कलाकारको दशैं, गाउँदेखि विदेशसम्म

राजेश हमाल 
बिगत ७ बर्षदेखि मैले दशैं अमेरिकामा नै मनाउँदै आएको छु । यसपटक पनि दशैं र तिहारका लागि म अमेरिका आइसकेको छु । दशैं मेरो खासै उमंगका साथ बित्दैन । दशैंको टिकाको दिनमै मेरो आमाको श्राद्ध पनि पर्ने भएकाले खासै उमंग हुँदैन । अहिले अमेरिका भएकाले पनि दिदी बहिनीसँग रमाइलोसँग बित्ला भन्ने आशा छ । तर दशैं मेरो निकै मनपर्ने पर्व हो । बच्चा बेलामा त खुबै रमाइलो गरेको अनुभव छ मसँग । पिङ खेल्ने, टिका लगाउन ठाउँ ठाउँमा जाने गरिन्थ्यो । फेरि आफ्नो परिवार पनि नभएकाले खासै उमंग र उल्लास नलाग्ने रहेछ । तर दशैंको माहोल र रमाइलो खुवै लोभलाग्दो छ । दशैंमा जुन खालको उत्साह छ, त्यो साह्रै मन पराउँछु म । यो पर्व सधैं नै निरन्तर रुपमा अगाडि बढ्नुपर्छ भन्ने लाग्छ मलाई ।
आर्यन सिग्देल
मलाई त दशैं सुरु हुनुभन्दा १५ दिन अघि र सकिएको १५ दिन पछि मात्र खास दशैं लाग्छ । म यो पर्वमा आफूलाई धेरै नै एक्लो महशुस गर्छु । सबै साथीभाइ घर जाने भएकाले दिक्क पनि लाग्छ । तर केही दिन कामबाट विश्राम लिँदै ममी, ड्याडीलाई समय दिन पाइने भएकाले पनि दशैंको महत्व छ जस्तो लाग्छ । म सानैदेखि नै चाडपर्वमा त्यति धेरै रमाउँदिन । दशैंं भन्ने बित्तिकै माछा मासुको कुरा त आइहाल्छ । तर म खसीको मासु खासै खाँदिन । कुखुराको मासु दशैंमा अझ धेरै खान मन लाग्छ । हामी कलाकार भएकाले पनि सपिङ त सधैंजसो गर्नैपर्छ, यसैले पनि दशैंमा विशेष सपिङ गरेको छैन । तासजुवामा रुची कहिल्यैपनि लागेन । तर घरमा समय बिताउन खेल्ने भनेको छुट्टै हो ।

दयाहाङ राईः 
कलाकार हुनुअघि र भैसकेपछिको दशैंमा खासै भिन्नता पाएको छैन ।
नेपालीहरुको महान चाड भएकाले पनि म बिशेष रुपमा मनाउँदैछु । बिदेशमा यसपटक कुनै पनि कार्यक्रम परेका छैनन् । बाल्यकाललाई याद गर्ने हो भने दशैंमा म फूटबल खेल्न दौडन्थें । सबैजना भेला हुने समय भएकाले पनि होला फूटबल खेलेर रमाइलो गर्न खुबै मजा आउँथ्यो । तर अहिले भने साथीभाइसँग रमाइलो गर्ने, आफन्तकोमा जाने नै मुख्य कुरा भयो । यसैले पनि कहिलेकाहीँ त दशैं केटाकेटीका लागि मात्र हो कि जस्तो लाग्छ ? दशैंमा तास खेल्दैखेल्दिन भन्ने होइन । तर हारजित भन्दा पनि रमाइलोको लागि खेल्ने हो । ३ हजारम्म जितेका र हारेका रेकर्डहरु धेरै नै छन् । माछामासु त मलाइ नभइ हुदैन । खान मन लागेजति शरिरले थामेजति खाइन्छ भन्नु पर्यो । दशैं मात्र होइन कुनै पनि चाडपर्व माछामासु विना त अपुरै लाग्छ मलाइ ।
सुमिना घिमिरेः 
दशैंको सुरुवातमै घर जाने योजना भएपनि स्टार फिल्मको छायांकनले केही पर सर्यो । कात्तिक ४ गते म आफ्नो घर सुर्खेत जाने तयारीमा छु । सुर्खेतमा मेरो हजुरआमा हुनुहुन्छ, उहाको हातबाट टिका थाप्ने छु । बाल्यकालको जस्तो दशैं त ठुलो भएपछि नहुने रहेछ । सानोमा पैसा आउछ भनेर पनि सबैको घरमा टिका लगाउन गइन्थ्यो । नयाँ कपडा किनिदिदा सबै साथीभाइलाई लगाउँदै देखाउन गाउँ चाहरिन्थ्यो । तर अब त्यस्तो बेला रहेन । पैसाका लागि भन्दा पनि आशीर्वादका लागि टिका थाप्न जान्छु म । आफन्तकोमा गयो, भेटघाट गर्यो, आखीर दशैंको रमाइलो यही नै हो ।
शम्भुजित बाँस्कोटाः
आम नेपालीहरुले सम्मानका साथ दशैं मनाउछन् । म पनि एक नेपाली नै भएकाले दशैं सम्मानका साथ मनाउने तयारीमा छु । दशैंको महत्व विशेषगरी आफन्तहरुसँग भेटघाट हुने, थकान मेट्न पाइने भएकाले पनि बढेको हो । हुन त माछामासु खानका लागि दशैं नै कुर्नपर्छ भन्ने अहिले छैन । तर पनि दशैंमा खाएको माछामासुको महतव नै अर्कै हुन्छ । परिवारसँग बसेर तास सामान्य रुपमा खेलिन्छ ।
रेश मरहट्ठाः 
दशैं शब्द आफैंमा खुबै रमाइलो लाग्छ मलाई । फेरि लामो समयपछि यसपटक आमासँग घरमै दशैं मनाउने तयारी भएकाले पनि म खुबै उत्साहित छु । दशैं बाल्यकालमा जस्तो रमाइलो ठूलो भएपछि नहुने रहेछ । किनकी बाल्यकालमा नयाँ लुगा लगाउने, टिका लगाउँदै पैसा बटुल्ने भन्ने हुन्थ्यो । तर ठूलो भएपछि साथीभाइसँग भेट्ने, रमाइलो गर्ने भन्ने नै मुख्य रहेछ । मलाइ दशैंमा कुखुराको मासु खान खुबै मन लाग्छ । यति उति भन्नु भन्दा पनि प्रशस्त मासु खाइन्छ । ममी घरमा नै भएकाले ललितपुर झम्सिखेलमा नै म दशैं मनाउने तयारीमा छु ।
नन्दिता के.सी: 
दशैं मनाउनका लागि म आफ्नो घर अर्घाखाँची आइसकेको छु । घरमा सबैजना भएकाले पनि खुबै रमाइलो भइरहेको छ । हाम्रो परिवारमा त फेरि तास पनि राम्रैसँग जम्ने भएकाले यसको आनन्द नै बेग्लै छ । तर अचम्म के छ भने तासमा मैले कहिले पनि हारेको छैन । दशैं भन्ने बित्तिकै कामबाट फुर्सद पाइन्छ । यसैले पनि परिवारसँग बसेर रमाइलो गर्ने, माछामासु खाने, टिका लगाउने चाड हो दशैं । सानोमा हुँदा नयाँ कपडा ढल्काउँदै टिका लगाएर हिंडेको याद आउँछ । तर ठूलो भएपछि आफन्त र परिवारसँग रमाइलो गर्नु नै मुख्य कुरा हो ।
नम्रता श्रेष्ठः 
आमालाई भेट्न यसपटकको दशैंमा दार्जिलिङमा जाने योजना भएपनि सिनेमाको कामले गर्दा जान पाइन । दार्जिलिङ जान नपाएपछि काठमाडौंमा नै यसपटकका दशैं वित्ने निश्चित छ । कलाकार भैसकेकाले गर्दा पनि सपिङका लागि दशैं नै कुर्नु पर्दैन । सानामा मनाएको दशैंका दिनहरु अझै पनि याद आउँछन् । सानोमा लेहंगा, कुर्ता लगाएर टिका लगाउन आफन्तकोमा पुग्दा मख्ख पर्थें । अहिले भने क्याजुअल पहिरनमा नै टिका थाप्न आफन्तकोमा जान्छु । दशैंमा तास खेल्दै खेल्दिन भन्ने होइन । अरु त खासै खेल्न आउँदैन तर म्यारिज खेल्दा भने मजा लाग्छ । बर्ष दिनमा एकपटक मात्र खेल्ने भएकाले पनि म तास खेल्न माहिर छैन । अरु त आम मानिसले जसरी मनाउँछन् म पनि उसैगरी मनाउँछु ।

दिपकराज गिरीः 
दशैंमा लुगा किनिदिदा घरका अरुलाई एक जोर भएपनि मलाई भने दुईजोर नै चाहिन्थ्यो । दक्षिणा पनि मलाई नै डबल नै चाहिन्थ्यो । सानोमा दशैं मनाउनुको मजा नै बेग्लै थियो । नयाँ कपडा किनेपछि अष्टमीको दिनमा बिहानै उठेर टोलका सबैलाई देखाउन पुग्थें । चंगा पनि खुबै उडाइन्थ्यो । आकाशमा उडिरहेको मेरो चंगा कसैले चेट गरिदियो भने लिनका लागि धान खेतमा पुग्नुपथ्र्यो । तर अहिले सबै कुराहरु गर्न कहाँ पाइन्छ र ? परिवार र आफन्तजनका पुग्यो टिका लगायो रमाइलो गर्यो ।
बाबु बोगटीः
यसपाली मेरो दशैं कतारमा हुने भो । टिकाको दिन पनि कतारमा नै हुन्छु म त । दशैं भन्ने बित्तिकै बाल्यकाल रमाइलो, घर पोत्ने, छानो छाउने, त्यो माहोल काठमाडौंमा छैन । वल्लो घर, पल्लो घर, लिङ्गे पिङ खुबै खेलिन्थ्यो । तर पिङ मच्चाउन भने मलाई निकै डर लाग्थ्यो । दशैंमा एकजोर कपडा किनिन्थ्यो । मासु धेरै हुन्छ । जहाँ गएपनि मासु र चिउरा दिने चलन हुन्थ्यो । तास त मलाई सानैदेखि आउँदैन पनि र रुची पनि लाग्दैन । कतै माहोल मिल्यो भने फरास खेल्थें । तर अहिले म खेल्दै खेल्दिन । जुवाको अड्डा खोज्दै हिँड्दिन ।

विनिता बरालः
नवमीको दिनमा हजुरबुबाको श्राद्ध परेकाले टीकाको दिन मात्र खसी ढालिन्छ । पूणिर्मासम्म खाने र रमाइलो गर्ने काम गरिन्छ । दशैंमा मेरो घर नजिकै नवलपरासीमा विशेष कार्यक्रम छ । दशैं मनाउन म आप\mनो घर चितवन पुगिसकेको छु । भाइहरुसँग धेरै नै खेल्छु म । लंगुरबुर्जा खेल्न खुब मन पर्छ मलाई । अहिलेसम्म धेरै नै जितेको छु मैले । मासु खान त म राक्षस जस्तै हो । बाल्यकालमा त दशैंको उमंग नै बेग्लै हुन्थ्यो । पहिले नयाँ लुगा लगाउने चलन हुन्थ्यो । तर अहिले खासै त्यस्तो छैन । रोंटे पिङ खेल्न त डर लाग्छ । तर सानो सानो पिङ त खेल्छु, म ।

0 comments:

Post a Comment