'बच्चा लिएरै सुटिङमा जान्थें'

मौसमी मल्ल, अभिनेत्री- 'सुटिङ शुरु भइसकेपछि कृष्टि मैनालीले फिल्म नखेल्ने भइन्। तिमी काम गर्छौ?' फिल्म '२५ बसन्त' सह अभिनेत्रीको रोल पाएकी मैले त्यो अफर स्वीकार नगर्ने कुरै थिएन। दुई वच्चाको आमा भइसकेकी थिएँ। घरमा जिम्मेवारी पनि निकै थियो। तैपनि श्रीमानले नै मलाई फिल्म खेल्न उत्साहित गराउनु भयो। र, पहल पनि।एभरेष्ट कल्चर सोसाइटीबाट सांस्कृतिक कार्यक्रममा मात्रै कलाकारिता देखाउन पाएकी मलाई 'भाग्यरेखा' यो क्षेत्रमा स्थापित गराउने फिल्म हो। निर्देशक दीपक रायमाझीको पनि पहिलो फिल्म थियो। भर्खरै अध्ययन सकाएर आउनु भएको काममा खुब जोसिलो हुनुहुन्थ्यो उहाँ।
त्यतिवेला फिल्म खेल्न पाउनु ठुलो कुरा थियो। त्यसैले म पनि एकदमै 'एक्साइटेड' थिएँ।फिल्ममा अफर त आयो तर कसरी काम गर्ने भन्ने केही ज्ञान थिएन। फिल्मको लागि भनेर छुट्टै प्रशिक्षण पनि केही हुँदैनथ्यो। नाटक र नृत्य गर्दै आएको अनुभवको आधारमा मैले काम गरें।करिब ३० दिनको सुटिङ पोखरा र चितवनमा भयो। यी ठाउँमा सुटिङ हुनु नै मेरोलागि खुशीको कुरा थियो। चितवन माइती र पोखरा घर भएकाले वच्चाको रेखदेख गर्न समस्या परेन। कहिले उनीहरुलाई पनि सुटिङमै लैजान्थें। साथीहरुले पनि माया गर्थे।पहिला म खेलाडी हुँ। नारायणी अञ्चलबाट सहभागी भएर राष्ट्रिय स्तरको एथलेटिक्स प्रतियोगितामा जीत हात पारेपछि मेरो विहे भएको हो। त्यसपछि खेल क्षेत्रबाट विदा भएँ। मलाई फिल्मको हिरोइन बन्नु रहेछ फिल्मको ढोका खुल्यो।१७ वर्षको उमेरमा फिल्म खेलेको। त्यो उमेरमा पैसाको के मोह हुन्थ्यो र? रहरको लागि काम गरेको पैसा पनि प्रशस्तै पाएँ। फिल्म सुरू हुनु केही हप्ता अघि नै मेरो घरमा 'भाग्यरेखा' स्क्रिप्ट पुगेको थियो। मलाई त स्त्रि्कप्टको ज्ञान नै थिएन। यसो ओल्टायो, पल्टायो केही बुझे पो! पछि निर्देशक रायमाझीले नै सिन र शटको बारेमा बताउनु भयो। कस्तो ठाउँमा के गर्ने भनेर सम्झाउनु भयो।म निर्देशकले बताए बमोजिम काम गर्दै गएँ। अरु निर्माता/निर्देशक पनि सुटिङ हेर्न आउँदा रहेछन्। मेरो अभिनय र नृत्य मन परेकै कारण पाँच जना निर्माताले 'भाग्यरेखा'कै सुटिङ स्थलमा आएर उहाँहरुको फिल्ममा लिने सम्झौता गर्नुभयो। फिल्म खासै नवन्ने त्यो समयमा अभिनेत्रीको ठुलै महत्व थियो।फिल्ममा लागेपछि पारिवारिक जीवनमा केही तनाव सुरू हुन थालेका थिए। तैपनि सकेसम्म परिवारलाई समय दिने कोशिस गरें। 'भाग्यरेखा' मा अभिनय गर्नु १५ वर्षकै 'कान्छी' फिल्ममा छोटो रोल पाएकी थिएँ। शर्मिला मल्ल हिरोइन हुनुहुन्थ्यो। म भने बालकलाकार थिएँ। फिल्ममा नाच्ने बालबालिका चाहिएको रहेछ। काम सकिएपछि चकलेट खाउन भनेर चार सय दिए।'भाग्यरेखा'को सुटिङ सकाएपछि 'भुमरी' 'तिलहरी', 'मायालु'लगायतका फिल्म खेलें। २०४० तिर 'भाग्यरेखा'मा काम गरेको ०५० सालसम्म आईपुग्दा एक लाख पारिमिक लिने भइसकेकी थिएँ। झण्डै ६२ फिल्ममा अभिनय गरिसकेकी छु।
अभिनेत्री मल्लसँग स्मृति ढुंगानाले गरेको कुराकानीमा आधारित
 साभर :नागरिक

0 comments:

Post a Comment