आइएम सरी : ट्रेलर रिलिज

‘आइएम सरी’ले पब्लिसिटी थालेको छ । विहिबार आयोजित पत्रकार भेटमा सिनेमाले नेसनल टुर, ट्रेलर र संगीत प्रिमियर गर्‍यो । माघ २७ मा सोलो रिलिज सिनेमाको संगीत र ट्रेलरलाई आयोजित जमघटमा निर्माता, निर्देशक र कलाकारले सार्वजनिक गरे । हरि महत र सुनिल मानन्धरले लगानी गरेको सिनेमालाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

लभस्टोरी सिनेमाको संगीत ताराप्रकाश लिम्बुले भरेका छन् । आर्यन सिग्देल, केकी अधिकारी, नीता ढुंगाना अभिनित सिनेमालाई प्रदीप भारद्धाजले लेखेका हुन् । प्रेसमिटमा बोल्दै अभिनेता सिग्देलले आफूले मिहेनत गरेको बताए । निर्देशक राउतले आर्यनलाई सिनेमाले भिन्न चरित्रमा प्रस्तुत गरेको र उनीप्रतिको दर्शकीय दृष्टिकोण सिनेमाले परिवर्तन गर्ने दावी गरे ।


वर्ष २०११ मा घाटा व्योहोरेका वितरक सुनिल मानन्धरले सिनेमा हिट हुनैपर्ने बताए । उनले ५० लाख लगानी गरेका छन् । सिनेमाले आगामी १५ गतेदेखि देशब्यापी पब्लिसिटी टुर सुरु गर्दैछ । मुलुकका प्रमुख थिएटरमा कलाकार र निर्माताको टोलीले प्रचारप्रसार गर्ने निर्माता राउतले बताए । सिनेमाले दुई चरणमा नेसनल टुर गर्ने योजना राखेको छ ।

संगीत
ताराप्रकाश लिम्बुले भरेको संगीतमा प्रदीप भारद्धाजले गीत लेखेका हुन् । दीपक लिम्बु, अञ्जु पन्त र प्रविशा अधिकारीले गाएका छन् । प्रेसमिटमा औपचारिक भनिएपनि सिनेमाको संगीत र ट्रेलर पहिल्यै सार्वजनिक भैसकेको छ । एकमहिनाअघिदेखि नै मिडियाले प्रसारण गरिरहेका ती म्युजिक भिडियोमा स्लो सेन्टिमेन्टल गीत समेटिएको छ । सीडीबाट निर्माताले १० लाख आशा गरेका छन् ।

प्लट
ट्याक्सी चालक र सम्भ्रान्त परिवारकी युवतीबीचको प्रेमकथा हो ‘आइएम सरी’को कथानक । यसले दुई आर्थिक वर्गबीचको प्रेमलाई चित्रण गरेको छ । लगातारका लभस्टोरीमा अभिनय गरिरहेका अभिनेता सिग्देललाई उस्तै स्वरुपको कथानकबाट भिन्न देखिनु चुनौति हुनेछ । उनकै शब्दमा ‘मैले भरपुर गरेको छु’ भनिएपनि प्रोमो र संगीत हेर्दा त्यस्तो देखिँदैन । ‘स्वर’ र ‘मसान’ अभिनेत्री अधिकारीका लागि स्थापित हुने संघर्ष हुनेछ ‘आइएम सरी ।’


ब्यापार
डेढकरोड यसको लागत बताइएको छ । निर्माताले १ करोड नेट आम्दानीलाई च्यारिटी, संगीत, विदेश प्रदर्शन र नियमित प्रदर्शनबाट समेट्न खोजेपनि बाँकी ५० लाखको विकल्प खोज्न सकेका छैनन् । निर्माताले सिनेमालाई मल्टिप्लेक्स अडिएन्सलाई लक्षित भनेका छन् तर सिंगल वा मल्टिप्लेक्स कुन अडिएन्समाझ यसले ब्यापार गर्छ रिलिजपछि नै निधो हुनेछ । मुलुकका ५० पर्दामा सिनेमा प्रदर्शन हुने अपेक्षा गरिएको छ ।

0 comments:

Post a Comment