चेतन सापकोटालाई हत्याको धम्की

सेन्सर बोर्ड र चलचित्र विकास बोर्डअन्तर्गतको अनुगमन समितिका सदस्य चेतन सापकोटालाई ज्यान मार्ने धम्की आएको छ । शुक्रबार बिहान सापकोटाको मोबाइलमा फोन गरी अज्ञात व्यक्तिले सापकोटालाई धम्काएका हुन् । काठमाडौंको नम्बरबाट आफूलाई धम्की दिने व्यक्तिबारे छानविन भैरहेको सापकोटाले जनाए । आफ्ना सदस्यमाथिको धम्कीलाई चलचित्र विकास बोर्डले गम्भीर रुपमा लिँदै शुक्रबारदेखिनै छानविन थालेको छ । 'तँलाई बाँच्न मन छैन ? दादागिरी गर्छस् भन्दै मलाई अज्ञात व्यक्तिले हत्या गर्ने धम्की दियो' घटनाबारे सापकोटाले मेरोसिनेमासँग भने 'हामी गोप्यरुपबाट छानविन गरिरहेका छौं । चाँडै धम्कीदिनेबारे थाहा पाउनुहुनेछ ।' बोर्ड अध्यक्ष गणेश भण्डारीले सापकोटामाथिको धम्की सिँगो चलचित्र उद्योगमाथिको धम्की र चलचित्र विकास नचाहनेले गरेको उल्लेख गरे । सापकोटा स्वयमले पनि आफूमाथिको धम्कीलाई चलचित्र विकास बिरोधीले चालेको चाल भनेर टिप्पणी गरे ।घटनाप्रति निर्देशक समाजले पनि रोष व्यक्त गरेको छ । समाजका प्रथम उपाध्यक्ष विमल पौडेलले धम्की दिनेलाई 'खबरदार' भनेका छन् । हालैका महिनामा सापकोटाको सक्रीयतामा थालिएको बिकास बोर्ड र सेन्सर बोर्डको अभियानप्रति असुन्तष्ट पक्षले धम्की दिएको प्रारम्भिक अनुमान गर्न सकिन्छ । बिकास बोर्डका सल्लाहकार निर्माता तथा निर्देशक युवराज लामालाई दिएको ज्यान मार्ने धम्की भुइँमा खस्न नपाउँदै संगीतकार समेत रहेका सापकोटालाई धम्की आएको हो । धम्कीप्रति आफू नडराउने सापकोटाले बताए ।

0 comments:

Post a Comment