छात्राले घुँडा छोपिने स्कर्ट लगाउनुपर्ने निर्णय कति उचित ?

निजी विद्यालयमा अध्ययन गर्ने छात्राहरुले लगाउने मिनीस्कर्ट भड्किलो भएको भन्दै शिक्षा विभागले घुँडासम्म छोपिने स्कर्ट लगाउनुपर्ने निर्देशिका तयार पारिरहेको छ ।सरकारद्वारा प्रस्तावित पोशासकसम्बन्धी निर्देशिकामा मिनी स्कर्टको तल्लो भाग घुँडासम्म हुनुपर्ने र पाइन्ट लगाउँदा कम्मरभन्दा एक इञ्चमाथि बाँध्नुपर्ने, कम्मरमा बाँध्ने पेटीको चौडाइ डेढ इञ्चभन्दा ठूलो हुन नहुने लगायतका कुराहरु उल्लेख गरिएको छ । यसअघि निजी शैक्षिक संस्थाहरुमा छात्रछात्रालाई मोवाइल र मोटरसाइकल लिएर प्रवेश गर्न नपाइनेजस्ता नियमहरुको पनि अभ्यास नेपालमा हुँदै आएको छ । विस्तारै आधुनिकता र खुल्लापनतर्फ मोडिँदै गएको नेपाली समाजमा सरकारीस्तरबाट ल्याइने यस्ता नियमहरु कतिको सान्दर्भिक होलान् ? सरकारी योजनाले यसबारेमा बहस सिर्जना गराएको छ । विगतमा विवाहित महिलाले साडी लगाउनैपर्ने, अन्यथा भड्किलो पोशाक लगाएको ठहरिन्थ्यो । खुट्टाका गोलीगाँठा देखिँदा अश्लील सम्झने नेपाली समाज यतिबेला महिलाले तिघ्रा देखाउन मिल्छ कि मिल्दैन भन्ने बहसमा आइपुगेको सरकारी निर्देशिकाबाट प्रष्ट हुन्छ । तर, पश्चिमी सभ्यतामा भने यस्तो बहसलाई वाहियात मानिन्छ । उनीहरुका विचारमा त यो बहसकै विषय होइन । अर्कातिर मुस्लिम समाजचाँहि महिलाले बुर्का लगाएर हिँड्नुपर्छ या अनुहार देखाएर हिँड्न हुन्छ भन्ने विषयमा बहस गरिरहेको छ । कट्टर मुस्लिम समुदायका महिलाले बुर्का लयाएर हिँड्नुपर्ने कडा नियम छ भने हिन्दूसमाज अलि उदार भएका कारण नेपाल र भारतजस्ता देशहरुलाई खुल्लापनतर्फ जान सहज भैरहेको छ । त्यसो त मुस्लिम समाजमा पनि बुर्का खोलेर पुरुषसरह सामाजिक जीवनमा सहभागी हुने आधुनिक महिलाहरुको संख्या बढ्दै गइरहेको छ । ’भड्किलो’ फेसनले मानिसको
व्यक्तित्वलाई कमजोर पार्नेमात्रै नभई विभिन्न किसिमका सामाजिक विकृति एवं विसंगतिलाई समेत प्रश्रय दिन्छ भन्ने मान्यता राख्ने मानिसहरु नेपालमा अझैसम्म प्रशस्तै पाइन्छन् । तथापि विद्यालयहरुमा पोशाकलाई नियमन गर्ने सरकारद्वारा प्रयास गरिए पनि राजधानीलगायत देशका प्रमुख शहरका नेपाली रेष्टुरेन्ट र डान्स वारहरु पश्चिमी देशभन्दा कम ‘फेसनेबल’ चाँहि छैनन् । नेपाली युवापुस्तामा बढ्दो खुलापन राज्यको नियन्त्रणभन्दा धेरै पर पुगिसकेको छ । त्यसो त खुलापनमा रमाइरहेका पश्चिमाहरुले पनि विद्यालय उमेरका केटाकेटीलाई वयस्कहरुलाई जस्तो बसै कुरामा छुट दिएको पाइँदैन । अमेरिकामा निश्चित उमेर नकटेसम्म किशोर-किशोरीलाई मदिरा सेवनमा समेत प्रतिवन्ध छ ।

0 comments:

Post a Comment