'मायानगरी'मा पूरा हुँदै मधु सपना

साथीहरू लिपस्टिक घोटेर बरालिँदा मधु बास्तोला कलमसँग रमाउँथिन्। मनको कुरा लेखिहाल्ने एउटा पागलपनले मधुलाई सानै उमेरमा छोप्यो। सीमापारिबाट आउने कमिक्स, उपन्यास र म्यागेजिनका ठेली हजम गरेपछि मधुलाई हिन्दीको रस पस्यो। उनको कलमबाट शब्दहरू हिन्दी नै पैदा भए। कथा लेख्ने पागलपन मधुको लागि साहस प्रदर्शन गर्ने अवसर बन्यो। १९ वर्षकै उमेरमा पोखराबाट मुम्बई आइन् र बलिउडको युद्ध मैदानमा होमिइन्।राम्रो लाउने मिठो खाने उमेरमा उनको रोजाइ बनिदियो ‘खस्रो' मुम्बई।बलिउडको महासागरमा सुरुमै लेखकको काम पाउन सजिलो छैन। त्यही भएर मधुले पहिलो खुड्किलोको रूपमा टेलिसिरियलमा सहायक निर्देशकमै चित्त बुझाइन्। 'जय माता की' र 'दीवारे' सिरियलमा उनी सहायक भइन्।
त्यसपछि सहायक निर्देशकको रूपमा उनको कार्यसूची निकै थपियो। 'देश मे निकला होगा चाँद', 'साका लाका बुम', 'हिपहिप हुर्रे', 'तुम बिन जाउँ कहाँ', 'जमिन से आसमान तक', 'नागिन' जस्ता सिरियलबाट उनी गुजि्रन््। यो अवधिमा अरूणा इरानी र नरेश मल्होत्रा जस्ता निर्देशकका सहायक हुने अवसर उनलाई मिल्यो। विपाशा बसु, आफताब शिवदासिनीले खेलेको फिल्म 'जाने होगा क्या'मा उनी मुख्य सहायक निर्देशक थिइन्।

टेलिसिरियलमा निर्देशकभन्दा क्रियटिभ हेड बढी हावी हुन्छ। यस्तो हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने मौका उनले गुमाइनन्। 'अदा', 'काजल', 'दुल्हन', 'सास बिना ससुराल' जस्ता सिरियलका क्रियटिभ हेड कुनै समय उनी थिइन्। 'तर हाकिम बनेर काम गर्न मलाई मन लागेन र सबै छाडिदिएँ,' मधुले भनिन्, 'त्यो अवधिमा बालाजी, युटिभी लगायत धेरैजसो कम्पनीमा काम गरियो।'
धेरै काममा जुठो हालेर तनावको जिन्दगी जिउने रहर मधुलाई छैन। त्यसैले अहिले महुवा च्यानलका लागि भोजपुरी सिरियल 'दुलहिन ऊहे जे ननद मन भावो'को स्त्रि्कप्टमात्र लेखिरहेकी छिन्। हप्तामा पाँच दिन प्रसारण हुने यो सिरियल उनी बिहान ९ देखि साँझ ५ बजेभित्र लेख्छिन्। 'जति दुःख वा भागदौड गर्नुपर्ने हो, गरियो, कमाइ पनि हुन्थ्यो तर आत्मसन्तुष्टि भएन,' मधु मस्त छिन्, 'धेरै प्रोडक्सन हाउसले क्रियटिभ डिपार्टमेन्टमा बोलाइरहेका छन् तर म जान्न। एउटामात्र काम भए गुजारा चल्छ।'
त्यसो भए उनको यात्रामा पूर्णविराम लागेकै हो? 'बिल्कुल होइन,' उनले झटपट नकारिन्, 'अब म बलिउडको फिल्म निर्देशन गर्ने तयारीमा छु।' पोखरामा उनले मुम्बई गएर फिल्म लेख्छु भन्दा कसैले पत्याएनन् होला। तर, अहिले परिस्थिति बदलिएको छ। उनको यो निर्देशन गर्ने योजनामाथि धेरैलाई भरोसा छ।
गोरेगाउँ वेस्टको मेगा मलपछाडिको अपार्टमेन्टमा बस्ने मधुले बहिनी र ८० वर्षे बुबालाई समेत सँगै राखेकी छिन्। बहिनीलाई उनले एडिटर बनाई बलिउडको बाटोमा डोेर्‍याइसकेकी छिन्।
गत वर्ष एउटा हिन्दी फिल्म निर्देशन गर्ने अवसर उनीसँग ठोक्किन आइपुग्यो। तर, आर्थिक संकटले सुटिङमा जाने बेला निर्माताले हात झिके, फिल्म बनेन। 'त्यो क्षण साह्रै नमिठो भएको थियो, तैपनि हरेस खाएको छैन,' मधु आत्मविश्वासी छिन्।
दुई महिनाअघि पोखरा आउँदा मधुले 'सपना' र 'एक दिन एक रात' फिल्म हेरिन्। स्वदेशी फिल्मसँग अपडेट रहन उनी चाहन्छिन्। किनभने उनीसँग कुनै दिन नेपाली फिल्म निर्देशन गर्ने रहर छ। आफै लगानी गरेर भए पनि यो रहर पूरा गर्ने सुर छ। 'सपना फिल्म परम्परागत लाग्यो भने, एक दिन एक रातमा चाहिँ कलाकारका क्याजुयल अभिनय मन पर्‍यो,' मधुले टिप्पणी गरिन्।
पञ्चायतकालीन स्थानीय नेता चन्द्रबहादुर बास्तोलाकी छोरी मधुले महेन्द्रपुलका धेरै पात्रहरू बिर्सिन् होला तर पुराना नेपाली फिल्मका गीत मनमा राखेकी छिन्। फुर्सदमा तिनै गीत सुन्छिन्। नयाँ नेपाली फिल्मका गीतले लोभ्याएको छैन रे।
फिल्म निर्देशन गर्ने सपना देख्नेहरू कम्तीमा तीनवटा 'स्त्रि्कप्ट' बोकेर हिँड्छन् भनिन्छ। मधुसँग चाहिँ पाँचवटा 'स्क्रिप्ट' छ। जेमा पहिले पैसा मिल्छ त्यही आइडियामा काम गर्ने उनको सोच हो।
मुम्बईमा साथी बनाउने वा कसैको पछि लाग्ने फुर्सद कहाँ हुन्छ र? फिल्म र सिरियलको कामले यति व्यस्त भइन् कि उमेरले ३० नाघे पनि उनले बिहेको लागि समय निकाल्न सकेकी छैनन्। 'बढी अन्तर्मुखी छु, त्यसैले नयाँ साथी बनाउन र गतिलो काम पाउन मुश्किल भइरहेको छ,' मधुले सहरको प्रवृत्ति बुझाइन्, 'यहाँ आफ्नो बारेमा आफैंले बढाइँचढाइँ गर्नुपर्छ, अरूले भनिदिँदैनन्।'
अटो चढेर मुम्बई यात्रा गर्दा मधुलाई आनन्द लाग्छ। बलिउडलाई यही अटोसँग तुलना गर्न सकिन्छ। दुवैमा 'लक' जोडिएको देख्छिन् मधु, 'भीडभाडमा बलिउडको काम र अटो भेट्टाउन लक चाहिन्छ।'
मुम्बईको कठिन जीवनशैलीले मधुको स्वभाव जुझारु त बनिसकेको छ तर फिल्म निर्देशनको लक्ष्य तुरुन्तै हासिल हुन्छ भन्न सकिँदैन। उनी आफैं स्विकार्छिन्, 'सजिलो छैन, त्यसैले संघर्ष अझै चलिरहेको छ।'

0 comments:

Post a Comment