रेखाको जवानी

अभिनेत्री रेखा थापाका बारेमा नेपाली माया नगरीमा हुने साझा टिप्पणी यस्ता छन्, 'उनी घमण्डी छिन्। कसैलाई मान्छे गन्दिनन्। युज एन्ड थ्रो गर्न खप्पिस छिन्।' सोह्र वर्षकै उमेरमा फिल्म खेल्न थालेकी थिइन् रेखाले। उनको पहिलो फिल्म 'हिरो' हो। हिरोका निर्देशक नरेश पौडेल र निर्माता छवि ओझासँग उनको एकसाथ अफेयर चलेको थियो।पौडेल र ओझा निकै घनिष्ट मित्र थिए। रेखाकै कारण उनीहरूबीच दरार आएको थियो। छविले रेखालाई बिहे गरेपछि नरेश र छविबीच पानी बाराबारको स्थिति आएको थियो।'लेखाउन र देखाउन माहिर नायिका'को उपाधि पाएकी रेखा चौपट्टै बाठी छिन्। उनी कसैलाई मान्छे गन्दिनन्। नयाँ र पुराना सबै हिरोइनलाई बाल गन्दिनन्। कतिपटक त नवनायिकाहरूलाई सुटिङ स्पटमा धर्धरी रुवाएकी छिन् उनले। 'नयाँलाई उनी हतोत्साही बनाउँछिन्,' रेखापीडित एक नायिका भन्छिन्।रेखा कुनै पनि सम्बन्धलाई आफ्ना अधिकतम हितमा प्रयोग गर्न शिपालु छिन्। कसलाई अँगाल्ने, कसलाई पन्छाउने, यस विषयमा उनी खेलाडी नै छिन्। निखिल उप्रेतीलाई पन्छाउन उनले विराज भट्टलाई 'किस्मत'मा ब्रेक दिइन्। विराजको उपयोगिता सकिएपछि उनलाई हटाउन रेखाले आर्यन सिग्देललाई कजाउन थालिन्। हिरो फेरिरहनु मानौँ उनको बानी बनेको छ। आर्यन पछि उनले आयुष रिजाललाई आफ्नो बसमा पारिन्। रेखाको 'हिरो चेन्ज अफर'मा अहिले आइपुगेका छन् नायकद्वय किशोर खतिवडा र सविन श्रेष्ठ। उनले केही दिनअघिमात्रै सुटिङ सुरु गरेको फिल्म 'रावण' मा यी दुईजनालाई मुख्य भूमिकामा लिएकी छिन्।उनको थुप्रै नायक र निर्देशकहरूसँग खटपट छ। फिल्मकर्मीहरू उनको मै हुँ भन्ने स्वभाव (इगोइजम)ले उनी एक्लिँदै गएको बताउँछन्। माया नगरीका धेरैसँग उनले सम्बन्ध बिगारिसकेकी छिन्।कुनैबेला निखिल उप्रेती उनका सारै मिल्ने साथी थिए भने अहिले निखिल र रेखाबीच 'दुश्मनी' छ। तर, रेखा यसलाई सिधै नकार्छिन्,' निखिल एकदमै मुडी छन्। उनलाई कसैसँग व्यवहार गर्नै आउ"दैन। उनको शब्दकोषमा 'रेस्पेक्ट' भन्ने शब्द नै छैन।'रेखाको क्रोध र दुर्व्यवहारका शिकार भएका फिल्मकर्मीहरूको लामै लिस्ट छ। 'रेखा थापालाई नयाँ नयाँ कुरा मन पर्छन्। कलाकार पनि उनलाई सधैं नयाँ चाहिन्छ। कलाकारहरूलाई उनी आफ्नो फिल्ममा ब्रेक दिन्छिन् र आफ्नो मतलब सिद्ध भएपछि मतलबै गर्दिनन्,'एक निर्देशक भन्छन्।रेखा र निर्देशक दीपक श्रेष्ठ पहिले राम्रै साथी थिए। यी दुई मिलेर फिल्म 'हिम्मत' बनाएका थिए। तर, यसै फिल्मको सिक्वेल 'हिम्मत-२' बनाउँदा यी दुईबीच खटपट भयो। रेखाले हिम्मत-२ मा हालीमुहाली गर्न खोजेपछि दीपक र रेखाको सम्बन्ध चिसियो। रेखालाई दिपकको कुरा मन नपर्ने, दिपक पनि रेखासँग झुक्न नखोज्ने। दीपकले हिम्मत- २ बनाएर रेखाको इगोलाई ठेगान लगाइदिए। दीपक भन्छन्, 'मलाई कसैसँग रिसइवी छैन। मैले रेखाजीलाई सँगै मिलेर फिल्म बनाऔँ भनेकै हुँ। उनैले नमानेकी हुन्। मैले आफ्नो काम नै छाडेर उनलाई पर्खेर बस्ने कुरो पनि त आएन। रेखासँग मेरो कुनै वैरभाव छैन।'रेखा र आर्यन सिग्देलबीचको सम्बन्ध अन अफ भइरहन्छ। 'किस्मत'मा आफैँले ब्रेक दिएको आर्यनसँग उनको धेरैपटक खटपट परिसकेको छ। आर्यनलाई रेखाले आफ्नो फिल्ममा थोरै पारिश्रमिक दिएर खेलाउन चाहेकाले उनीहरूको सम्बन्ध बिग्रिएको बताइन्छ। पैसाकै कारण आर्यनले रेखाको फिल्ममा प्रोपर टाइम दिएनन् र रेखाले नयाँ कलाकार आयुष रिजाललाई आफ्नो फिल्ममा ब्रेक दिइन्।तर,आर्यन रेखासँग सम्बन्ध बिग्रिएको कुरा खुलेर मान्न तयार छैनन्। तर, घुमाउरो पारामा उनले भने, 'मैले टाइम म्यानेज गर्न सकिरहेको छैन। त्यसैले त्यस्तो लागेको होला। हामी कलाकारहरूमा खटपट त भई नै रहन्छ। यो कुनै नौलो विषय होइन।'निर्देशक नरेश पौडेलले रेखा थापालाई करिअरको पहिलो ब्रेक दिएका थिए। पौडेलका अनुसार, नायिका रेखा प्रतिभाशाली र मेहनती कलाकार हुन्। 'उनले फिल्मजगतमा आफ्नो स्थान बनाइसकिन्,' पौडेल भन्छन्, 'अब न उनलाई कसैले उछिन्नसक्छ न कोही उनको बराबरीमा नै आउनसक्छ। आफैँ फिल्म प्रोड्युस गर्नु अझ राम्रो कुरा हो। झिनो मसिनो कुरामा किचलो हुनु त साधारण हो नि!'रेखा आफ्नै होम प्रोडक्सनका फिल्महरूमा व्यस्त हुने गरेकी छिन्। अरू निर्देशकहरूसँग कम नै देखिनुले पनि उनी एक्लिएको अनुमान लगाउन गाह्रो छैन। रेखाले आफ्नो जवानीको तुजुक, हैसियतको घमण्ड र मै हुँ भन्ने पारा नछाड्ने हो भने उनको क्रेज, प्रतिष्ठा र करिअर समाप्त हुन धेरै समय लाग्नेछैन। यसैपनि जवानी धेरै दिनको हुँदैन।

0 comments:

Post a Comment