यो कस्तो प्रिमियर ?

न कुनै रेड कार्पेट त न कुनै गतिलो व्यवस्थापन नै । भारतका निर्माताले बनाएको सिनेमा त्यसमा पनि भारतकै निर्देशकको निर्देशन रहेको सिनेमाको प्रिमियर केही राम्रोसँग गरिएला भन्ने आशा गरेका थिए, आम चलचित्रकर्मी तथा पत्रकारले । तर बिहीबार दिउँसो गरिएको चलचित्र ‘परिचय’को प्रिमियरमा त्यस्तो कुनै कुरा देखिएन । सामान्य खालको कार्यक्रम र यसैमा गरिएको अडियो विमोचनकाबीच चलचित्रको प्रिमीयर गरिएको छ ।करोड माथिको सिनेमा भनेर प्रचार गरिएको सिनेमाको प्रिमियर कार्यक्रमको भद्रगोलले
व्यवस्थापनलाई चुनौति दिएको थियो । भारतीय निर्देशक आकाश पाण्डेले निर्देशन गरेको यो सिनेमा शुक्रवारबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । चलचित्रको प्रिमियर कार्यक्रममा अनाथ बालबालिकालाई १५ हजार रुपैंया सहयोग समेत गरिएको थियो ।

प्रिमियर कार्यक्रममा सिनेमामा बिशेष भूमिका गरेका नायक सुशिल क्षेत्री भन्दा अन्य कोही पनि उपस्थित भएनन् । नायक निखील उप्रेती र नायिका मोनीका वेदी कार्यक्रममा देखिएनन् ।

चलचित्र परिचयले खासै नयाँ कथावस्तुलाई उठान गरेको छैन । सामान्य कथावस्तुमा तयार पारिएको यो सिनेमा टेलिसिरीयलको ढर्राबाट अघि बढेको छ । सम्भवतः सिरीयल निर्देशन गरेका निर्देशकले निर्देशन गरेका भए र पनि हुनसक्छ सिनेमा सिरीयल जस्तो लाग्दछ ।

भारतीय नायिका मोनिका वेदीको आवाजमा नेपाली कलाकारको आवाज डब गरिएको छ । समग्रमा चलचित्र परिचयले खासै नौलो परिचय दिने छनक देखिँदैन । एक भारतीय निर्देशकले बनाएको सिनेमा र भारतीय निर्माताको नै लगानी रहेको यो सिनेमाबाट आशा भने धेरै नै थियो ।

0 comments:

Post a Comment