आफ्नै जीवनमाथि कोमलको सिनेमा

‘दबदबा’ हिरोइन कोमल ओलीको परिचय अब हिरोइनमा सीमित रहेन । सन् २०१२ मा उनी निर्मात्री बन्नेछिन् । आफ्नै जीवनकथामा आधारित रहेर उनले सिनेमा निर्माण गर्नेछिन् जसको स्क्रिप्ट उनी आफैले लेखिरहेकी छिन् । नेपाली समाजमा एकल महिलाहरूको संघर्षबारे उनको सिनेमा चित्रित हुनेछ । उनी स्वयम एकल महिला हुन् जो घर्कँदो उमेरमा पनि अविवाहित छिन् ।अनटाइटल प्रोजेक्टको निर्देशन कसले गर्छन्, कोमलले निधो चाहिँ लगाइसकेकी छैनन् । सोसल ड्रामा ‘दबदबा’बाट रजतपटमा डेब्यु
गरेकी संचारकर्मी तथा लोकगायिका कोमल सिनेमाबाट आफूजस्तै एकल महिलाहरूको यथार्थ जीवनलाई उत्खनन गर्न चाहन्छिन् । अविवाहित मात्र होइन, पति गुमाएर एक्लै जीवन जिइरहेका नेपाली महिलाहरूलाई उनको सिनेमाले समेट्नेछ ।

‘दबदबा’ निर्देशक अग्रज केसीले कोमलको अभिनयले उनलाई नयाँ अभिनेत्रीको ट्याग भिराउन नहुने बताए । ‘उहाँको अभिनयमा पाकी अभिनेत्रीको छनक छ’ उनले भने । अभिनयसँगै उनलाई सिनेमा निर्माणको मुड चलेको हो । जेहोस, नेपाली सिनेमाका सबै पाटोमा महिलाहरूको सक्रियता बढिरहँदा कोमलको यो योजनालाई त्यसैको एउटा श्रृङ्खलाको रुपमा लिनुपर्ने हुन्छ ।

0 comments:

Post a Comment