बर्लिनमा 'हाइवे'को प्रतिस्पर्धा २६ फिल्मसँग

बर्लिन फिल्म महोत्सवमा नेपालको 'हाइवे'ले 'बेस्ट फस्ट फिचर अवार्ड'मा भिड्ने भएको छ। महोत्सवका सहभागीमध्ये निर्देशकले पहिलोपटक निर्देशन गरेको फिल्म यो प्रतिस्पर्धामा समावेश गरिएको छ। यसपालि दीपक रौनियारद्वारा निर्देशित 'हाइवे'सहित २७ फिल्मले यसमा भिड्दैछन्।
नयाँ पुस्ताका फिल्मकर्मीलाई हौसला दिन सन् २००६ देखि सुरु गरिएको यो अवार्ड जित्नेलाई ५० हजार युरो
(करिब ५१ लाख ५० हजार रुपैयाँ) प्रदान गरिनेछ।
महोत्सवको नियमअनुसार उक्त नगद पुरस्कार निर्माता र निर्देशकले आधा-आधा बाँड्नुपर्नेछ। निर्देशकलाई एउटा ट्रफी (भ्युफाइन्डर) पनि दिइनेछ। विजेताको घोषणा फागुन ७ मा हुनेछ।

आयोजकले यो अवार्ड छनोट गर्ने जिम्मा बेग्लै तीन सदस्यीय जुरीलाई दिएको छ। समितिमा जर्मन नाटककार तथा उपन्यासकार मोरिज रिन्के, लेबनानकी फिल्म अभियन्ता हानिया म्रोउ र अमेरिकी अभिनेता म्याथ्यु मोडिन छन्।

बर्लिन महोत्सवमा माघ २७ मा वर्ल्ड प्रिमियर हुने 'हाइवे' त्यसपछि हरेक दिन माघ ३० सम्म देखाइनेछ।

समीर दीक्षित र लोनिम दीक्षितद्वारा निर्मित 'हाइवे'मा सौगात मल्ल, दयाहाङ राई, कर्म, ऋचा शर्मा, विनय श्रेष्ठ, सन्दीप क्षेत्री, राजन खतिवडालगायतले अभिनय गरेका छन्।

0 comments:

Post a Comment