जाडो र सेलिब्रिटी

केही दिनयता देशको वातावरणीय तापमान चाहिँ ह्वात्तै घटेको छ । दिउँसोको पारिलो घाम सबैलाई प्रिय लाग्न थालेको छ । फुर्सदमा हुने त घाम ताप्लान् तर प्रायः व्यस्त दैनिकी हुने सेलिब्रिटीहरूले दिउँसोको घाम ताप्न त के, बिहान-बेलुकीको चिसोसमेत भन्न पाउँदैनन् । गायकगायिकाले स्वर तन्दुरुस्त राख्ने र नायिकाले कम लुगामा आत्मविश्वासी देखिने चुनौती कसरी झेल्दै होलान् ? केही छानिएका कलाकारको जाडो अनुभव:

इन्दिरा जोशी, गायिका

के गर्ने, यतिबेला झन् महोत्सवको सिजन छ, नहिँडी नहुने । कार्यक्रमका कारण पनि बिहानै उठ्नै पर्छ । तर अघिल्लो दिन लेट नाइट भयो भने अलि ढिला पनि हुन्छ, उठ्न । नत्र ५ बजे नै निद्रा खुल्छ । तर उठ्ने त सात बजेतिर मात्रै हो । दुई घन्टा एक्स्ट्रा (लामो हाँसो) । सिंगरलाई जाडोमा साह्रै अप्ठ्यारो । मौसमकै कारण भोकलमा समस्या आउँछ । फेरि म बाइकमा हिँड्ने भएकोले चिसोले झन् समस्या पार्छ । अहिले पनि चिसोले स्वर बिग्रेको छ । अस्ति धनगढी गएकी थिएँ, गर्मी ठाउँ त्यति जाडो नहोला नि भनेको त झन् बढी चिसो रहेछ । समातिहाल्यो ।


मलाई एकदम गर्मी र एकदम जाडो कुनै पनि मन पर्दैन । तर स्वास्थ्यका हिसाबले जाडोभन्दा त गर्मी नै ठीक । मैले अनुभव गरेको अहिलेसम्मको सबैभन्दा बढी चिसो एकपटक काठमाडौंमै भोगेकी थिएँ । चिसो मौसमको बेला म बाइकमा कुद्दै गर्दा पानी परेर नराम्ररी भिजेकी थिएँ । त्यो चिसो भुल्नै सक्दिनँ । आफू त ब्राह्मणकी छोरी, जहिले पनि नुहाउनै पर्‍यो नि (लामो हाँसो) । काठमाडौंमा हुँदा बरु सधैं ननुहाए पनि बाहिर हिँड्दा भने अनिवार्य नुहाउने गर्छु, चाहे गर्मी सिजन होस् या जाडो । फेरि म जीउ भने सधैं नुहाउँछु । कपाल भने एक/दुई दिन बिराएर मात्रै धुने गर्छु । दिनहुँ टाउको नुहाउँदा पनि कपाल बिग्रन्छ । नुहाउँदा भने म जुनसुकै मौसममा पनि तातो पानी नै प्रयोग गर्छु । तातो पानीले नुहाउँदा शरीरलाई फाइदा गर्छ भनेर ।

सुगम पोखरेल, गायक

पहिले रेडियोमा काम गर्दा सात बजे नै उठ्नुपर्ने हुन्थ्यो । तर वैशाखदेखि नै रेडियो छोडेपछि भने अचेल परिस्थिति हेरी ढिला/चाँडो उठिन्छ । काम पर्दा कुनै बेला पाँच बजे पनि उठियो । तर आफ्नै मर्जी भएको बेला जाडो बिहानीमा उठ्दा १२/१ पनि बजाइन्छ । फ्रि भयो भने मज्जाले सुतिन्छ । सबभन्दा मिठो निद्रा नै बिहानी हुन्छ, त्यसैले यस्तो बेला चाँडो उठ्नुपर्‍यो भने त सास्ती नै । तातो ओछयान प्यारो लाग्छ ।

जाडोमा पनि मैले खासै बार्दिनँ । चिसो पानी नै खाएको हुन्छु । झन् जाडोमा मःम खानुको मज्जा मिस गर्न मन लाग्दैन । तर पनि यसको चिल्लोले घाँटीमा अलि समस्या भने पार्छ । त्यसैले प्रायः गाउनु आधा घन्टा पहिले भने भोकललाई असर गर्ने त्यस्तो केही खान्नँ ।

मलाई जाडो मन पर्थ्यो । तर अघिल्लो वर्षको चिसोमा युकेमा थिएँ । ओहो, त्यहाँको चिसो भोगेपछि त मलाई जाडोप्रति नै वितृष्णा जाग्यो । जाडोमा कपडा लगाए भइहाल्यो नि भनिन्छ तर त्यहाँ त जति लगाए पनि नहुने । धन्न हिमालका मान्छे कसरी बस्छन् । उनीहरू धेरै ननुहाउने पनि त्यही भएर होला (लामो हाँसो) । बरु खलखली पसिनामा भिज्नु नै ठीक ।

पानी तताएर कहिले दैनिकजसो कहिले २/३ दिन बिराएर नुहाउँछु । दिउँसो घाम लाग्दा त चिसै पानीले पनि नुहाउने गरेको छु । तर के गर्ने उमेर पनि हुँदै गयो स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने । चिसोबाट बच्न न्यानो कपडा नै लगाउँछु । हिटर पनि तापिन्छ । बाहिर हिँड्दा बाइक चलाउनुपर्ने भएकाले चेस्टगार्ड, ग्लोभ्स, मास्क लगाउनुगर्छु । तर ज्यान तताउन अरूले जस्तो ड्रिङ्क्स गर्दिनँ । फेरि मलाई ड्रिङ्क्सले ज्यान तताउँछ जस्तो पनि लाग्दैन । सायद खाएपछि जोस आउने भएकाले अरूले त्यसो भनेका हुन् कि । काठमाडौं बाहिर गइयो भने बरु साथीभाइसँग रमाइलो गर्न भने अलिकति पिउने गर्छु ।

प्रमोद खरेल, गायक

बिहान उठ्न त गाह्रै हुन्छ । तर पनि अचेल पहिलाको जस्तो जाडो महसुस भएको छैन । बेडरुममै घाम आएपछि आफैं उठ्छु । योगा गर्छु, रियाज गर्छु । लेट नाइट भयो भने चाहिँ अलि ढिलो साढे सातसम्म पनि सुत्छु । जाडोले गर्दा समय तालिकामा त खास फरक पर्दैन तर गायक भएकोले घाँटीमा समस्या पार्छ । फेरि मलाई पिनास पनि छ । चिसो पर्नै हुँदैन । राति रेकर्डिङ गरी बाइकमा फर्किनुपर्ने भएकोले प्रायः काम गर्दिनँ । आजै पनि एउटा राति गर्नुपर्ने रेकर्डिङ क्यान्सिल गरें ।

व्यक्तिगत रूपमा त मलाई जाडो नै मन पर्छ तर के गर्ने पेसाले मान्दैन । भव्य जाडोमा ग्वाम्म कपडा लगाएर रमाइलो गर्नुको मज्जा नै बेग्लै हुन्छ । फेरि हामी जस्तालाई मोटो पनि देखाउँछ नि (लामो हाँसो) । गर्मीमा पसिना गन्हाएरै समस्या ।

२०५२ सालमा म आईएससी पढ्न बानेश्वरदेखि पाटनसम्म बिहानै चार बजे उठेर जानुपर्थ्यो । ओहो, त्यसबेलाको जाडो । सायद बिहानै भएर पनि होला तर त्यो वर्षको जस्तो जाडो त कहिल्यै भोगिएन । क्याम्पस पुग्नुअघि नै तात्तातो चिया र दुनोट खाएर मात्रै क्लास छिर्थें ।

चिसोबाट बच्न प्रायः इनर, ज्याकेट, पन्जा लगाउँछु । घाममा बस्छु तर नर्मल्ली हिटर ताप्न मन लाग्दैन । अति नै जाडो भयो भने मात्रै हो । वाइन स्वाइन खाएर जीउ तताउने भने गरेको छैन, समारोहमा खानु छुट्टै कुरा भयो ।

चिसो भएकोले एकदमै धेरै नुहाउन सकिन्न । हप्तामा ३ पटकजस्तो । अझ पिनासले च्यापेको बेला त झन् कम नुहाउँछु । नुहाउनै परे पनि तातो पानी तताएर । उसो त म मुख पनि तातै पानीले मात्रै धुन्छु ।

निशा अधिकारी, नायिका

ओहो, उठ्न त कति गाह्रो कति नि । अलार्म लगाए पनि पहिलो पटकमै त कहिल्यै उठ्दिनँ । अहिले त झन् 'मिसन पैसा रिलोडेड' को सुटिङ चलिरहेकोले बिहानै उठ्नुपर्ने बाध्यता छ । एकपटक उठेर पाँचै मिनेट भए पनि फेरि सुत्न पाइयो भने कस्तो मज्जा आउँछ भने । त्यो जस्तो मिठो निद्रा केही हुँदैन । तर सिरकमै गुटमुटिएर किताब पढ्न पनि मजै लाग्छ । जाडोमा ढिला हुँदा पनि साढे आठसम्म निद्रा खुल्छ ।

जाडोले अलिअलि काममा असर त पार्छ नै । बिहान मात्रै नभई, राति अबेरका सुटिङ त्यसमा पनि झन् आउटडोर छ भने त समस्यै हुन्छ । यो बेला हेल्थ पनि हेर्नुपर्छ । त्यसैले म त पोर्टेबल लाइट ब्लाङ्केट नै बोकेर हिँड्ने गरेकी छु, सुटिङ नहँुदा त्यही ओढ्छु । रुघा, खोकी त नर्मल्ली लागिहाल्छ । त्यसले पनि कामलाई अलि अप्ठ्यारो पार्छ ।

चिसो भगाउन प्रायः तातो पेय पिउँछु । न्यानो लुगा लगाउने र हनी हट लेमन खान्छु । तर चिया, कफी भने मलाई मन पर्दैन । महिलाहरूको पहिरन तुलनात्मक हिसाबले अलि एक्पोज हुने खालका भएकाले पनि जाडोले हामीलाई बढी असर पार्छ । तर म त स्वास्थ्यमा ख्याल राख्ने भएकाले ग्वाम्म कपडा नै लगाएर हिँड्छु । जीउलाई कष्ट दिन्नँ ।

मलाई जाडो नै मन पर्छ । जाडो सहन सक्छु तर गर्मीमा त दिमाग नै ताते जस्तो हुन्छ । एकदम इरिटेसन हुन्छ । जाडो वा गर्मी दिनहुँ नुहाउन भने छुटाउँदिनँ ।

सन् २००७ को भ्यालेन्टाइन्स डेको दिन मलाई सबैभन्दा जाडोको महसुस भएको थियो । त्यो दिन काठमाडौंमा हिउँ परेको थियो । त्यस दिन मैले पहिलो फिल्म 'मिसन पैसा' को कन्ट्रयाक्ट साइन गरेर सपिङका लागि काठमाडौं प्लाजा निस्केकी थिएँ । बिहानैदेखि धुम्म परेकोले कम कपडा लगाएर निस्केकी थिएँ, तर दिउँसो त झ्याप्पै हिउँ पर्न थालेपछि जाडोले मारिहाल्यो ।

0 comments:

Post a Comment