आजदेखि 'कालापानी' र 'मसान'

नेपाल चलचित्र विकास बोर्डले विशेष फिल्मको दर्जा दिएको 'कालापानी'ले पनि शुक्रबार देशव्यापी रिलिजको पालो पाएको छ। निखिल उप्रेती, दिलीप रायमाझी, ऋचा घिमिरे, सञ्चिता लुइँटेल, झरना थापा, सुशीला रायमाझी, गणेश उप्रेती लगायतले फिल्ममा अभिनय गरेका छन्।उद्धव अविदित निर्देशित फिल्ममा सीमा अतिक्रमण र भूमि कब्जा सम्बन्धी कथा छ। सुरेश अधिकारीको संगीत रहेको फिल्मको निर्माण गुणराज राजभण्डारी, सन्तोष केसी र रामहरि श्रेष्ठले गरेका हुन्।केही वर्षअघि छायांकन सिद्धिए पनि लामो समयको प्रतीक्षापछि फिल्म रिलिज हुन लागेको हो। 
काठमाडौंमा मसान
गोपालप्रसाद रिमालको नाटकमाथि बनेको फिल्म 'मसान' शुक्रबारदेख राजधानीका करिब १९ हलमा रिलिज हुने भएको छ। नीर शाहको निर्देशन रहेको फिल्ममा राजवल्लभ कोइराला, केकी अधिकारी, नीता ढुंगाना, सुभद्रा अधिकारी, श्याम राई, दीपक क्षेत्रीलगायतले अभिनय गरेका छन्।२००२ सालको सेरोफेरोमा आधारित नाटकलाई फिल्ममा पनि सोही रूपमा उतारिएको निर्देशक शाहको भनाइ छ। डायमन्डशमसेर राणाको उपन्यास 'वसन्ती'माथि फिल्म बनाएको १० वर्षपछि शाहले यो फिल्म निर्देशन गरेका हुन्। कृतिमाथि फिल्म बनाउन चाहने शाहले ध्रुवचन्द्र गौतमको कृति 'कट्टेल सरको चोटपटक'माथि 'बासुदेव' बनाएर निर्देशनमा हाल हालेका थिए। 'अभिनय गर्दा विषय नछाने पनि फिल्म भने आफूलाई मन परेको साहित्यिक कृति र ऐतिहासिक विषयमा बनाउन चाहन्छु,' उनले बताए।

0 comments:

Post a Comment