फिल्मी खबर


जीवन र ऋचा दर्शकसँगै हलमा

चलचित्र 'नाइँ नभन्नु ल' देशभरका १८ वटा हलमा एकसाथ प्रदर्शन भैरहेका बेला उक्त चलचित्रका नायक, नायिका एवं निर्माता विराटनगरका दर्शकसँगै बसेर चलचित्र हेर्दै थिए । गएको शुक्रबार विराटनगरको हिमालय सिनेमा हालमा नायक जीवन लुइँटेल, नायिका ऋचासिंह ठकुरी तथा निर्माता रमेशजंग रायामाझीले दर्शकसँगै बसेर 'नाइँ नभन्नु ल' हेरेका हुन् । दर्शकमाझ बसेर चलचित्र हेरिसकेपछि नायक लुइँटेलले भने- 'वियोगान्त उपन्यासभित्रको संयोगान्त चलचित्र हो यो ।' आफूले अभिनय गरेका नौवटा चलचित्रमध्ये 'नाइँ नभन्नु ल' सबैभन्दा मन परेको र चित्त बुझेको बताउँदै उनले भने- 'यो मनले हेर्ने चलचित्र हो ।' नायिका ऋचाले पनि आफूले अभिनय गरेको पहिलो चलचित्रबाट पूर्ण सन्तुष्ट रहेको बताइन् ।

चलचित्रको पि्रमियर शोमा मोरङ कांग्रेसका सभापति अमृत अर्याल, मोरङ एमालेका अध्यक्ष विनोद ढकाल आदि नेता पनि उपस्थित थिए । हाल देशभरका १८ वटा चलचित्र हलबाट प्रदर्शन भैरहेको र बढाएर २६ वटा हलबाट एकसाथ प्रदर्शन गरिने पनि रायामाझीले जानकारी दिए ।

-कमल रिमाल

१८ मा दासढुंगा

चलचित्र विकास बोर्डबाट उत्कृष्ट चलचित्रको दर्जा पाएको चलचित्र 'दासढुंगा' यही भदौ १८ गते सार्वजनिक हुँदैछ । ०५०मा मुग्लिन तथा नारायणघाट सडकखण्डमा पर्ने दासढुंगामा जीप नदिमा खस्दा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी तथा नेता जीवराज आश्रतिको देहावसानको रहस्यको खोजीमा केन्दि्रत यो चलचित्रका निर्देशक मनोज पण्डित हुन् । अपिल विष्टले निर्माण गरेको यो चलचित्रमा अनुप बराल, सञ्चिता लुइँटेल, दयाहाङ राई आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रका लागि हालै सत्यराज आचार्यको स्वरमा एउटा प्रोमोसनल गीत पनि तयार पारिएको छ ।

खुसी हुँदै

गोपीकृष्ण मुमिजका लागि उद्धव पौडेलको प्रस्तुति एवं ज्ञानेन्द्र देउजाको निर्देशनमा चलचित्र 'खुसी'को काठमाडौं उपत्यका तथा वरपर छायांकन सम्पन्न भएको छ । रेखा थापाका साथ सुमन सिंह र आयुष रिजालले नायकको भूमिका निवार् ह गरेको चलचित्र 'खुसी' को बाँकी छायांकनका लागि सुटिङ युनिट यसै साता पोखरातर्फ लागेको छ । चलचित्रमा आलोकश्रीको संगीत, वसन्त श्रेष्ठको नृत्य तथा हिमाल केसीको द्वन्द्व निर्देशन हेर्न-सुन्न पाइनेछ । चलचित्रलाई आगामी तिहारसम्ममा सार्वजनिक गर्ने लक्ष्य लिइएको निर्देशक देउजाले बताए ।

२५ गते पलपलमा

वयस्क चलचित्रको दर्जा पाएको संगीतमय चलचित्र 'पलपलमा'को प्रदर्शन मिति भदौको १८ गतेबाट २५ गतेलाई सारिएको छ । उकेश दाहालको निर्देशनमा निर्माण भएको यो चलचित्रमा प्रेमलाई नयाँ कोणबाट व्याख्या गरिएको निर्देशक दाहालले बताए । दिलीप रायमाझी, रमित ढुंगाना, सुमन सिंह, विक्रान्त बस्नेत, उषा पौडेल, रूपा राना, सुजाता सिटौला, शशी खड्का आदि कलाकारले अभिनय गरेका छन् ।

श्रीमान्-श्रीमती

गत वर्षको सफल व्यावसायिक चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ'का निर्माता मुनाल घिमिरेले उक्त चलचित्रका निर्देशक ऋषि लामिछानेलाई लिएर अर्को चलचित्रको निर्माण प्रारम्भ गरेका छन् । यसै साता मुहूर्त भै छायांकन थालिएको उक्त चलचित्रको शीर्षक 'श्रीमान्-श्रीमती' राखिएको छ । चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, सरिता लामिछाने, मुकेश ढकाल, सुनिल थापा, निर्मल शर्मा, राजाराम पौडेल, मञ्जु श्रेष्ठ आदिले अभिनय गर्दैछन् । लक्ष्मण पौडेल र प्रकाश घिमिरेको समेत लगानी रहने यो चलचित्रमा विपिन आचार्यको संगीत, वसन्त श्रेष्ठ, गोविन्द राई र पूनम राईको नृत्य तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ । चलचित्र छायांकन यसै साता प्रारम्भ हुने निर्माण नियन्त्रण सुवास काफ्लेले बताए ।

0 comments:

Post a Comment