नाङ्गो ट्रफि किन ?

यति बेलाको समय अवार्डको मौसम जस्तो देखिएको छ । सांगितिक क्षेत्रका केही अवार्डहरु सम्पन्न भै सकेका छन् भने केही हुने क्रमममा छन् । यता चलचित्र क्षेत्रसंग सम्बन्धित अवार्ड कार्यक्रमहरु पनि भैरहेका छन् । प्राबिधिक संघले आयोजना गरेको अवार्ड हुदै छ भने छाँयाछबि प्रकाशनको सिजी डिजीटल फिल्म अवार्ड भाद्र २८ गते सम्पन्न हुँदैछ । बक्स अफिस फिल्म अवार्ड र राष्ट्रिय फिल्म अवार्ड कार्यक्रमहरु पनि हुँदैछन् भने फिल्मीखबर डटकमको आवार्ड कार्यक्रम १४ फेब्रुअरीमा हुँदैछ ।
नेपालमा मात्र हैन बिश्वका जुनसुकै अवार्ड कार्यक्रममा पनि नाङ्गो ट्रफि प्रदान गर्ने चलन रहेको छ । बिश्वमा पहिलो पटक चलचित्रकर्मीहरुको सम्मानमा आयोजना गरिएको ओस्कार अवार्ड देखी आज सम्म सम्पन्न भएका जुन सुकै अवार्ड कार्यक्रमहरुमा पनि उत्कृष्टलाई नाङ्गो ट्रफि दिएको हामीले देख्ने गरेका छौ । तर नाङ्गो ट्रफिनै प्रदान गरिनुको कारण बारे भने चलचित्रकर्मीहरु असपष्ट देखिएका छन् । यसबारे चलचित्रकर्मीहरुले आ-आफ्नै बिचारहरु दिने बाहेक ठोकुवा नै गरेर यहि कारण हो भन्न सकेका छैनन् ।केही चलचित्र अवार्ड कार्यक्रममा जुरीको भुमिका निभाएका बरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले महिलालाई लक्ष्मीको रुपमा मानिने प्रचलन रहेका कारण धेरै ट्रफिहरुमा महिलालाई अंकित गरिने बताएका छन् । सृष्टीको संरचना अनुसार महिला पुरुष एक अर्काका लागी अपरिहार्य भएकोले पछिल्लो समय दुबैलाई अंकित गरिएको हुनु पर्ने उनको भनाई छ । तर नाङ्गो ट्रफिका बारेमा भने उनको बिचारमा बिश्वमा नै नाङ्गो ट्रफि दिने प्रचलन भएका कारण नेपालमा पनि यसले निरन्तरता पाएको हो ।कलाकार, लेखक तथा निर्देशक मोहन निरौला पनि केही अवार्ड कार्यक्रमहरुमा जुरीको भुमिका निभाउने चलचित्रकर्मी हुन् । उनको बुझाइमा भने मानिस जन्मदा नाङ्गै जन्मिने अनि मर्दा पनि नाङ्गै मर्ने हुँदा जीवनको अर्थ बुझाउनका लागी नाङ्गो अवार्ड प्रदान गरिएको हुनु पर्दछ । संसारमा सृष्टी पछि मानव जीवनको बिकाश क्रममा महिला र पुरुषको साथ बिना बंश नचल्ने यथार्थताका अगाडी त्यहि कुरालाई बुझाउन महिला र पुरुष अंकति ट्रफि प्रदान गरिएको हुनु पर्ने निरौलाको ठम्याई छ ।
यस्तै केही अवार्ड कार्यक्रमहरुमा जुरीको भुमिका निभाएका बरिष्ठ चलचित्र पत्रकार तथा सिजी डिजिटल अवार्डका अध्यक्ष शान्ती प्रियको बुझाइमा भने चलचित्र अवार्ड कार्यक्रमहरु निश्पक्ष हुन्छन् भन्ने कुरा बुझाउनको लागी नाङ्गो ट्रफि प्रदान गरिएको हो । मानिसको वास्तबिक स्वरुप समेत नाङ्गो शरिरमा मात्र झल्कने हुँदा अवार्ड पनि स्वतन्त्र र निस्पक्ष छ भन्ने कुरा बुझाउन नाङ्गो ट्रफि प्रदान गरिने गरिन्छ । यस्तै निर्देशक नवल नेपालको भनाई पनि ठ्याक्कै यस्तै छ ।यता पत्रकार तथा केही चलचित्र अवार्ड कार्यक्रममा जुरीको भुमिका निभाएका राजेश खनालको बुझाईमा जीवन दर्शन बुझाउन पनि नाङ्गो ट्रफिको प्रयोग गरिएको हो । उनले मानिस जन्मदा र मर्दा पनि नाङ्गो नै हुने भएकाले जीवनसंग तुलना गरेर नाङ्गो ट्रफि प्रचलनमा छ । नाङ्गो ट्रफिका बारेमा चलचित्रकर्मीहरुका आ-आफ्नै बुझाइ भए पनि यकिनका साथ भने कसैले भन्न भने सकेनन् । जे होस्, नाङ्गै ट्रफि दिने प्रचलनको आफ्नै बिशेषता भएकोले यसले निरन्तरता पाओस् र सबै अवार्डहरू निष्पक्ष हुन् । हाम्रो शुभकामना !

0 comments:

Post a Comment