डेढवर्षपछि निखिलको कमब्याक

डेढवर्षपछि निखिल उप्रेती अभिनेताका रुपमा नेपाली सिनेमामा पुनरागमन गरेका छन् । पारिवारिक किचलोपछि उनी भारत हानिएका थिए जहाँ उनले स्काइ डाइभिङको तालिम र भोजपुरी सिनेमामा काम गरे । पारिवारिक स्रोतका अनुसार निखिल बुधबार बेलुका काठमाडौं फर्कँदैछन् र लामो समयको अन्तरालपछि नेपाली सिनेमालाई निरन्तरता दिँदैछन् ।सुमन दाहालले निर्देशन गर्ने अपकमिङ प्रोजेक्ट 'यो मन'मा निखिलले साइन गरेका छन् । अपोजिटमा नन्दिता केसी अनुबन्धित भएकी छिन् । नेपाल फर्किएपछि निखिलले गर्न लागेको यो पहिलो सिनेमा हो; यसअघि चलचित्र 'कसम' खेलेपछि उनी कान्छी पत्नी सन्चिता लुइँटेललाई लिएर मुम्बइ पुगेका थिए । निखिल अभिनित झन्डै दर्जन चलचित्र रिलिजको प्रतिक्षामा छन् यद्यपी फर्मुला श्रेणीको 'यो मन' उनको पहिलो कमब्याक सिनेमा हुनेछ ।अधिकांश छायांकन थाइल्यान्डमा गरिने सिनेमाका लागि चाँडै निर्देशक दाहाल निखिल र नन्दितालाई लिएर त्यसतर्फ लाग्दैछन् । भदौ १ बाट सिनेमा फ्लोरमा जानेछ । खासगरी एक्सन सिनेमामा रुचाइएका निखिल पछिल्लो वर्ष अभिनयभन्दा पनि पारिवारिक अस्थिरताले चर्चामा आए । कान्छी अभिनेत्री पत्नी सन्चिता गर्भवती भएर काठमाडौं बस्न थालेपछि निखिलको कमब्याकबारे गाइँगुइँ चलेको थियो ।

0 comments:

Post a Comment