भदौमा भालेजुधाइ


काठमाडौ, श्रावण १९ - कुनैबेला थियो, कहिले नेपाली फिल्म रिलिज होला दर्शक मात्रै होइन, सिनेकर्मी पनि पर्खन्थे । सम्भावना बोकेका फिल्मको सधैं अभाव खडकन्थ्यो । अहिले समयले कोल्टो फेरेको छ ।

साउन अन्तिमबाट भदौ महिनाभर करिब दर्जन फिल्म प्रदर्शनमा आउने भएका छन् । छोटो समयभित्र यति धेरै फिल्म रिलिज हुन लागेको यो पहिलो हो । धेरै मात्र नभएर विभिन्न पृष्ठभूमिका आधारमा वर्षकै राम्रा कोटिमा पर्ने ठानिएका फिल्मको प्रदर्शनी एकपछि अर्को जुध्ने भएपछि दर्शकले कुन फिल्मलाई काख र कुनलाई पाखा गर्ने हुन्, हेर्न रमाइलो हुनेछ ।

साउने संक्रान्तिमा सोभित बस्नेत निर्देशित 'कन्यादान' र दयाराम दाहाल निर्देशित 'फ्ल्यासब्याक' जुधाएर थालिएको प्रदर्शनीको सिलसिला भदौ मसान्तसम्म चल्नेछ । सेल्युलाइड प्रविधिबाट डिजिटलमा फड्को मारेपछि फिल्म बन्ने क्रम सहज र व्यापक हुन थालेको प्रदर्शन क्रममा रहेका फिल्मले पनि देखाएका छन् । देशव्यापी हुन समेत डिजिटल प्रविधिमा बनेका फिल्मलाई सहज भएको छ ।

साउन २१ मा सिमोस सुनुवार निर्देशित 'फस्ट लभ' मलुकभर प्रदर्शनमा आउँदै छ । विनय श्रेष्ठ, कर्म, निशा अधिकारी, ऋचा शर्मालगायतको अभिनय रहेको उक्त प्रेमकथा प्रदर्शनको सातापछि नै नरेश पौडेल निर्देशित 'दीपशिखा' आउने पक्का भइसकेको थियो । तर दुवै फिल्म डिसिएन च्यानलका हलहरुमा देखाईने भएपछि हल समस्याले 'दीपशिखा' भदौ २५ सम्मका लागि धकेलिएको छ ।

मैदानबाट 'दीपशिखा' हटेपछि चैनको सास फेरिरहेको 'फस्ट लभ' निर्माण पक्षका लागि विकास आचार्य निर्देशित 'नाइँ नभन्नु ल' टाउकोदुखाइ हुन सक्छ । 'जुन फिल्म राम्रो छ, दर्शकले त्यसैलाई मन पराउने हो, त्यही चल्ने हो,' निर्देशक आचार्यले भने, 'इतिहास हेर्ने हो भने राम्रा फिल्म पनि सँगै चलेका उदाहरण छन् ।'

त्यसो त दर्शकले 'दीपशिखा' र 'फस्ट लभ' दुवैलाई मन पराउँछन् नै भन्ने पनि छैन । तर विकल्पलाई 'नाइँ नभन्नु ल' ले भने खुला राख्नेछ । अस्टे्रलियामा पि्रमियर गरेर सफलता हात पारेको दाबी गरिएको 'नाइँ नभन्नु ल' भदौ ४ देखि देशभर लाग्दै छ ।

भदौमा शनिबारबाहेक रक्षा बन्धन, गाईजात्रा, जन्माष्टमी, तीज, ऋषिपञ्चमी र बालदिवसका सार्वजनिक बिदा परेकाले पनि यसपालि फिल्मलाई 'दसैं' एक महिनाअघि नै लागेको हो । फुर्सदका दर्शकलाई हलसम्म तान्न निर्देशक आलोक नेम्वाङको 'कोही मेरो', तुलसी घिमिरेको 'देश', दीपक रायमाझीको 'लभस्टोरी २०६६', उकेश दाहालको 'पलपलमा' ले समेत भदौलाई क्यास गर्न खोज्दै छन् ।

वर्षकै सफल हुने ठानिएका फिल्महरु आपसमा भिड्न थालेपछि धेरैले यसलाई 'भालेजुधाइ' को संज्ञा दिएका छन् । सीमित बजार रहेको नेपाली फिल्म क्षेत्रका लागि राम्रा ठानिएका फिल्म जुध्नुले तत्कालका लागि दर्शकलाई त फाइदै होला, फिल्मक्ष्ाेत्रलाई भने घाटा पुग्ने निश्चित छ ।

'जुधाउनु त राम्रो होइन,' निर्देशक रायमाझीले वर्षमा ६० भन्दा बढी फिल्म बन्ने भएकाले जुन बेला पालो पर्छ, त्यही बेला देखाउनुपर्ने बाध्यता रहेको बताए । 'पालोमा नचलाउने हो भने फिल्म पुरानो भइसक्छ,' उनले भने । उनीसँग 'देश' का निर्माता श्रवण घिमिरे पनि सहमत छन् । फिल्म जुधेपछि केही दर्शक बाँडिने भए पनि आफ्नो फिल्म 'दक्षिणा' र 'लाहुरे' जस्तै राष्ट्रियताको विषयमा बनेकाले कमाइ कम नहुने उनको दाबी छ ।

'देश' ले 'कृष्णा', 'कानुन' र 'पलपलमा' पछि विश्वज्योतिलगायतका हलमा पालो पाउनेछ । 'भदौ तेस्रो सातासम्म पालो पाउने आशा छ,' घिमिरेले भने । उनलाई डिसिएन र क्युब च्यानलमा चल्ने फिल्मको भन्दा विश्वज्योतिमा आफूअगाडिका चल्ने फिल्मको चिन्ता छ, हल कहिले खाली हुन्छ भनेर ।

पहिलो फिल्म 'सानो संसार' बाटै सफलता चाखेका निर्देशक नेम्वाङको दोस्रो फिल्म पनि राम्रो बनेको हुन सक्ने धेरैको अनुमान छ । बलिउड छिरेपछि लामो समय नेपाली फिल्मक्षेत्रबाट हराएकी नायिका झरना बज्राचार्यलाई पुनरागमन गराएका नेम्वाङलाई आर्यन सिग्देल, सञ्चिता लुइँटेल, सुवास थापाले पार लगाउने हुन् कि होइनन्, समयले बताउनेछ ।

'आ-आफ्नो भाग्यको कुरा हो,' भाग्यवादी नेम्वाङले भने, 'दर्शक बाँडिने भन्ने हुँदैन । त्यसो त नेपाली चल्दा हिन्दी र अंग्रेजी फिल्म पनि त चलिरहेकै हुन्

नि ।' भर्खरै मुम्बईस्थित क्यानरी पोस्ट साउन्डमा 'कोही मेरो' को साउन्ड मिक्सिङ सकेर फर्केका नेम्वाङले आफ्नो फिल्म कथा र प्रविधि दुवैका हिसाबले उत्कृष्ट भएको दाबी गरे । ओस्कार अवार्ड विजेता 'स्लमडग मिलिनियर' को साउन्ड मिक्सिङ गरिएकै स्टुडियोमा आफ्नो फिल्म पुर्‍याएका उनको त्यो दाबीलाई पनि उनकै भाग्यको भरमा छाडिदिउँ । नेपाली दर्शकलाई पनि भदौमै दसैं आउने भने पक्कै हो ।

0 comments:

Post a Comment