दिपक लिम्बुको 'श्रोता'


काठमाडौ, श्रावण २० - गायकः दिपक लिम्बु
एल्बमः श्रोता (द रियल लिस्नर)
विधाः आधुनिक/लोक/पप
लेबलः म्युजिक डट कम
पाँच वर्षअघि 'नेपाली तारा' को ताज पहिरिएदेखि गायक दिपक लिम्बुले फर्केर पछि हेर्नुपरेको छैन । रियालिटी शोबाट संगीत क्षेत्रमा छिर्ने अरु थुप्रै गायक/गायिकालाई भन्दा दिपकलाई श्रोताले सधै साथ दिएका छन् । त्यही साथको कदर गर्दै गायकले दोस्रो एल्बम 'श्रोता, द रियल लिस्नर' बजारमा ल्याएका छन् ।

श्रोताको नाममा निकालेको दिपकको दोस्रो एल्बम 'श्रोता'मा रहेका गीतहरु उनले गाउँदै आएका भन्दा कुनै फरक नभए पनि श्रोताको माया पाउने पक्का छ । चर्चित संगीतकार महेश खड्का र गजेन्द्र तम्ली लिम्बुको शब्द रहेको एल्बममा दशवटा गीत समावेश छन् । आधुनिक, पप, लोक भाका गरी विभिन्न विधाका गीतले एल्बमलाई सुनिरहुँ लाग्ने बनाएका छन् ।

'अमेरिकन आइडल' र 'इन्डियन आइडल' को नेपाली भर्सन 'नेपाली तारा' रियालिटी टिभी शोबाट धराने गायक दिपकको प्रतिभा नेपाली संगीत क्षेत्रले चिनेको थियो । 'नेपाली तारा' बने लगत्तै प्लेब्याक गायनमा उनको माग बढ्यो । प्लेब्याक गायनका साथै उनी विभिन्न समग्र-एल्बम निकाल्न र म्युजिकल टुरमा व्यस्त रहे । यसले गर्दा उनको दोस्रो एल्बम सुन्न श्रोताले झन्डै पाँच वर्ष कुर्नु परेको हो ।

गायकले पहिलो एकल एल्बम 'नेपाली ताराः दिपक लिम्बु' बजारमा आएको झन्डै पाँच वर्षपछि दोस्रो एल्बम निकालेका हुन् । पहिलो एल्बमले उनलाई गायकको रुपमा स्थापित हुन मद्दत गर्‍यो । आधुनिक, फिल्मी, पप र लोक भाकाका झन्डै ३०० वटा गीत गाइसकेका दिपकलाई 'श्रोता' ले हालसम्म उनले हासिल गरेको 'स्टारडम' कायम गर्न मद्दत गर्नेछ भन्ने आशा राखौं ।

रचनाकार गजेन्द्रका शब्द र दिपकको सुमधुर स्वरलाई एल्बमका संगीतकार महेश खड्काले मिठास भर्ने काम गरेका छन् । 'न बिर्से तिमीलाई न पाएँ तिमीलाई...' बाट गायिका अन्जु पन्तलाई रातारात नेपाली श्रोतामाझ पि्रय बनाए झै महेशले केही वर्षअघि 'मेरो कल्पनामा आज...' बाट दिपकलाई नेपाली संगीत क्षेत्रमा कसिलो जरा गाड्ने मौका दिएका थिए । यस गीतका लागि गरिएको सहकार्यले दिलाएको सफलताबाट गायक र संगीतकारलाई यो एल्बममा फेरि सँगै काम गर्न हौसला मिल्यो । 'श्रोता' मा उनीहरुको सफल सहकार्य प्रष्ट देखिन्छ ।

'श्रोता' मार्फत गायक र संगीतकारको सहकार्यबाट श्रोताले राम्रो एल्बम पाएका छन् । तर, त्यही स्वर र संगीतले गर्दा होला, श्रोताले एल्बममा नौलो चिज केही पाउने छैनन् । कुनै कुनै गीतमा ठ्याक्कै यही भनेर भन्न नसकिए पनि पुराना हिन्दी र नेपाली गीतको प्रभाव झल्किन्छ । जस्तो, 'यदि तिम्रै सम्झनामा...' बोलको गीतमा 'मेरो कल्पनामा आज...' र 'सम्झना त अरु बेला पनि आउछ...' मा चर्चित पुरानो नेपाली गीत 'पि्रयसीको सम्झना...भविष्यको कल्पना' को हल्का प्रभाव भेटिन्छ । यसले गीतलाई बिगारेको छैन तर पनि श्रोतालाई खिन्न बनाउन सक्छ ।

यति हुँदाहुँदै पनि एल्बममा गीतहरु सुमधुर र सुनिरहन लाग्ने खालका छन् । 'एक अञ्जुली चोखो माया देऊ...', 'मुटु माग्यो तिमीले...', 'तिमी साथ हुँदा...' जस्ता गीतले मन छुन्छन् । 'सानु...' र 'सुस्तरी बोलुँ भन्छु ...' जस्ता चन्चले गीतले एल्बमलाई रमाइलो बनाएका छन् भने 'तिमीलाई माया दिनु कति...', 'आखिरीमा गरिब नै लड्दा रै'छन् भिरैमा...' र 'भुले होला धेरै-धैरै पल...' एक पटक सुने पुग्छन् । 'मुटु माग्यो तिमीले...' को भिडियो बजारमा आइसकेको छ ।

शत प्रतिशत मेहनत र कुनै सम्झौता नगरिएको बताउने दिपकले एल्बमबाट आएको रोयल्टी रकम 'मारेक कटहरे-धनकुटा' निर्माणाधीन सडकलाई सहयोगार्थ दिने छन् । यो सरहानिय छ । तर, नौलो स्वाद नभए पनि थुप्रै सुमधुर गीत समेटिएको 'श्रोता' लाई श्रोताले कत्तिको साथ दिनेछन्, हेर्न बाँकी छ ।

0 comments:

Post a Comment