व्रेनफेल भएको फिल्म 'व्रेकफेल'

व्रेकफल भएको कथामा चलचित्र बनाएपछि क्षतिग्रस्त हुने निश्चित छ यस्तो घडीमा पशुपतिनाथले यस चलचित्रका निर्माताहरुलाई धैर्यधारण गर्न शक्ति दिऊन । बुँदा १ : यस चलचित्र हेर्न जाँदा तपाईँ आफ्नो दिमाग व्रेनलाई घरको सेफमा थन्काएर जानुहोला नत्र चलचित्र हेरिसक्दा नसक्दै व्रेनफेलको समस्याबाट ग्रसित हुनुहुनेछ । त्यसकारण यसपक्षमा बडो सतर्कता अपनाउनुहोला । बुँदा २ : बुँदा नं. १ लाई यस चलचित्र हेर्ने आधार मानेपछि चलचित्र अवधिभर तपाईँ कतिपय ठाउँहरुमा मज्जाले हाँस्न पाउनुहुनेछ । कतै द्धिअर्थी संवादले कतै चलचित्रका पात्रले गरेको उरन्ठाउलो व्यवहारले र कतै हँसाउनैका लागि भनेर लादिएका दृश्यहरुले तपाईँलाई हाँस्न बाध्य बनाउनेछन् । यी दृष्टिकोणबाट हेर्दा हँसाउनैका लागि बनाइएको चलचित्रले हँसाउन सक्नु चलचित्रको सफलता पनि हुनसक्दछ । तर चलचित्र सकिँदा सकिँदै दर्शकले हाँसोभित्र खोक्रोपन पाउँदा भने हाँसो फितलो र खल्लो भएको अनुभूति हुन जान्छ । बुँदा ३ : चलचित्र प्राविधिक पक्षमा भने केही हदसम्म सशक्त रहेको अनुभूति गर्न सकिन्छ । छायांकनको काम चलचित्रको अरु पक्षभन्दा धेरै अगाडि छ जसलाई पाश्र्वसंगीतले धेरै हदसम्म सहयोग गरेको छ र पाश्र्वगायनले चलचित्रलाई गुनगुनाउन पनि मद्दत पुर्‍याएको छ । तर, सम्पादनको पक्षमा भने सृजनात्मक पक्षभन्दा पनि जोड्ने र काट्नेमा मात्र सीमित रहेको छ । कतिपय दृश्यलाई अनावश्यक लम्बाउँदा कतिपय ठाउँमा हाँसो रोदनमा परिणत हुने अवस्थाको सिर्जना भएको छ । त्यस्तै श्रृङ्गारको पक्षमा चलचित्रमा नायिकालाई भद्दा रुपमा प्रस्तुति भएको छ जसलाई बेलाबेलामा पचाउनै सकिँदैन । बुँदा ४ : पुराना र स्थापित मानिएका दुई नायक र नायिकाको तुलनामा नयाँ र संघर्षरत युवा कलाकारहरुको अभिनय प्रस्तुतिमा सहजता र लयात्मकता देखिएको छ । यस चलचित्रको सबैभन्दा कमजोर पक्ष यस चलचित्रकी नायिका हुन् जसको अभिनयमा कहिँपनि सहजता र सरलता महसुस गर्न सकिँदैन र चलचित्रमा त्यसको अभाव स्पष्ट झल्किन्छ । राजेश हमाल सँधै राजेश हमालमात्र देखिन्छन् पर्दामा उनी पात्रै बन्न सकेका छैनन् । उनी दिउँसभर भारी बोकेर थकित भएका भरियाजस्तै भएर क्यामेराका अगाडि उभिन र बोल्नमात्रै आएकोजस्तो देखिन्छ तर नयाँ कलाकारहरु विशेषतः सुवास थापाले आफ्नो पात्रमाथि गरेको मिहेनतले दर्शकहरुसँग एक किसिमको सम्बन्ध गाँस्न भने सफल देखिन्छ । बुँदा ५ : चलचित्र यस्तै बनाउनुपर्छ र यस्तै हुनुपर्छ भन्ने कुनै ठोस लाहाछाप कहिँ छैन । जसले जुनसुकै विषयमा जस्तो तरिकाले पनि गराउन सक्छ । तर एउटा सर्वमान्य सत्य के छ भने त्यो चलचित्र विभिन्न समाजका विभिन्न वैचारिक, आर्थिक, शैक्षिक, वर्गीय मनोविज्ञान बोकेका दर्शकले हेर्नेछन् । जोसँग सोच्न महसुस गर्नका साथसाथै विश्लेषण गर्न सक्ने क्षमता र अधिकार सुरक्षित रहेको हुन्छ । यसर्थ कुनैपनि विषयवस्तुको संरचनात्मक विकासमा मानवीयकरण र सामाजिकरण आजको अति आवश्यक अवधारणा भैसकेको छ । त्यसैले चलचित्र बनाउने क्रममा सोचको विकासदेखि नै निर्देशकीय मनोविज्ञानको स्पष्टताः र संवेदनशिलता आवश्यक ठहर्छ । यस चलचित्रमा निर्देशकीय मनोविज्ञान 'जे गर जसो गर दर्शकहरुलाई अल्मलाऊ र हँसाऊ' मात्रमा संवेदनहिन ढंगले सीमित हुँदा दर्शक अल्मलिन्छन् । यसरी कि दर्शक चलचित्रमाथि नै हाँस्न बाध्य हुन्छन् । पटकथामा रहेको घटनाक्रमको विकासमा 'जोड र लम्ब्याऊ' नीतिले केवल एउटा संरचना मात्र बनेको छ । तर त्यसले एउटा स्पष्ट कथाको स्वरुप पाउन सकेको छैन । तर पर्दामा जे हुँदैछ त्यो किन हुँदैछ जसरी हुँदैछ त्यो त्यसरी किन हुँदैछ भन्नेमा दर्शक धेरै ठाउँमा अल्मलिन्छन् । कल्पना गर्नुस तपाईँ एउटा व्रेकफेल भएको गाडीको प्यासेन्जर हुनुहुन्छ र गाडी भीरको बाटो हुँदै ओरालो झर्दैछ अब तपाईँ त्यस्तो अवधीभर जे सोच्नुहुनेछ र महसुस गर्नुहुनेछ त्यस्तै अनुभूति त्यो चलचित्रको प्यासेन्जर भएर सवा दुईघन्टा दर्शकको सिटमा बसिरहनुभएको अवस्थामा तपाईँले गर्नसक्नुहुनेछ । अब तपाईँ आफै निर्णय गर्नसक्नुहुन्छ । यात्रामा तपाईँ उक्त व्रेकफेलको गाडीमा सवारी गर्नुहुनेछ या अर्को व्रेक सकुशल भएको गाडी रोज्नुहुनेछ ।नेपालको राजनीतिमा बेला-बेलामा भएको १२ बुँदे, सात बुँदे, पाँच बुँदे आदि बुँदे सहमतिको उपज हाम्रो देश आजको अवस्थामा आइपुगेको छ जसको हविगत व्रेक नभएको गाडीजस्तै लथािलंग भएको छ र यस्तो अवस्थामा अर्को लथािलंग र व्रेकफेल कथा हेर्न धैर्यता नेपाली जनतासँग पक्कैपनि नहुन सक्दछ । निष्कर्षमा चलचित्र निर्माण व्यक्तिगत स्वार्थको उपजबाट माथि उठेर सामाजिक स्वार्थ र राष्ट्रिय स्वार्थको प्रतीक बन्न सकेको खण्डमा धेरै भन्दा धेरै जनताबाट स्वीकार पाउन सकिन्छ भन्ने मूल मन्त्र अवलम्बन गर्दा नेपाली चलचित्रले व्रेकफेलको समस्याबाट जोगिन सक्दछ । व्रेकफल भएको कथामा चलचित्र बनाएपछि क्षतिग्रस्त हुने निश्चित छ यस्तो घडीमा पशुपतिनाथले यस चलचित्रका निर्माताहरुलाई धैर्यधारण गर्न शक्ति दिऊन । नोट अफ डिसेन्ट : चलचित्रको समीक्षा गर्ने क्रममा थुप्रै चलचित्रहरु हेरिसकेपछि नेपाली चलचित्रका महानायक मानिएका कलाकार राजेश हमालको बारेमा एउटा नोट अफ डिसेन्ट लेख्न बाध्य भएको छु । नेपाली चलचित्रका लागि राजेश हमालको ठूलो योगदान हुनेछ यदि उनले चलचित्रमा अभिनय गर्न छाडे भने । र, यसले उनको प्रतिष्ठालाई पनि जोगाउनेछ । राजेश हमाल केवल एक व्यक्ति मात्र नभएर संस्था भैसकेको हुँदा यस नोट अफ डिसेन्टलाई सिर्जनात्मक ढंगबाट सबैले ग्रहण गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछौं ।

0 comments:

Post a Comment