि फिल्म कुन ऋतुमा गएर टुंगिन्छ भन्ने अन्त्यसम्मै कौतुहल जागिरहन्छ ।हिमालयन फिल्मस्को ब्यानरमा रमेशजंग रायमाझीले बनाएको फिल्म 'नाइँ नभन्नु ल' को सबल पक्ष् संवाद हो । संवादमा जीवन्तता छ । फिल्मको सार्वजनिक प्रदर्शनअगावै हिट बनेका गीतलाई कृष्णहरि बरालले फिल्मकै कथामा ढालेर लेखेकाले फिल्म सांगीतिकसमेत बनेको छ । सबै गीतमा गायक/गायिका दीपक लिम्बू र रजिना रिमालको स्वर रहेको छ भने महेश खड्काको संगीतमा मिठास छ ।

शम्भु सापकोटाका ट्रली र क्रेनमा गतिशील क्यामेराका दृश्य राम्रा छन् । विशेषगरी गीत/नृत्यमा प्रयोग गरिएका भेषभूषा सुहाउँदिला छन् । फिल्मका केही दृश्य चोटिला र मार्मिक पनि छन् । नरम स्वभावका दर्शक ती दृश्यमा आँसु झार्न पनि सक्छन् । सधैं जित्नका लागि बाजी थाप्ने दुई साथीहरू हार्नका लागि बाजी थाप्नुपर्ने परिस्थितिले दर्शकलाई भावुक बनाउन सक्छ भने फिल्मका पछिल्ला दृश्यमा जीवनले बोल्ने संवादले दर्शकको मनसम्म पुगेर छुने सामथ्र्य राख्छन् । 'म कहिले पो सुखी थिएँ र दुःखको समाचारले असर गरोस्' सधैं अरूलाई जादू देखाएर रमाइलो गर्ने जीवन (शिशिर) आफैं दुःखी बन्दा भन्छ, 'भगवान् त मभन्दा पनि ठूलो जादुगर रहेछ, जिन्दगीको सारा खुसी नै लुट्यो ।'झन्डै साढे दुई घन्टाको फिल्ममा मिथिला शर्मा, मुकेश आचार्य, ममता श्रेष्ठ, श्वेता आचार्यलगायतले पनि फिल्ममा अभिनय गरेका छन् । ऋतुकी छोरी खुसीले आमाको उपन्यास 'नाइँ नभन्नु ल' को कथालाई साथीसँग भनेको आधारमा प्रस्तुत गरिएको फिल्मको दृश्य परिवर्तन कलात्मक छ । फिल्ममा हाबी देखिएका जीवनको अभिनय दमदार भएकैले पनि फिल्म राम्रो बन्न सकेको हो । यसै फिल्मबाट डेब्यु गरेकी नायिका ऋचाको सुन्दरतामा देखिएको निखार अभिनयमा आउनु जरुरी छ । फिल्ममा मुकेश र ममताको प्रेम प्रसंग र त्यसको अन्त्यमा भने दर्शकले गुनासो गर्ने ठाउँ छ । अभिनयमा जमेका भए पनि मुकेशलाई प्रेममा कमजोर रूपमा प्रस्तुत गरिँदा अन्याय भएको लाग्न सक्छ । त्यस्तै ऋतुलाई मन पराउने एक खलपात्र हिमालले उनी आपत्कालीन अवस्थामा पर्दा सहयोग गर्न खोज्ने नायकको बाटो छोक्नु तर्कसंगत लाग्दैन ।

प्रकाशित मिति: २०६७ भाद्र ७ ०९:३२

0 comments:

Post a Comment