बन्दले अड्कियो 'लास्ट किस'

'द लास्ट किस'को सुटिङमा कलाकार पुष्करजंग थापा र शोभिता सिम्खडा। सुटिङ धरानस्थित लाङ्घाली सामुदायिक वनमा भइरहेको छ। तस्बिर : रोहित राई
दुई सातादेखि धरानको लाङ्घाली सामुदायिक वनमा सुटिङ भइरहेको ‘द लास्ट किसः अ युनिक लभ स्टोरी'ले संघीय लिम्बुवान राज्य परिषद्को तीन दिने आमहड्तालका कारण सुटिङ गर्न सकेन। सोमबार मोरङको वेतना सिमसार जाने तरखरमा रहे पनि सुटिङ रद्द भयो। वन समूहकै अतिथिगृहमा रहेको टोली तीन दिनसम्म के गर्ने भनेर अन्यौलमा परेको छ। ‘जंगलको बीचमा पोखरी भएको लोकसनमा खिच्नुपर्ने थियो। त्यसैले आज वेतना जाने योजना बनाएका थियौं,' निर्देशक बीबी फुयालले भने, 'यहाँको लोकेसनमा काम सकियो। तीन दिन बन्द भनेकोले के गर्ने भनेर तनाव छ।' रोमान्स गर्न जंगल पुगेको नवविवाहित जोडीले जंगलमा अनेक खतराको सामाना गर्नुपर्ने दृश्यको सुटिङ भइरहेको फुयालले जानकारी दिए। ‘युवालाई लक्षित गरेर फिल्म बनाउँदै छौं। हनिमुनमा आएका जोडीबीच हुने सबै किसिमका व्यवहार र गतिविधिलाई प्रस्तुत गर्नेछौ,' उनले थपे। 'एडल्ट' फिल्म बनाउन लागेको जानकारी दिँदै उनले रोमान्स, सेक्स, थ्रिलर र एक्सन दृश्यलाई प्राथमिकता दिइएको बताए। सहायक निर्देशक भएर थुप्रै फिल्ममा काम गरेका फुयालको यो पहिलो निर्देशन हो।वेतनापछि भेडेटार र कोशी ब्यारेजमा सुटिङ गर्ने उनले जनाए। वैशाखसम्म प्रर्दशनमा ल्याउने लक्ष्य लिएको निर्माता एवं छायाकार युवराज खत्रीले बताए। ‘बन्द, हडतालले असर नगर्ने हो भने अबको दुई साताभित्र सुटिङ सकिन्छ, नयाँ वर्षको अवसरमा रिलिज गर्ने सोच छ,' खत्रीले भने। फिल्ममा हिरोइनको भूमिका सशक्त रहेको सोभिता सिम्खडाले बताइन्। ‘मेरो भूमिका ज्यादै चुनौतीपूर्ण छ। रोनाधोनादेखि ग्ल्यामर र एक्सनसमेत छन्,' उनले बताइन्। नयाँ कलाकार पुष्करजंग थापाले पहिलो फिल्ममा एकदमै रमाइलो अनुभव गरे।

0 comments:

Post a Comment