राजेशले हौस्याए निमाले गाए

पाटन दरबार स्क्वायरको वातावरणले अभिनेता राजेश हमाललाई कवि बनायो। उलाई एकाएक चेतनामूलक स्लोगन फुर्‍यो।
'गो ग्रिन एन्ड किप गोइङ
अन्टिल द चेन्ज टेक्स प्लेस'
हरियाली कायम राख्ने कार्यमा लागि पर्न सन्देश दिने यो भावलाई उनले गुम्स्याएनन्। कार्यक्रम स्थलमा टाँगिएको सेतो कपडामा सबै सामु लेखिदिए।काठमाडौं कलेज अफ म्यानेजमेन्टको सोसियल वेलफेयर क्लबले बुधबार आयोजना गरेको कार्यक्रममा उनको दायित्व थियो विद्यार्थीले कोरेको चित्रकला र स्लोगन जाँच्नु। 'ग्लोबल वार्मिङ'का बारेमा अरूको रचना
हेरिसकेपछि उनले आफ्नो सिर्जनासमेत देखाएका हुन्। सहभागी माझ उनले विश्व तापमान बृद्धिको असरबारे आफ्नो बुझाइ समेत व्यक्त गर्न भ्याए। करिब तीन घन्टाको अवधिमा उनले यसबारे जागरण पैदा गर्न विद्यार्थीको भूमिका प्रभावकारी हुने चर्चा गरे।
कार्यक्रममा राजेशसँगै देखिएका गायक निमा रुम्बा पनि आफ्नो सिर्जना पस्किन पछि परेनन्। 'हरियाली जोगाउँ, वातावरण बचाउँ' भन्ने नारा लेख्दै गर्दा लम्बिएर गीत नै बन्यो। उनले राजेशसित नारा होइन गीत सिर्जिएको सुनाए। राजेशले उनलाई तुरुन्तै हौस्याए, 'त्यसो भए सुनाउनुस् न त।' निमा पनि के कम! ठाउँको ठाउँ कम्पोज गर्दै सुनाइदिए।
'द ग्रिन राइड : फाइट अगेन्स ग्लोबल वार्मिङ' नामक कार्यक्रम अभिनेता र गायकको उपस्थितिले प्रभावकारी बनेको आयोजक संस्थाकी युग्मी थापाले बताइन्।
'सेलिब्रेटीलाई कार्यक्रममा सहभागी गराउँदा स्थानीयवासी र अन्य सर्वसाधारणको जमघट राम्रो भयो। कार्यक्रमभर उनीहरुले निकै चाख मानेर सहभागिता जनाए,' उनले भनिन्। बिहान आठ बजे ग्वार्कोबाट सुरु भएको साइकल र्‍याली कोटेश्वर, बानेश्वर, मैतीदेवी हुँदै पाटन दरबार स्क्वायर पुगेको थियो।
विद्यार्थीको क्लबले गत वर्ष पनि यस्तै जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो। ग्लोबल वार्मिङ, वातावरण संरक्षण र सरसफाइको विषयमा निरन्तर कार्यक्रम गर्ने क्लबका विद्यार्थीको योजना छ।

0 comments:

Post a Comment