राजेशको जीवनसँग मिल्ने फिल्म

अभिनेता राजेश हमालले फिल्म 'मेरो राजेश दाइ' आफ्नो पारिवारिक प्रसंगसँग निकै नजिक रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित उक्त फिल्मको गीत विमोचन कार्यक्रममा राजेशले यस्तो बताएका हुन्। फिल्ममा देखाइएको पारिवारिक भावनासँग आफ्नो कथा मिल्ने खुलासा गर्दे उनले भने, 'म दाइ हुँ। मेरो भाइसँग निकै आत्मीय सम्बन्ध छ। हामीले बुबाआमालाई चाँडै गुमायौं,' फिल्मको यस्तै विषय आफ्नो जीवनसँग नजिक रहेको उनले चर्चा गरे।क्यासेट विमोचनमा विरलै देखिने राजेशले मंगलबार दिनभर यही फिल्मको प्रचारप्रसारमा बिताएको बताए। 'आजको दिन राजेशमय भयो। दिउँसो नेपाल टेलिभिजनको कार्यक्रम छमछमीमा सहभागी हुन गएँ। त्यसपछि मिस टिनको कार्यक्रममा पुगेँ। अहिले यहाँ पनि यही फिल्मको चर्चा गर्दैछु,' उनले भने। व्यापारिक सफलतालाई हेरेर नभई आफ्नो प्रशंसकका हिसाबले यो नाममा फिल्म बनाउने निर्माण समूहलाई उनले धन्यवाद दिए। निर्माता रोज राणाले यो नाममा आफूलाई फिल्म बनाउने रहर भए पनि अरूले उछिनेको बताए। संगीतकार वसन्त सापकोटाले फिल्मको कथासँग बाँध्ने कोसिसका साथ गीत तयार पारेको बताए। फिल्मका निर्देशक ऋषि न्यौपानेले राजेशको २२ वर्षे योगदानको कदर गर्दै यो नाममा उनैको प्रमुख भूमिकामा फिल्म बनाएको बताए।प्रस्तुतकर्ता सन्देश बराइलीले भदौ १६ देखि राजधानी बाहिर फिल्म रिलिज गरिने जानकारी दिए। निर्देशक न्यौपाने र संगीतकार वसन्त सापकोटाका साथै उत्तम गौडेलले फिल्मको गीत लेखेका छन्। राजेश हमालका साथै अरुणिमा लम्साल, शीतल केसी, हेमन्त बुढाथोकी, रामचन्द्र अधिकारीलगायतका कलाकारले यसमा अभिनय गरेका छन्।यसमा मौनता श्रेष्ठको स्क्रिप्ट, एनबी महर्जनको द्वन्द्व, कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य र अनिल गौतमको सम्पादन रहेको छ।

0 comments:

Post a Comment