डुब्लिकेट कलाकार डुब्लिकेटकै भाउमा

नेपाली बजारमा डुब्लिकेटको बिगबिगी छ । गुँदपाक, दूध, जुस, मदिरा, मसलामा मात्रै होइन नेपाली फिल्म क्षेत्रमा पनि मिसावट र नक्कलीपन हावी पाइन्छ । खसीको टाउको देखाएर बाख्रीको मासु बेच्नेहरू सलबलाइरहेको वेलामा नेपाली फिल्ममा भएको विदेशी फिल्म, गीत, धुन, अभिनय, नृत्यको मिसावटमा सरकारले कहिल्यै छापा मार्ला-नमार्ला तर अर्काको स्थापित नाम भजाएर चम्कन खोज्ने नक्कलीहरूको दर्शकले भने दोहोलो काढेका छन् । नेपाली फिल्म उद्योगमा त्यस्ता कलाकर्मी पनि छन् जो आफूलाई चर्चित सेलिब्रेटीसँग जोडेर नाम कमाउन चाहन्छन् । अनि केही हदसम्म दर्शकश्रोताको आँखामा छारो हाल्न सफल पनि भएका छन् । नेपाली फिल्म तथा संगीत क्षेत्रमा धेरै त्यस्ता स्वनामधारी 'सेलिब्रेटी' छन्, जो आफ्नोभन्दा अरूको नामबाट चिनिन चाहन्छन्, चिनिएका छन् । अर्थात् उनीहरू आफूलाई फलानो विदेशी गायक, हिरोजस्तो ठान्छन् । र, त्यही नाम भजाएर स्थापित हुन खोज्छन् । तर, अनुहार कताकता उस्तै लागेको भरमा हिरो बन्नेहरू नराम्रोसँग पछारिएका छन् ।पपगायक धीरज राई आफूलाई नेपाली माइकल ज्याक्सन भन्छन् । उनलाई अरू कसैले नेपाली माइकल ज्याक्सन भनेका होइनन् । उनी आफंैले आफूलाई नेपाली माइकल ज्याक्सन घोषणा गरेका हुन् । उनले आफूलाई नेपाली माइकल ज्याक्सन भन्दै दर्शकश्रोतामाझ प्रस्तुत हुने गरेका छन् । धीरज स्टेजमा माइकलले जस्तो नाच्दै गाउन खोज्छन् । दर्शकले स्वस्फूर्त रूपमा ताली नबजाएपछि ताली बजाइदिनका लागि जबर्जस्ती अनुरोध गर्छन् । धीरजले आफूलाई नेपाली माइकल ज्याक्सन घोषणा गरेको धेरै भइसक्यो । उनले आफ्नो नामको अगाडि नै नेपाली माइकल ज्याक्सन धीरज राई लेख्ने गरेका छन् । धीरजले दिवंगत माइकल ज्याक्सनको नाम कहिलेसम्म भजाइरहने हुन्, यसै भन्न सकिन्न । अभिनेता दिनेश शर्मा एकताका बलिउड नायक सलमान खानको नेपाली संस्करणका रूपमा चिनिन्थे । चट्याङ खेलेपछि टुहुरो फिल्ममा आइपुग्दा दिनेशले आफ्नो नामै फेरे । उनले आफ्नो नाम आशीष राखे । झट्ट हेर्दा सलमान खानझैं देखिने गरेका दिनेश त्यतिवेला सलमानकै स्टाइल अनुशरण गर्न खोज्थे । कालान्तरमा उनी हिरो हुँदै भिलेन अनि चरित्र अभिनेताका रूपमा देखापर्न थाले । नेपाली सलमान खानका रूपमा चिनिने दिनेशले आफ्नो हिरोइज्म स्थापित गर्न सकेनन् । ज्वाला फिल्मका सहनायक अमित ढुंगानालाई सौदागर फिल्मको हिरो विवेक मुश्रानको नेपाली संस्करणका रूपमा लिइन्थ्यो । अमित पनि आफूलाई विवेक नै ठान्दथे । ज्वालामा सहनायक भई अभिनय गरेपछि हिरो बन्नका लागि आफैंले फिल्म निर्माण गर्नुपर्‍यो । माया नमार फिल्म निर्माण गरेर आफूसहित भाइ रमित ढंुगानालाई पनि हिरो बनाएका अमित नक्कली विवेक मुश्रानकै रूपमा रहे । अर्थात् उनले हिरोको रूपमा आफूलाई स्थापित गर्न सकेनन् । बलिउडमा विवेक नचलेझंै कलिउडमा अमित चलेनन् । माया नमारपछि उनी पुनः फिल्ममा देखिएका छैनन् । निर्देशक प्रकाश सायमीनिर्देशित अवतार फिल्मबाट पर्दामा देखापरेका सीमान्त उदास भारतीय नायक ज्याकी श्रापको डुब्लिकेटका रूपमा कहलिन्छन् । अवतारपछि हतियार, रानीखोला, द कमान्डोलगायतका फिल्म खेलेका सीमान्तले हिरो बनिरहनका लागि आफैंले फिल्म बनाउनुपर्‍यो । उनी शुभकामना नामक फिल्म निर्माण गरेर आफैं हिरो बने । तर, शुभकामना फ्लप भयो । त्यसपछि उनले पुनः अर्काे फिल्म निर्माण गरेका छन्- मिसन नेपाल । पछिल्लोपटक ब्रेकफेल फिल्ममा छोटो भूमिकामा देखिएका यी डुब्लिकेट ज्याकी श्राप पनि नक्कली समानकै मूल्यांकनमा परेका छन् । नेपाली फिल्म क्षेत्रमा बलिउडका नायकहरूसँग अनुहारमिल्दा कलाकार पनि छन् । कोही अनुहार मिलेकै भरमा हिरो बन्ने धुनमा लागेका छन् त कोही आफूलाई जबर्जस्ती 'म फलानोजस्तो' भनेर चिनाउने गरेका छन् । रमेश बुढाथोकीनिर्देशित लगनगाँठो फिल्ममा सौरभ कार्कीले अभिनय गर्ने मौका पाए । त्यतिवेला उनी नेपाली बबि देओल भनेर कहलिएका थिए । एभरेस्ट क्यासिनोमा काम गर्ने सौरभले आफूलाई बबि देओलझैं ठाने र हिरो बन्ने धुनमा लागे । लगनगाँठोपछि उनले फेरि तिम्रो याद आयो नामक फिल्म हात पारे । त्यसपछि भने उनको हात खाली भयो । बीचमा करुणालगायतका टेलिशंृखलामा अभिनय गरेका सौरभको हाल बलिउडका बबिको झैं भयो । अर्थात् उता बबि जम्न सकेनन्, यता बबिको डुब्लिकेटका रूपमा चिनिएका सौरभ । उनी केहीअघि घमण्ड नामक भिडियो फिल्ममा देखापरेका थिए । बलिउडमा विवेक ओवरायको चुरिफुरी बढ्न नपाउँदै कलिउडमा जीवनसाथी फिल्मबाट हिरो बनेका नवीन श्रेष्ठको चर्चा चुलिएको थियो । उता विवेक हिरोका रूपमा स्थापित हुँदै गएपछि नवीनले आफूलाई विवेक ओवरायको नेपाली संस्करण ठाने । तर, नवीन केही फिल्ममा हिरो बनेर देखापरे पनि सफल भएनन् । गत वर्ष इलाका फिल्मकी सहनायिका मोनिका शर्मासँग बिहे गरेपछि नवीन पुनः फिल्ममा देखापरेका छैनन् । एकताका नेपाली अर्जुन रामपालका रूपमा चर्चा बटुल्न खोजेका विक्रान्त बस्नेत फिल्म लाइन छाडेर अमेरिका पलायन भए । नेपाली 'आमीर खानजस्तो' भनिने दीपर्शनजंग राणा पनि हिरोको रूपमा स्थापित हुन सकेनन् । नेपाली फिल्ममा बलिउडका अभिनेतासँग अनुहार मिल्दा र मिलेको ठानिने जति पनि अभिनेता छन्् उनीहरू कोही पनि कालान्तरमा सफल देखिएका छैनन् । अनुहार उस्तैउस्तै लागे पनि कलाकारिता, प्राप्ति भने मिल्ने गरेको छैन उनीहरूको । अभिनेता राजेश हमाललाई एकताका भारतीय अभिनेता मिथुन चक्रवर्ती र चंकी पाण्डेसँग अनुहार मिल्दो मानिन्थ्यो । सुरुका दिनमा मान्छेहरू हमाललाई मिथुन भनेर झुक्किने गर्दथे । नेपाली फिल्म उद्याेग्ामा अनुहार मिल्दा कलाकार थुप्रै छन् । तीमध्ये हालै रिलिज भएको मेरो राजेश दाइ फिल्ममा देखापरेका शीतल केसीलाई भने राजेश हमालको डुब्लिकेटको रूपमा हेरिन्छ । शीतल मेरो राजेश दाइमा अभिनेता राजेशको भाइ भई अभिनय गरेका छन् । कपाल, हिँड्ने, बोल्ने अनि हेराइको स्टाइल पनि हमालसँग मिल्दोजुल्दो भएकाले शीतललाई राजेश हमालको डुब्लिेटका रूपमा हेरिन्छ । शीतल भने आफू आफ्नै नामले चिनिन चाहने बताउँछन् । 'म आफ्नै नाम र कामले चिनिन चाहन्छु । राजेश दाइसँग मेरो तुलना गर्न मिल्दैन,' शीतल भन्छन्, 'उहाँ सर्वाधिक लोकपि्रय, चर्चित र स्थापित कलाकार हो । मैले त संघर्ष गर्न अझ धेरै बाँकी छ । ' अभिनेता सुनिल थापा र निर्देशक सोभित बस्नेतको अनुहार पनि उस्तैउस्तै लाग्ने गर्छ । कतिपयले थापा र बस्नेतलाई दाजु-भाइ पनि ठान्ने गरेका छन् । दुई निर्माता नायक सुरज आरडी र दिनेश थापाको अनुहार पनि मिल्दोजुल्दो छ । कतिपय दर्शक दिनेश र सुरजमा झुक्किने गरेका छन् । एकताका उषा पौडेललाई मनीषा कोइरालाको रूपमा हेर्ने गरिन्थ्यो । उषा पनि आफूलाई मनीषाकै रूपमा प्रस्तुत गर्न खोज्थिन् । मनीषा बलिउडमा स्थापित भई विस्थापित भइसकेकी छिन् भने उषा भने बलिउडमा स्थापित हुने सपना बुनेर मुम्बईमा संघर्षरत छिन् । नेपाली फिल्ममा डुब्लिकेटका रूपमा देखापरेका अभिनेता-अभिनेत्रीहरू कालान्तरमा डुब्लिकेटसमानकै भाउमा पुगेका छन् । आफ्नो मौलिकतामा भन्दा अरूको देखासिकीमा लाग्नाले अनुहार मिले पनि आफूलाई नेपाली संस्करण ठान्नेहरूले सफलता भने हात पार्न सकेका छैनन् ।

0 comments:

Post a Comment