ब्रेक फेल, ट्रायल पास!

दुई लक्का जवान (निरज बराल र विमलेश अधिकारी)का ढुकढुकी। फोटो पत्रकार (सुवास थापा)की निकट साथी। एक बुटिककी अत्याधुनिक ड्रेस डिजाइनर। जो (ऋचा घिमिरे) नेता र व्यापारीलाई समेत छायाँमा पारेर समाचारमा छाउने प्रख्यात समाजसेवी (राजेश हमाल)लाई पाउने सपना देख्छिन्। र, भ्यागुते गाडी (बिटल्स) घुइँक्याउँदै सहर चहार्छिन्। ऋचा के होइनन्? उनी फिल्म 'ब्रेक फेल'की केन्द्रविन्दु हुन्। हरेक पात्र उनीसँग नजोडिई पूर्ण हुँदैनन्। फिल्मलाई उनले यति धेरै आफू केन्द्रित बनाएकी छिन्, लाग्छ १० वर्षको करियरमा कसैले पनि ऋचाको 'प्रतिभा' चिन्न सकेनछन्। र, उनलाई बु‰न निर्देशक शंकर घिमिरे नै चाहियो, जो उनका पति हुन्। ब्रेक फेल'को एक्सप्रेस यात्रामा ऋचा कतै छुट्दिनन्। कुनै दृश्यमा उनी ओझेल परिन् भने पनि अर्कोमा उनको जोडदार उपस्थिति भइहाल्छ। फिल्मको सबै गीत उनको एकलौटी छ। कहिले उनी आफ्नो सपनामा नाच्छिन्, कहिले अरूले आफ्नो सपनामा नचाउँछ। स्थिति जे होस् ऋचा निर्विकल्प हिरोइन। २ घन्टा १५ मिनेटको फिल्ममा थकाइ नमारी देखिरहने यी हिरोइनको धेरै कला थाहा भए पनि उनको परिचय कतैै खुल्दैन। 'क्यारेक्टर बायोग्राफी'को मेसो नपाउँदा यति लामो फिल्म पनि अपूर्ण लाग्छ। उनी एउटा बुटिककी डिजाइनर हुन्। ऋचाको जम्माजम्मी परिचय यत्ति नै हो। उनको पृष्ठभूमि के हो? कहाँ बस्छिन्? कस्तो परिस्थितिमा गुजि्ररहेकी पात्र हुन्? ड्रेस डिजाइनर किन बनिन्? यी भने फिल्म सकिँदा पनि अनुत्तरित रहने प्रश्न हुन्।अरु पात्रमा पनि खट्किने समस्या हो यो। सुवासको हकमा भने विदेशको जीवनभन्दा नेपालमै फोटोग्राफी गर्ने पात्रको रूपमा उभ्याउन खोजिएको छ। तर, उनी कुन संस्थाको फोटोग्राफर हो कहिल्यै खुल्दैन। निरज र विमलेशको अवस्था उस्तै नाजुक छ। विदेश जाने पैसा जम्मा गर्न उनीहरुले ठगीको बाटो अपनाएका छन्। लवाइ, बसाइ, हिँडाइमा गजबको ठाँट देखिने यी दुईले ठगीको बाटो किन अपनाए फिल्मले बताउन सक्दैन। यस्ता कमजोरीले जगबिना नै घर ठड्याउने प्रयत्न गरेजस्तो लाग्छ। जसले दिनेश न्यौपानेको स्त्रि्कप्ट दुर्बल तुल्याउँछ। आफ्नो गाडी चोरेर भाग्नेलाई पक्रन ऋचा पुलिसको सहायता लिन्नन्। बरु 'मैयाँको नाच' देखाएर आफैं पक्रिने तरिका रच्छिन्। र, सहरिया ऋचा सुदूरपश्चिमको भाका 'राई झुमा'मा कम्मर मर्काउन थाल्छिन्। उनको प्रयत्न खेर जाँदैन। निरज र विमलेश ऋचाको चंगुलमा सजिलै पर्छन्। समाजसेवाको खोल ओढेर नक्कली नोटको कारोबार गर्छन् राजेश। निरज र विमलेश सुटिङ छाडेर भाग्ने क्रममा राजेशको छापाखानामा पुग्छन्। पैसासहित राजेशको लकेटसमेत हात पारेपछि पुलिसको आँखा छल्न ऋचाको गाडीमा उनीहरु टाप कस्छन्। अब, राजेश, ऋचा र पुलिसकै मिसन बन्छन् दुई युवक। यसै क्रममा ऋचाले आफ्नो आदर्श पुरुष राजेशलाई भेट्ने मौका पाउँछिन्। 'म टाढाबाट देख्दा मात्र राम्रो हुँ। आफ्नै नजिककोलाई अपनाऊ' भन्ने राजेशको दिव्य वाणीले उनलाई प्रभावित तुल्याउँछ। त्यसपछि उनी सिधै लाग्छिन् निरजको बाटो। आफूलाई अपनाउन निरज तम्तयार छ भन्ने भेउ ऋचाले कसरी पाइन्? फिल्मले यस्ता प्रसंगलाई वास्ता गरेको छैन। जुन दर्शकले खोज्ने कुरा हो। ऋचालाई नपाएको पीडामा रन्थनिएका विमलेशलाई डक्टरले निको पार्न सक्दैनन्। तर, ऋचाको एक 'किक'ले ठिक ठाउँमा ल्याउँछ। कमेडीका नाममा राखिएका यस्ता प्रसंगले फिल्मलाई स्तरीय बनाएको छैन। जग्गा दलालको प्रवेशले फिल्म निर्माणमा ल्याएको विकृतिलाई 'ब्रेक फेल'ले सतहमा ल्याइदिएको छ। हिरोइन हुन निर्मातालाई खुशी तुल्याए पुग्ने हर्कतलाई पनि फिल्मले महŒवका साथ उठाएको छ। कस्तो मनोविज्ञानले प्रेरित भएर निर्माताहरु फिल्म बनाउँछन् भन्ने विषयलाई हिरोइनले बनाएको फिल्मले धज्जी उडाएको छ। 'लाइट कमेडी' बनाउने धुनमा यो फिल्म केवल सतहमा दौडिएको छ। दर्शकको कयौं जिज्ञासा मेटाउन सक्दैन। फिल्ममा पात्रको प्रवेश गराएपछि टुंगोमा पुर्‍याउनु पर्ने नियम यसले मिचेको छ। राजेश जेल जान्छन्, ऋचा र निरजको जोडी बन्छ। तर, सुवास र विमलेशलाई बेवारिसे बनाइएको छ। यी कमजोरीका खातसँगै 'ब्रेक फेल'को सकारात्मक पक्ष के हो भने यसले समय सापेक्ष हुने प्रयत्न गरेको छ। नेपाली फिल्ममा कहिल्यै नछुट्ने र स्वभाविकता भन्दा धेरै परका कोरस डान्स, उडन्ते फाइटआदिमा यसले नियन्त्रण गरेको छ। प्रविधिक रूपमा फिल्मको स्तर 'मेन्टेन' गर्न खोजेको छ। विगतमा आइटम डान्स, अंग प्रदर्शन र 'सो पिस'मा खुम्चिएकी ऋचालाई मन खोलेर अभिनय गर्न कसैले रोकेको छैन। पुरानो छविलाई बदल्न उनले मेहनत गरेकी छिन्। 'विष' र 'वीरताको चिनो' जस्ता असफल फिल्मको सूची पेश गरेका शंकरले तुलनात्मक रूपमा राम्रो काम देखाएका छन्। यसको बलियो पक्ष हो छायांकन। राजुविक्रम थापाले हरेक शटमा देखाएको मेहनत प्रष्टै बुझिन्छ। रेनाशा राईको कोरियोग्राफीले फिल्मी गीतको पुराना सुत्र तोडेको छ। फाइटलाई स्वभाविक देखाउने प्रयत्न सानो कुमारले गरेका छन्। फिल्म : ब्रेक फेल निर्देशक : शंकर घिमिरे लेखक : दिनेश न्यौपाने कलाकार : राजेश हमाल, ऋचा घिमिरे, निरज बराल, सुवास थापा, विमलेश अधिकारी, ममता प्रधान, पुष्कर भट्ट आदि

0 comments:

Post a Comment