‘मेरी बास्सै’ मा हमाल किन ?

नायक राजेश हमाल अहिले सिनेमाको छायांकनको सँगसँगै नेपाल टेलिभिजनबाट प्रशारण भैरहेको हास्य टेलिसिरीयल ‘मेरी बास्सै’ खेल्नमा पनि व्यस्त छन् । नायक हमालले टेलिसिरीयलमा अभिनय गरेपछि यसले चर्चा पाउनु त स्वभाविक कुरा नै हो । तर, यसले ‘हमालले अब सिरीयल पनि खेल्न थाले’ भन्ने जस्ता आरोपहरु पनि निम्त्याएको छ ।

तर, नायक हमालले ‘मेरी बास्सै’मा खेल्नुको कारण अरु नै छ । नायक हमालले सिरीयल खेल्नुको पछाडि न त सिरीयलको क्रेजलाई देखेर हो न त पैसाको लोभ नै हो । उनी एउटा यस्तो भ्रम चिर्न चाहन्छन्, जसका कारण उनी ‘मेरी बास्सै’ सम्म
पुगेका हुन् । अहिले नेपालका बिभिन्न भागमा महोत्सवहरु आयोजना हुने क्रम बढेको छ । महोत्सवमा नायक हमालको नाम बिकाउने प्रचलन पनि बढ्दै गएको छ । महोत्सवमा हमाल आउँदैछन् भनेर टिकट बिकाउन आयोजकहरु लागि परेका छन् । तर, नायक हमाल भने त्यस्तो कुनै महोत्सवमा भाग लिन पुगेका छैनन् ।

यसले के देखाउँछ भने, आयोजकले दर्शकलाई हमालको नाम बिकाएर झुटो समाचार फैलाउने, यता हमाल नजाँदा दर्शकलाई हमालप्रति आक्रोश हुने । यही भ्रम चिर्नका लागि नायक हमालले ‘मेरी बास्सै’ खेलेका हुन् । राजेशका सहयोगी चिरञ्जीवि आचार्यले भने -’उहाँको नाम बिकाएर टिकट बिकाउने अनि उहाँ नजाँदा उहाँप्रति नै दर्शकले नराम्रो सोच्ने भएकाले ‘मेरी बास्सै’ खेल्नुभएको हो ।’

मेरी बास्सैका निर्देशक तथा कलाकार सिताराम कट्टेलले यही विषयलाई लिएर खेल्न आग्रह गरेपछि हमाल खेल्न राजी भएका हुन् । हाल चलचित्रको छायांकनमा व्यस्त भएपनि हमालले ‘मेरी बास्सै’मा समय दिईरहेका छन् । ‘मेरी बास्सै’को छायांकनबाट हमाल निकै सन्तुष्ट रहेको बुझिएको छ । यस्तै, नायक हमालसँगसँगै ‘मेरी बास्सै’का कलाकार तथा निर्देशक सिताराम कट्टेल पनि सन्तुष्ट देखिएका छन् । यसरी महोत्सवका कारण नायक हमाललाई अहिले सिरीयल खेल्नु परेको हो ।

0 comments:

Post a Comment