जसले जोगाउन सकेनन् क्रेज

वर्ष २०११ आर्यनका लागि ‘खुशिपूर्ण’ रहेन । आर्यन स्टारर ‘सपना’, ‘के यो माया हो’, ‘मेरो लभस्टोरी’ले लगानी पनि उठाउन सकेनन् । वर्ष २०१० का ‘स्टारपावर’ आर्यनको क्रेज पछिल्लोवर्ष यति तीव्र गतिमा ओरालो लाग्यो कि उनले दर्शकको मनोविज्ञान र ट्रेन्डलाई आत्मसात गर्न सकेनन् । उस्तै भूमिका, उस्तै शैली र उस्तै गेटअप आर्यनका लागि ‘स्लो पोइजन’ रहे । वर्ष २०११ को अन्त्यपनि आर्यनका लागि ‘सुखद’ रहेन । ६ लाखमा साइन भैसकेको ‘काठमाण्डू नाइट’ अनिश्चित बन्यो । उनले साइन
गरेको बंगाली प्रोजेक्ट पनि यतिबेला गुमनामजस्तै छ । रिलिज अगाडि मिडियाले उनलाई गुथाएको ‘स्टारपावर’ लगातारका रिलिजपछि ध्वस्त मात्र भएन, उनी अहिलेसम्म बेरोजगार छन् । केही समय सिनेमा नगर्ने उनका अभिव्यक्तिहरूले उनी अझै केही समय बेरोजगार रहनेतर्फ संकेत गर्छन् । उनलाई तत्कालै कमब्याक गराउने अपेक्षा गरिएका निर्देशक सुदर्शन थापा पनि केही समय रेस्ट गर्न चाहन्छन् ।

महंगा हिरोको महंगो सिनेमा ‘के यो माया हो’ले जम्मा दुई लाख नेट (ग्रस होइन) कलेक्सन गर्नु आर्यनका लागि सर्वाधिक असफलताको किस्सा थियो । यो असफलतालाई उनले ‘मेरो लभस्टोरी’मार्फत रिकभर गर्न त खोजे तर, हाता लाग्यो शुन्य । मेरोसिनेमासँग उनले वर्ष २०११ को सुरुआतमा आफू वर्षकै लोकप्रिय अभिनेता हुने बताएका थिए । तर, उनको अनुमानहरू यतिबेला गलत सिद्ध भए जतिबेला उनी एउटै ट्रयाकमा हिँडिरहे ।

अब, आर्यनको खस्कँदो क्रेज जोगाउने एउटै तात्कालिक उपाय छ , त्यो हो –‘आइएम सरी’ । आगामी माघ २७ गते आर्यनको अपकमिङ करियरले कुन दिशा लिन्छ, त्यसका संकेतहरू देखापर्नेछन् । आर्यनको सिनेमा करियरलाई २०१० कै उचाइमा लैजान ‘आइएम सरी’ले कुनै हालतमा जित्नुपर्छ । ‘आइएम सरी’को पराजय आर्यनको करियरकै पराजयसँग जोडिएको छ । विश्लेषकहरू मात्र होइनन्, स्वयम ‘आइएम सरी’ निर्माता हरि महत आफ्नो सिनेमाको सफलतालाई आर्यनको करियरको सफलतासँग जोडेर हेर्छन् । ‘ऊ टिक्न कुनैपनि हालतमा आइएम सरी चल्नुपर्छ’ आर्यनबारे हरिको भनाइ छ ।

सम्भवतः करियरबारे सचेत भएकैले होला, रिलिज एकमहिना अघिदेखि नै पब्लिसिटीका लागि पश्चिम नेपालको दौडाहामा आर्यन छन् । यसबीच उनले टीकापुर र नेपालगञ्जका दर्शकलाई भेटिसकेका छन् । वर्ष २०१२ उनका लागि अवसर र चुनौतिको वर्ष हुनेछ । अवसर –२०११ का गल्तीलाई समिक्षा गरे भने । चुनौति –ती गल्तीलाई नजरअन्दाज गरिदिए भने । वर्ष २०१२ मा आर्यनलाई उनका फ्यानहरूले जोगाउन सक्नेछैनन्, सक्नेछन् त उनी आफैले कमजोरी सुधारेर । कमजोरी उनी आफैभित्र छ । आर्यनजस्तै अन्य ‘स्टारपावर’हरूले पनि बेलैमा ट्रेन्डलाई पछ्याएनन् भने वर्ष २०१२ प्रलयको वर्ष हुनेछ ।

0 comments:

Post a Comment