यौनका विषयमा खुलेर कुरा गर्न सकिएला ?

किशोरकिशोरीमा उत्साहः अरुमा संकोच
हिजोआजका ठिटाठिटी अर्थात किशोर किशोरी यौनका विषयमा कुरा गर्न त्यति संकोच मान्दैनन् । स्कूल, क्याम्पसको कोर्समा समेत पढ्नुपर्ने भएकाले यससम्बन्धी जिज्ञासा र कुरा हुनु स्वभाविक पनि हो । त्यसमाथि एचआईभी एड्स लगायतका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायले यसबारेमा खुलेर कुरा गर्न प्रेरित पनि गर्दै आएका छन् । तर यौन शिक्षा अर्थात यौनका बारेमा खुलेर कुरा गर्न उनीहरुले दिएको प्रेरणा सबै ठाउँमा लागू भएको छैन । यौन शिक्षाको क्षेत्रमा काम गर्ने जानकारहरुका अनुसार किशोर किशोरीले यौनको बारेमा खुलेर कुरा गर्न सक्ने भएपनि धेरै अझै संकोच मान्छन् । विद्यालयमा प्रजनन शिक्षा पढाउने शिक्षक शिक्षिकाले समेत लाज मानेर त्यो च्पाप्टर पढाउँदैनन् । कतिपय ठाउँमा विद्यार्थी आफैंले पढेर जाँचमा उत्तर दिनुपर्ने बाध्यता छ । किशोर किशोरी तथा युवा वर्गलाई लक्षित गरी नेपाल रेडक्रस सोसाइटी र रेडियो अडियोले यूएनएफपीएको सहयोगमा गरेको ‘बृहत यौनिकता शिक्षाः हिजो, आज र भोलि’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यौनिकता शिक्षालाई सहज रुपमा स्वीकार्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रामकृष्ण महर्जनले यौनिकता शिक्षाका विषयमा नेपाल अन्य देशभन्दा अगाडि रहेपनि यसको विषयमा राज्यको बजेट न्यून रहेको बताउनुभयो । शिक्षा विभाग पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक डा. बालकृष्ण रञ्जितले बौद्धिक जमात समेत यौनका विषयमा संङकीर्ण रहेको बताउनुभयो । उहाँले किशोर किशोरी र युवा वर्गलाई यौनिक शिक्षाकाबारेमा जानकारी दिन २०५६ सालमा विद्यालय तहको पाठ्यक्रममा यौनिक शिक्षाका विषयवस्तु राखेपनि विरोध गरी हटाउन दवाव दिएको गुनासो उहाँले गर्नुभयो । तर आधुनिक समाजको परिवर्तनसंगै युवाहरुले नै माध्यामिक तहको पाठ्यक्रममा यौनिकताको शिक्षाको माग गरेपछि पाठ्यक्रम विकास केन्द्र यो वर्षदेखि कक्षा ६ बाट यौनिकता शिक्षालाई समावेश गरी स्वास्थ्य तथा जनसंख्या अनिवार्य विषय समावेश गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा रेडक्रस सोसाइटीका कार्यकारी प्रमुख उमेश प्रसाद ढकाल, कार्यक्रम अधिकृत बालकृष्ण सेढाईं र सञ्चारकर्मी दीपेन्द्र खनियाले लगायतकाले वर्तमान नेपाली समाज र यौनिकता शिक्षाका लागि युवाहरुलाई जागरुक बनाउनुपर्नेमा
जोड दिए । यौनका विषयमा नेपाली समाज अझैपनि खुला हुन नसकेको र यौन शिक्षालाई गलत रुपमा हेर्नेहरु समेत रहेकाले यसलाई व्यवस्थित गर्नुपर्ने उनीहरुको भनाई थियो । यो पिढीलाई समाज तथा राष्ट्रले यौनका विषयमा सही सूचना दिन नसकेको खण्डमा दुर्घटना निम्तिने सम्भावना पनि उत्तिकै छ । विगतको समाज भन्दा आजको समाज निकै आधुनिक सूचना प्रविधिका कारण निकै परिवर्तनशील छ । जसले किशोर तथा युवाहरुलाई यौनका विषयमा सु-शुचित तुल्याउन बाध्य बनाएको छ । के छ अवस्था ? त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रामकृष्ण महर्जनले यौनिकता शिक्षाः हिजो, आज र भोलिको विषयमा बँुदा नै तयार पार्नुभएको छ । हिजो · यौनिकता शिक्षालाई सहज रूपमा स्वीकार्न सक्ने अवस्था थिएन । · वि. सं. २०५६ देखि नेपालको विद्यालय पाठ्यक्रममा स्वास्थ्य शिक्षाअन्तर्गत यौनिकता शिक्षालाई समावेश गरेको थियो । · यौनिकता शिक्षा अध्यापनको लागि शिक्षक तालीम र अध्यापन सहज थिएन । · पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक समेत यौनिकता शिक्षा सम्बन्धमा सकारात्मक देखिएन । · यो समस्या संयुक्त राज्य अमेरिका जस्तो विकासको चरम विन्दूमा पुगेका राष्ट्रमा पनि देखेका थिए । · सन् २००० ताका अमेरिकी कङ्ग्रेसले सन् १९९८ देखि २००२ सम्म प्रत्येक वर्ष ५ करोड डल्लरका दरले संयमतामा आधारित यौनिकता शिक्षामा खर्च गरे । विवाहपूर्व वा पर स्त्री परपुरुष गमनलाई निरुत्साहित पार्ने र यौनसम्पर्कबाट टाढा रहनु नै एक मात्र अनिच्छित गर्भ रहनुबाट बच्ने र यौन प्रसारित र एचआईभी सङ्क्रमणबाट बच्ने बलियो आधारको रूपमा लिन थालियो र विद्यार्थीहरूलाई पनि त्यही दिशामा अध्यापन गर्न थालियो । · जर्ज डब्ल्यू बुस प्रशासनले संयमतामा आधारित यौनिकता शिक्षाको वकालत गर्दै सन् २००३ मा १२ करोड डल्लरको बजेट स्वीकृत गरी मुलुकभर यो शिक्षालाई लागू गर्ने प्रयास गरे । त्यति मात्र नभई त्यो वर्ष ५ करोड डल्लर त विवाह नहुँदासम्म संयमतामा आधारित यौनिकता शिक्षा प्रदान गर्ने कानुन बनाउनुमैं खर्चिन थाले । · संयमतामा आधारित यौनिकता शिक्षाको प्रबर्धनको लागि थुप्रै प्रयासहरू गरिए । विभिन्न सङ्घ संस्थाहरूले पनि संयमतामा आधारित यौनिकता शिक्षाको लागि आर्थिक स्रोत जुटाउने प्रतिवद्धता देखाए । यसको प्रभाव अन्य दातृ राष्ट्रमा पनि पर्न गयो । · ठूलो धनराशी खर्च गरेर ल्याएको कार्यक्रमले विवाहपूर्व गरिने यौनसम्पर्कलाई कम गर्न सकेन, किशोरीहरूको गर्भधारण गर्ने क्रमलाई पनि कम गर्न सकेन र एचआईभी सङ्क्रमणलाई पनि रोक्न सकेन । · अल्पज्ञान र सूचनाको कारण देखापरेका समस्यालाई सुल्झाउनका लागि यौन तथा प्रजनन अधिकारवादी, महिला र लैङ्गिक अधिकारवादी, स्वास्थ्य अधिकारवादी सङ्घहरूले यी समस्यालाई समाधान गर्ने प्रमुख मन्त्र भनेकै बैज्ञानिक र व्यावहारिक शिक्षा भन्दै आÏनो पैरवीलाई अगाडि सारे । · नेपाल सरकार शिक्षा मन्त्रालय, उच्चमाध्यमिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयले किशोरकिशोरीका यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयवस्तुलाई विद्यालय, उच्च माध्यमिक तह र क्याम्पस तहका पाठ्यक्रमहरूमा पुरै वा आंशिक रूपमा लागू गरिसकेको छ । · नेपाल परिवार नियोजन सङ्घले बृहत् यौनिकता शिक्षा शिक्षक सन्दर्भ सामग्री र शिक्षक तालीम सामग्री लगायत साथी शिक्षासँग सम्बन्धित अध्ययन सामग्री निर्माण गर्ने, युवाहरूलाई परिचालन गरी दौतरी शिक्षामार्फत सचेतना कार्यक्रम चलाउने र विविध किसिमका यौनिकतासम्बन्धी शिक्षण सामग्री उत्पादन तथा वितरण गर्दै आएको छ । · नेपाल परिवार नियोजन सङ्घ, यूएनएफपीए, शैक्षिक जनशक्ति विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र तथा विभिन्न गैर सरकारी सङ्घसंस्थाहरूले शिक्षक तालीम दिने गरेको छ । आज · गैर सरकारी सङ्घहरूको समन्वय समितिको पहलमा भएको पैरवी कार्यक्रम, स्वास्थ्य तथा शारीरिक शिक्षाका विद्यार्थीहरू र प्राध्यापकहरूको आन्दोलनले विद्यालय तहबाट लगभग हटाउन खोजेको स्वास्थ्य शिक्षा विषयलाई यथावत कायम गर्न सफल भएको छ । · कक्षा ६ देखि ८ सम्म र कक्षा दशमा बृहत् यौनिकता शिक्षा समावेश भएको छ । · शिक्षाशास्त्र सङ्कायको स्नातकोत्तर कार्यक्रममा बृहत् यौनिकता शिक्षाको एउटा छुट्टै पत्र राखिएको छ । · मध्य पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको स्नातक कार्यक्रममा बृहत् यौनिकता शिक्षाको एउटा छुट्टै पत्र राखेको छ । · विद्यालयहरूमा स्वास्थ्य शिक्षा शिक्षकको व्यवस्था भएको छैन । · यौनिकता शिक्षा अध्यापन गर्ने शिक्षकले पर्याप्त किसिमले अध्यापन गर्न सकेका छैनन् । · बृहत् यौनिकता शिक्षासम्बन्धी अध्ययन सामग्री पर्याप्त मात्रामा उपलब्ध छ । · विवाहपूर्व यौन सम्पर्क गर्ने प्रवृत्ति बढेको छ तर सुरक्षित यौन व्यवहारबारे आवश्यक ज्ञान र सीपको कमी छ । सुरक्षित यौन व्यवहारसम्बन्धी सीपको खाँचो छ । भोलि · गैर सरकारी सङ्घहरूको समन्वय समितिको क्रियाकलाप, विद्यार्थीहरू र प्राध्यापकहरूको आन्दोलनलाई निरन्तरता दिनुपर्छ ता कि योजनाकारहरू विषयसँग सम्बन्धित निर्णयहरू गर्न बाध्य होस् । · विद्यालयमा सम्बन्धित विषय शिक्षकको दरबन्दी सिर्जनामा विशेष पहल गर्नुपर्ने देखिन्छ । · औपचारिक शिक्षामा मात्र बृहत् यौनिकता शिक्षालाई अगाडि बढाउँदा विद्यालय नजानेहरूका लागि सम्बोधन नहुने भएकोले अनौपचारिक शिक्षामा पनि यसलाई समावेश गरी लग्नुपर्ने देखिन्छ । · अध्ययन सामग्रीको उपलब्धताले मात्रै विद्यार्थीहरूको अभिवृत्तिर व्यवहारमा परिवर्तन ल्याउन सक्दैन त्यसैले शिक्ष तालीममा विशेष जोड दिनुपर्छ । · विवाहपूर्व यौन सम्पर्क गर्ने प्रवृत्ति बढेको छ तर सुरक्षित यौन व्यवहारबारे आवश्यक ज्ञान र सीपको कमी छ । सुरक्षित यौन व्यवहारसम्बन्धी सीपको खाँचो छ ।

0 comments:

Post a Comment