केकीको कमाइ ३ लाख

डेढ वर्ष लगाई सुटिङ सिध्याएको फिल्म 'आइ एम सरी'बाट अभिनेत्री केकी अधिकारीले अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक पाएकी छिन्। तीन लाखभन्दा बढी रकम लिएकी केकीको यो फिल्म माघ २७ मा रिलिज हुँदैछ। 'फिल्मको सुटिङ अवधि नै लम्बिएपछि त्यतिको पैसा कम पो भएजस्तो लाग्यो। एउटै फिल्मको लागि धेरै समय दिनुपरेपछि कलाकारलाई पनि अप्ठ्यारो हुन्छ,' उनले भनिन्। एक कर्पोरेट युवतीको भूमिकामा देखिने केकीले पहिलो फिल्म 'स्वर'बाट एक लाख लिएकी थिइन्।त्यसको सुटिङ एक महिनामै सकिएको थियो।
साधारणतया एउटा म्युजिक भिडियोमा ३० देखि ४० हजार लिने उनले २२ दिनमै सुटिङ सकिएको 'मसान'मा दुई लाख लिएकी थिइन्।
'आफूले गरेको काम अनुसार रकम लिनुपर्छ भन्ने विश्वास गर्छु। मैले अभिनय गरेको फिल्ममा मेरो भूमिकाको महत्व बुझ्नेले रकम दिन आनाकानी गर्दैनन्,' उनले भनिन्। 'ए फर अमेरिका' फिल्मको काठमाडौंको सुटिङ सिध्याएर बसेकी केकी म्युजिक भिडियोमा व्यस्त छिन्।

0 comments:

Post a Comment