‘सुमिना र अनुष्काले छोड्नुको अर्थ छैन’

नायिका सुमिना घिमिरे र अनुष्का ढकालले सिनेमा क्षेत्र छोडेको घोषणा गरे केही महिना अघि । तर यी कुरा खासै चर्चामा आएनन् । सुमिना र अनुष्काले सिनेमा क्षेत्र छोडेर घाटा उनीहरुलाई नै लाग्यो होला, यो क्षेत्रलाई लागेन । नायिका सुमिना घिमिरेले आफ्नो डेब्यु सिनेमालाई नै महत्व नदिएपछि क्रुद्ध बनेका निर्देशक ज्ञानेन्द्र देउजा भर्खर आएका नायिकाले सन्यास लिनुको कुनै औचित्य नभएको बताउँछन् । ‘राजेश हमाल, विराज भट्टले सन्यास लिए भनेर कुरा आए बल्ल सोच्नु पर्ने हुन्छ, यिनीहरुले के योगदान गरेका छन् र सन्यास लिएको कुरा गर्नु ?’ ज्ञानेन्द्रले प्रश्न गरे ।चलचित्र ‘छबिलाल कञ्जुस छैन’बाट सुमिनालाई यो क्षेत्रमा भित्राएका ज्ञानेन्द्र अहिले उनले देखाएको व्यवहारबाट क्रुद्ध बनेका छन् । ‘तीनहप्ता भयो मैले फोन गरेको तर उसले कुनै प्रतिक्रिया जनाएकी छैन, अव के भन्ने ?’ देउजाको भनाई छ । चलचित्र ‘छबिलाल
कञ्जुस छैन’लाई पहिलो पटक युएईमा रिलिज गर्न लागेका देउजा माघ १२ गते त्यता जान लागेका छन् । ‘सनहिल’ नामक कम्पनीले निरन्तर सिनेमा रिलिज गर्ने सोचका साथ पहिलो पटक यो सिनेमा रिलिज गर्न लागेको हो । ‘यसले निर्मातालाई ८ देखि १० लाख रुपैंयासम्म दिन सक्छ, यो राम्रो कुरा पनि हो’ उनले भने ।
चलचित्र ‘छबिलाल कञ्जुुस छैन’को प्रदर्शन माघ १३ गते गोल्डेन प्लाजा नामक हलमा हुने तयारी भएको छ । यसपछि निरन्तर रुपमा महिनामा एकपटक यहाँ सिनेमा रिलिज हुनेछन् । यो कम्पनी नायक सुमन सिहंका आफन्तहरुको हो । यसैले पनि पहिलो पटक सुमन अभिनित सिनेमा रिलीज हुन लागेको हुनसक्छ । तर, युएईएमा सिनेमा सेन्सरका लागि पि्रन्टमा हुनुपर्ने भएकाले पनि डिजिटल प्रविधिका सिनेमा भने प्रदर्शन हुन नसक्ने देखिएको छ ।
यसरी सुमिनाको क्रियाकलापले रुष्ट बनेका ज्ञानेन्द्र युएइमा पाएको बजारले मख्ख भने देखिएका छन् । नेपाली सिनेमाको बजार खोजिरहेको समयमा युएईमा शुरु भएको यो सिनेमा प्रदर्शनको तयारीले पक्कै पनि निर्मातालाई फाईदा गर्ने निश्चित छ ।

0 comments:

Post a Comment