'चपली हाइटको संवाद सेन्सरलाई नपच्न सक्छ'

फिल्मको नाम सुन्ने बित्तिकै धेरैले सत्य घटनामा आधारित ठान्दारहेछन्। त्यसैले 'चपली हाइट' फिल्मका निर्माता अर्जुनकुमार त्यस्ता जिज्ञासुहरूलाई स्पष्टीकरण दिँदादिँदा हैरान भएका छन्। उनले शुक्रबार फिल्मको सुटिङ समापनमा समेत प्रष्ट पारे, 'कृपया नझुक्किनुहोला, मेरो फिल्मको कथा काल्पनिक नै हो।'उनी काठमाडौंस्थित चपली हाइटसँग फिल्मकोसरोकार नै नभएको चाहिँ भन्दैनन्। 'फिल्मको धेरै घटना चपलीमै हुन्छ,' उनले भने, 'तर फिल्ममा चपलीमात्र होइन पोखराका दृश्य समेत छ।उनले अघिल्लो फिल्म 'द युगदेखि युगसम्म'कै निर्देशक दीपेन्द्र के खनाललाई यसमा दोहोर्‍याएका छन्। 'उनको काम मन परेर, फेरि काम गरेको हुँ,' उनले भने।फिल्ममा नयाँ हिरोइन बिनिता बरालको मुख्य भूमिका छ। बिनिताका कतिपय दृश्यले गर्दा सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिने हो कि भन्ने चिन्ता अर्जुनको छ। 'यो एडल्ट फिल्म होइन, तर सर्टिफिकेट एडल्ट नै पाउनसक्छ, संवाद पनि सेन्सर बोर्डलाई नपच्न सक्छ,' अर्जुनले जनाए। फिल्ममा अमिर गौतम र राज घिमिरे दुई हिरो छन्। दुई हिरो र एक हिरोइनबीचको त्रिकोणात्मक सम्बन्धमा फिल्म बनेको छ।प्रेम, सस्पेन्स र थ्रिलर समेटिएको तर यो हरर फिल्म नभएको खुलाउँछन् निर्देशक दीपेन्द्र। ४५ दिनमा फिल्मको सुटिङ सिद्धिएको हो। सुटिङमा भएका कामप्रति दीपेन्द्र सन्तुष्ट छन्।सुटिङ समापन समारोहमा निर्माता अर्जुनकुमारले अर्को फिल्म 'पहिलो माया' निर्माण गर्ने घोषणा समेत गरे। त्यसको स्क्रिप्ट तयार भइसकेको बताउँदै उनले 'चपली हाइट'को रिलिज मंसिर ९ मा गर्ने लक्ष्य रहेको सुनाए।

0 comments:

Post a Comment