साकिराकी फ्यान नाच्दै गाउने इन्दिरा

चौबन्दी चोली अनि रातो घाँगर' नामक डान्सिङ गीतबाट चर्चामा आएकी छिन् गायिका इन्दिरा जोशी।आफ्नो एकल एल्बम 'डान्स विथ मी' को गीतले उनलाई 'डान्सिङ सिंगर'को रूपमा स्थापित गरेको छ। फास्ट ट्रयाकको यो गीतमा इन्दिराले बेली डान्सलाई प्रस्तुत गरेकी छिन्।'डान्स मेरो रूचि हो। त्यसैले नाच्न मिल्ने गीत एल्बममा राखेँ,' फेरि अर्काको गीतमा सोचे जसरी प्रस्तुत हुन नपाउने भएकोले आफैंले यस्तो प्रयास गरेको उनले बताइन्।गीतको चर्चाले उनी खुशी छिन्। 'दर्शकलाई गीत ग्ल्यामर लाग्न सक्छ। तर, गीतको भाव अनुसार मिलेको छ,' यसको कोरियोग्राफीमा निकै मेहनत गरेको उनको भनाइ छ। गीत र भिडियोको धार मिलेकै कारण चर्चा पाएको उनले अनुभव गरेकी छिन्। 'बेली डान्सलाई नेपाली शैलीमा पनि प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा यस भिडियोमा देखाइएको छ।'गीतको चर्चापछि उनी आगामी गीतमा कोरियोग्राफी समेत सम्हाल्न हौसिएकी छिन्। नृत्यबारे प्रशिक्षण नलिएकी इन्दिराले निरन्तर अभ्यासकै भरमा म्युजिक भिडियोमा काम गरेको बताइन्। म्युजिक भिडियोको सुटिङ गोठाटारमा गरिएको थियो। 'बेली डान्सबारे धेरै कुरा थाहा भएकोले आफूले नै डान्सको कोरियोग्राफी गरेँ,' एल्बम रिलिज गरेलगत्तै देशव्यापी टूरमा निस्केकी उनले भिडियोले गर्दा धेरैको नजरमा परेको महसुस गरेकी छिन्, 'कला बुझ्ने मानिसको अभाव चाहिँ छ यहाँ। तैपनि राम्रो कामलाई मानिसले मनपराउँदा रहेछन्।'म्युजिक भिडियोमा कोरियोग्राफीले ठूलो भूमिका खेल्ने उनको अनुभव छ। भन्छिन्, 'पछिल्लो समय आइरहेका नयाँ कोरियोग्राफरहरूसंग काम गर्ने इच्छा छ।''साना नानीहरूदेखि ठूला मानिसले मेरो गीत राम्रो लागेको भनेर भन्नुहुन्छ,' भदौ ११ देखि उनी कतार र कोरियामा दुई साता लामो कन्सर्ट गर्न जाँदैछिन्। विदेश यात्रापछि नेपालमा कन्सर्ट गर्ने तयारी छ।म्युजिक भिडियो आउन थालेपछि धेरैले 'नेपाली साकिरा' भन्न थाले यिनलाई। यसो भन्दा उनलाई निकै रमाइलो लाग्छ। 'वास्तवमा म साकिराकी फ्यान हुँ। उनको प्रभाव मेरो गीतमा पाइनु स्वभाविक नै हो,' उनले भनिन्।

0 comments:

Post a Comment