अवार्डमा रेखा र आर्यनको जुहारी

फिल्म 'कसले चोर्‍यो मेरो मन'बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएपछि राजधानीमा बुधबार आयोजित कार्यक्रममा रेखा थापाले भनिन्, 'म मेरा दुई हिरोलाई धन्यवाद दिन चाहन्छु।' फिल्ममा उनको हिरो आर्यन सिग्देल रहेको सबैलाई थाहा थियो।'तर, दुई हिरोको नाम कसरी आयो?' रेखाले तुरुन्तै कुरा खुलाइन्, 'मेरा हिरोहरु हुन् सबिर श्रेष्ठ र छवि ओझा।' उनले फिल्मसँग सम्बन्धित थुप्रैको नाम लिए पनि आर्यनलाई सम्झिएनन्।सोही फिल्मबाटै उत्कृष्ट अभिनेताको अवार्ड पाए आर्यनले। 'धन्यवाद रेखा, मलाई नसम्झिएकोमा,' आफ्नो पालोमा उनी बोलिहाले। र, दर्शकले रुचाएसम्म सधैं विजय हात पार्न सकिने बताउँदै उनी स्टेजबाट बिदा भए। फिल्मक्षेत्रको भव्य कार्यक्रममा यी हिरोहिरोइनले आफ्नो शीतयुद्धको आफैंले पर्दाफास गरे।छायाँछविले अयोजना गरेको कार्यक्रममा 'कसले चोर्‍यो मेरो मन'ले उत्कृष्ट फिल्मसहित सबिर श्रेष्ठलाई नव निर्देशकको अवार्डसमेत दिलायो। यही फिल्मबाट सुरेश अधिकारी (संगीत), किरण खरेल (गीत), राजु शाह (नृत्य) र निर्जल श्रेष्ठ (कला)ले समेत अवार्ड पाए।'बाटोमुनिको फूल'ले सुरज सुब्बालाई निर्देशकको अवार्ड दिलायो। उनले यही फिल्मबाट पटकथाको अवार्ड पनि पाए। यही फिल्मबाट बाबु बोगटीले सहअभिनेताको अवार्ड पाए। सहअभिनेत्रीको रूपमा नन्दिता केसी र यश कुमारलाई नव अभिनेताको अवार्ड दिलायो फिल्मले।फिल्म 'श्रीमान'बाट नवल नेपालले निर्देशकको जुरी अवार्ड पाए। फिल्म 'ठेगाना'ले क्रिटिक अवार्ड प्राप्त गर्‍यो। यसका निर्देशक रामशरण पाठकले संवादमा समेत अवार्ड पाए। अभिनेता राजेश हमालले 'छायाँछवि च्वाइस अवार्ड' पाए। उनलाई अभिनेत्री करिश्मा मानन्धरले अवार्ड दिएकी थिइन्। कल्याण घिमिरे र पूजना स्त्रीलाई फिल्म 'श्रीमान'बाट पब्लिक च्वाइस अवार्ड मिल्यो।'दुलही'की सुमिना घिमिरेले नवअभिनेत्रीको एवार्ड पाइन्। 'ब्याच नं. १६'का अर्पण थापा खलनायकमा रूपमा उत्कृष्ट भए। चरित्र अभिनेतामा गणेश उप्रेती (ठेगाना), चरित्र अभिनेत्रीमा मिथिला शर्मा (मनमनै मन पराएँ) उत्कृष्ट रहे। छायाँकार पुरुषोत्तम प्रधान र सम्पादक सुरेन्द्र पौडेललाई 'ब्याच नं. १६'बाट अवार्ड मिल्यो। शिव परियार (श्रीमान) र प्रकृति गिरी (बाटोमुनिको फूल)लाई पहिलो फिल्मी गायनले नै उत्कृष्ट बनायो।कृष्ण भट्टराईलाई छायाँछवि पत्रकारिता सम्मान प्रदान गरिएको कार्यक्रममा 'मायाज बार' फिल्मको मुहूर्त र 'मालतीको भट्टी' तथा 'हाम्रो माया जुनीजुनीलाई' फिल्मका गीत विमोचन गरियो।

0 comments:

Post a Comment