'फेसबुक'को सिंगापुरमा सुटिङ

होम प्रोडक्सनको फिल्म 'फेसबुक'को सुटिङ गर्न सिंगापुर पुगेकी अभिनेत्री झरना थापा आइतबार काठमाडौं फर्किएकी छिन्। उनीसँगै फिल्मका निर्माता सुनिलकुमार थापा र निर्देशक सुरज सुब्बा 'नाल्बो' सहित १३ जनाको टोली पनि फर्किएको छ।
स्क्रिप्टले विदेशको दृश्य मागेपछि 'फेसबुक'को रोजाइमा परेको हो सिंगापुर। दुई गीत र केही दृश्यको सुटिङ सात दिनमा सकाउने योजनाका साथ त्यता गए पनि क्यामेरामा खराबी आएपछि बसाइ लम्बिएर ११ दिन पुगेको झरनाले बताइन्। 'उता बनाउने प्रयास गरे पनि सकिएन। नेपालबाट वायर नमगाई क्यामेरा नबन्ने भएपछि कुर्नुको विकल्प भएन,' उनले भनिन्, 'महँगो ठाउँमा बिना काम बस्नुपर्दा केही तनाव पनि भयो।'


सिंगापुरको पर्यटकीय क्षेत्रमा सुटिङ गर्न जाँदा त्यहाँका नेपालीले निकै अचम्म मानेको समेत अनुभव गरिन् झरनाले। 'ओहो नेपाली फिल्मको पनि सिंगापुरमा सुटिङ! भनेर रेस्पोन्स देखाउँदा इज्जत बढेको जस्तो लाग्दो रहेछ,' फिल्मलाई नौलो रूप दिन यस्तो प्रयास गरेको बताउँछिन् उनी।

युनिटमा ४० भन्दा बढी सदस्य, हिरोइनलाई छाता ओढाउने छुट्टै जनशक्ति, कुर्सीसहित 'स्ट्यान्ड बाइ' स्थल सहयोगी जस्ता सुविधाबाट भने सिंगापुरको सुटिङमा बिमुख रहिन् झरना। १३ जनाको टोलीले सबै काम धान्नुपर्दा आफ्नो मात्र होइन अरुको काममा समेत सहयोग गरेको उनले लुकाइनन्।

'त्यहाँ सानो-ठूलो भन्ने भावना नै रहेन। काम राम्रो गर्न सबैले सबै खाले काम गरियो। न हिरोइनले झोला बोक्नु हुँदैन भन्ने भावना ममा पलायो न त अरू सदस्यले नै आफ्नो मात्र काम गरे। रियल टिमवर्कको अनुभव गर्‍यौं,' उनले भनिन्। सहरी परिवेश, 'आइडियल लोकेसन', त्यहाँको जीवनशैलीलाई फिल्ममा उतारेको उनको भनाइ छ।

बिहान ५ वजे उठेर ७ बजे नै सेट तयार पार्ने 'फेसबुक' टोलीले त्यहाँको गर्मी र झरीलाई समेत झेल्नु पर्‍यो। सिंगापुरमा जस्तै छिटो काम गरे ३० दिनमा सुटिङ सकिने झरनाको हिसाब छ। बाँकी सुटिङ काठमाडौं, लुक्ला र पोखरामा हुने उनले जानकारी दिइन्।

फिल्मको बजेट ६० लाख नकटाउने योजना छ। 'विदेशमा सुटिङ गर्दैमा लागत १ करोड कट्ने होइन। यहाँ अनावश्यक खर्च धेरै गरेर फिल्मको बजेट बढी बताउने चलन छ,' राम्रो व्यवस्थापन गर्न जाने सस्तोमा राम्रो फिल्म बनाउन सकिने दाबी गरिन् झरनाले।
फिल्ममा सञ्जय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको फाइट र सुनिल बर्देवाको संगीत छ। राजेश हमाल, सुनिल थापा, सुवास थापा, गणेश सापकोटालगायतका कलाकारले अभिनय गरेको फिल्ममा स्वतन्त्रप्रताप शाहले नयाँ प्रस्तुतिका रूपमा अभिनय गरेका छन्। झरनाका पति सुनिलकुमार थापाले 'धर्म संकट', 'गोर्खाली', 'ए मेरो हजुर' र 'तकदीर' नामक फिल्म निर्माण गरेका छन्। सबैमा झरनाको मुख्य भूमिका छ।


फिल्मले राम्रो व्यापार नगरिरहेको अवस्थामा निर्माण थाल्नुको कारणबारे झरनाले भनिन्, 'लामो समयदेखि यो क्षेत्रमा लागेको नाताले अप्ठ्यारो परिस्थितिमा पनि प्रयास गर्नु हाम्रो कर्तव्य हो।'

0 comments:

Post a Comment