सच्चा प्रेम कि पहिलो प्रेम


काठमाडौ, श्रावण २५ - अघिल्लो सातादेखि प्रदर्शनमा आएको सिमोस सुनुवार निर्देशित फिल्म 'फस्ट लभ' प्राविधिक हिसाबले सन्तोषजनक देखिए पनि विषयवस्तु र प्रस्तुति कमजोर हुँदा हल्का बन्न पुगेको छ । आरजे बनेकी नायिका नम्रता श्रेष्ठको उद्घोषणबाट सुरु भई फिल्म त्यसैमा आएर टुंगिन्छ । बीचमा आर्यन सिग्देल, कर्म, निशा अधिकारी, विनय श्रेष्ठ र ऋचा शर्मा फिल्मभर छाउँछन् र जान्छन् । उनीहरु फिल्ममा चलिरहन्छन्, दर्शक हेरिरहन्छन् । दर्शकलाई फिल्मी परिस्थितिबाट अनुभूत गराउन निर्देशक चुकेका छन् ।

अधिकांश दृश्य कलेज परिवेशमा उतारिएको फिल्मका पात्र कलेजमै भेटिन्छन् र समयसँगै सम्बन्ध बनाउँदै जान्छन् । दुई मिल्ने साथी आभा (निशा) र नितु (ऋचा) को भेट तीन साथीहरु आयुष (आर्यन), गौरव (कर्म) र रोहण (विनय) सँग भएपछि उनीहरुमा टुसाएको पहिलो प्रेम एक-अर्कामा ठक्कर खान्छ ।

शीर्षकलाई आधार मान्दा गौरवको पहिलो हेराइ आभामा पर्छ र 'फस्ट लभ' मा फस्छ । तर चञ्चले स्वभावकी आभा त्यस्तै स्वभावको आयुषसँग नजिकिँदै जान्छे र रोमान्टिक प्रेम गर्छे । फिल्मको कथा मुख्यतः यिनै तीनमा केन्दि्रत रहे पनि दर्शकलाई सस्पेन्स दिनका लागि रहस्यमयी पात्रका रूपमा नितुलाई देखाइएको छ भने रोहण उनलाई पाउन मरिहत्ते गर्छ ।

निर्माता माधव वाग्लेले नै लेेखेको कथामा के छ भन्ने थाहा पाउन दर्शकले झन्डै दुई घन्टा कुर्नुपर्छ । अनावश्यक दृश्य हालेर साढे दुई घन्टामा तन्काइएको फिल्ममा पछिल्लो आधा घन्टाबाहेक कुनै दृश्यले कथालाई खास साथ दिँदैनन् । अस्पष्ट पृष्ठभूमिले पात्रहरु टुहुरा बनेका छन् । कलेजका विद्यार्थी उनीहरु कहिल्यै कक्षाकोठामा छिर्दैनन् । बरू बाहिर-बाहिरै साथी-साथी मारामार गर्छन्, कपडाको पसल थाप्छन्, प्रेम गर्छन् ।

डिजिटल प्रविधिको राम्रो प्रयोग गर्न सिपालु सिमोसले 'मिसन पैसा' पछिको दोस्रो फिल्ममा पनि उनले प्रविधिमा खेलेका छन् । खिचिएका दृश्य केही घुर्मर्ैला लागे पनि हरि हुमागाईंको सिनेमाटोग्राफीका फ्रेमममा दर्शकले सुन्दर दृश्य हेर्न पाउँछन् । फिल्ममा केही गीत राम्रा सुनिए पनि शंकर बिसीको कोरियोग्राफी कमजोर छ । पाश्र्व संगीतमा पनि सत्य-स्वरूप आचार्य गीतमा जस्तो जम्न सकेका छैनन् । संगीत परिस्थितिअनुकूलको बन्न सकेको छैन ।

भलै फिल्ममा अनावश्यक रूपमा घुसाइएको भए पनि द्वन्द्वका दृश्यमा राजकुमार उप्रेतीले गतिलै काम देखाएका छन् । खासगरी समूहमा भएको द्वन्द्वमा उनको काम राम्रो छ । फितलो कथामा लेखिएको पटकथा र त्यसको संवादमा प्रचण्ड श्रेष्ठले फिल्मका पात्र आयुषलाई 'प्ले ब्वाई' छविको देखाउन केही ठाउँमा घिनलाग्दा संवाद बोल्न लगाएका छन् भने उनको हाउभाउ पनि ठाडो छ । अभिनयमा कुनै पनि कलाकारले सम्झनायोग्य काम गर्न सकेका छैनन्, यसमा निर्देशकको दोष देखिन्छ ।

कर्मको बोकेदाह्रीको गेटअप शान्त चरित्रलाई सुहाउँदिलो छैन भने फिल्ममा डेब्यु गरेकी ऋचाको अभिनय र क्रियाकलापमा कुनै रहस्य लुकेको भाव आउँदैन । उनको फरक पेसाको छनक कतै पाइँदैन । आर्यनको वेषभूषा, हाउभाउ र बोल्ने शैली 'फस्ट लभ' मा पनि परिवर्तन गराउन सकेका छैनन् निर्देशकले ।

फिल्म धेरै ठाउँमा चुकेको छ । आभा र नितु घनिष्ठ सम्भवतः सँगै बस्ने (किनकी कलेज जाने पहिलो दिन दुवै एउटै कोठामा तयार हुन्छन्) साथी भए पनि नितुको पेसाबारे आभालाई जानकारी नहुनु वा भए पनि व्यवहारमा त्यस्तो नदेखिनु, कोरोला कार चढ्ने गौरव प्रेमिकाका लागि हीराको औंठी किन्न ल्यापटप किन्ने पैसा गुमाउन विवश हुनु, सच्चा प्रेम गर्ने गौरवले आफ्ना लागि ल्याउने हरेक गुलाफको फूललाई बिनासोचविचार आयुषका लागि चढाउने आभाको प्रस्तुतिले फिल्मलाई हल्का पारेको छ ।

अति मन पराउने साथीको गर्भपतन गराउन सघाउनु अनि आफैंंले अपनाउन खोज्ने गौरवको नियति उदेक लाग्दो छ भने आफ्नै प्रेमिकालाई बलात्कार गर्नु रोहणको गम्भीर परिस्थिति के हो भन्ने स्पष्ट नखुल्नुले घटनालाई अपाच्य बनाएको छ । कथा बुन्नकै लागि एकपछि अर्का घटना घटाउनु तर त्यसको साइड इफेक्टलाई पूरै बेवास्ता गरिनुले फिल्म गम्भीर बन्न सकेको छैन ।

फिल्म हेर्दा कथामै डुब्नुको सट्टा पहिले पनि कतै हेरेहेरे जस्तो लागिरहनु अक्कलअनुसारको नक्कल हुन नसक्दाको परिणाम हो- फस्ट लभ । सच्चा प्रेमलाई भन्दा पहिलो प्रेमलाई जायज बनाउने फिल्मको सन्देश विवादास्पद छ । 'फस्ट लभ' शीर्षक हुँदैमा पहिलो प्रेमका लागि सच्चा प्रेमलाई तिलाञ्जली दिन लगाइएको अन्त्यले दर्शकको मनमा शान्ति दिनेछैन ।

0 comments:

Post a Comment