बाबुरामले हेरेपछि सचाइयो स्क्रीप्ट !

बाबुराम भट्टराई चलचित्रका दर्शकमात्र होइन रहेछन् । उनी चलचित्रको प्रीप्रोडक्सनमा पनि सहभागि भएका रहेछन् । रिलिज हुन लागेको चलचित्र 'किसान'को स्क्रीप्ट सम्पादन र संगीत सुनेर सुझाव दिने काम गरेका रहेछन् नवनिर्वाचित प्रधानमन्त्रीले । निर्देशक तथा निर्माता बिमल पौडेलले डा. भट्टराईले आफ्नो चलचित्रको स्क्रीप्ट सम्पादन गरेर पुनर्लेखनका लागि सुझाव दिएको बताए । स्क्रीप्ट भने स्वयम बिमलले लेखेका हुन् । झन्डै एकसाता लगाएर बाबुरामले किसानको स्क्रीप्टलाई काँटछाँट गरेका थिए । चलचित्र 'किसान'को प्रतिनिधि पात्रमा महिला र पुरुषलाई समान ढंगले सहभागि गराउनुपर्ने, मुख्य पात्रका रुपमा रहेका राजेश हमालको कृषि क्रान्तिको अवधारणामा जोड दिनुपर्ने र माक्स्रवादी सिनेमा सौन्दर्य समावेश गर्नुपर्ने तीन मुख्य बुँदा बाबुरामको सुझावपछि थपिएको पौडेलले मेरोसिनेमालाई बताए । 'उहाँको सम्पादनपछि स्क्रीप्टको ढाँचा नै परिवर्तन भयो' पौडेलले भने ।चेतन सापकोटाले भरेको चलचित्रको संगीतलाई पनि बाबुरामले चाख मानेर सुनेपछि राम्रो रहेको प्रतिक्रीया दिएका थिए । 'गीत सुनेर उहाँले कथासँग मेल खान्छ भन्नुभएको थियो' निर्देशक पौडेलले भने । चलचित्रको पटकथा र संवाद चाहिँ चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले लेखेका हुन् । राजेश हमाल, नीर शाह, राजेश ढुंगाना, नन्दिता केसी आदिले अभिनय गरेको चलचित्र बैशाखमा रिलिज हुनेछ । विहिबारदेखि चलचित्रलाई सिन्धुपाल्चोकको चौताराबाट तीनदिने घुम्ती सिनेमाका रुपमा प्रदर्शन गरिँदैछ ।

0 comments:

Post a Comment