झरनाको पारिश्रमिक उठेन

फिल्म 'माई लाइफ'का निर्माता सुरज आरडीले पारिश्रमिक पूरा नदिई अरूलाई नै डबिङ गराएको भन्दै नेपाल चलचित्र निर्माता संघमा अभिनेत्री झरना थापाले उजुरी पठाएकी छिन्। तर, उनले सो संघबाट सहयोग नपाउने भएपछि बुधबार कलाकार संघ जाने उनको तयारी छ।
निर्माता सुरजविरुद्धको उजुरी दर्ता नगरेको संघका सचिव सुरेशदर्पण पोखरेलले बताए। 'पेशागत संघले व्यावसायिक कुरामात्र हेर्छ। आफ्नो सदस्यविरुद्धको उजुरी दर्ता नगर्ने निर्णय गरेका छौं,' उनले
नागरिकसँग भने। कारबाही गर्न विधानले नदिने समेत पोखरेलले जिकिर गरे।

५० हजार पारिश्रमिक बाँकी राखेका सुरजले आफ्नो डबिङ अरूलाई नै गराएकोमा झरनाको आपत्ति छ। 'पारिश्रमिक दिनुपर्ला भनेर अरूलाई नै डबिङ गराएछन्। अहिले त फिल्मको च्यारिटी सो गर्दै हिँडेको सुनेकी छु,' उनले भनिन्। फिल्मका अन्य प्राविधिकको समेत पारिश्रमिक नपाएको झरनाको भनाइ छ।

निर्माता संघका अध्यक्ष राजकुमार राईले भने यो विषयलाई छिट्टै टुंगोमा पुर्‍याउने वचन दिए। 'सम्बन्धित व्यक्ति सम्पर्कमा नआएकाले एक पक्षीय कुरा मात्र सुन्नु परेको छ,' निर्माताको गलत नियत भए कारबाही गर्ने बताउँदै उनले थपे, 'झरना कहिल्यै विवादमा नपरेको हुनाले कुरा सही हो जस्तो लाग्छ। निर्माताको अवस्था बुझेर निकास निकाल्छौं।' जीवन रसाइली फिल्मका निर्देशक हुन्।

0 comments:

Post a Comment