स्वादिलो खुराक

खाना स्वादिलो हुन सामग्री मात्रै गतिलो भएर पुग्दैन । बरु सामान्य सामग्री नै किन नहोस् पकाई ठीक ढंगको भयो भने खान्की मीठो हुन्छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'किन लाग्छ माया' लाई निर्देशक गोपालचन्द्रले आफ्नै आसपास उपलब्ध सामान्य कथालाई नै पकाईमा न्याय गरिदिएकाले दर्शकका लागि एउटा गतिलो खुराक बनेको छ ।अविनाश श्रेष्ठको कथा/पटकथा रहेको फिल्मले दुई जोडीको प्रेमसम्बन्धलाई लिएर अघि बढेको छ । शिक्षित र सम्पन्न विशाल -राजवल्लभ) र डाक्टर हिमानी -गरिमा) बीचको प्रेम एकातिर छ भने छिमेकी गाउँमा कपर्दी प्रतियोगितालाई टोली लिएर पुगेको राजकुमार -शंकर) त्यहींकी राधा -झरना) सँग प्रेममा परेको अर्कोतिर छ । तर कथा भने जेलबाट छुटेको विशाल र इराकबाट पाँच वर्ष मजबुरी गरेर फिरेको राजकुमारको फ्ल्यास ब्याकबाट अघि बढ्छ ।
 कथा प्रस्तुति दर्शकलाई अड्काइरहन सक्षम देखिन्छ ।
 पर्वत र बागलुङ आसपासका क्षेत्रमा खिचिएको फिल्मले पश्चिमेली स्वाद पस्केको छ । संवाद, झ्याउरे भाका र हिमाली दृश्य उदाहरण हुन् । फिल्ममा स्वाद थप्न अभिनयले धेरै सघाएको छ । सम्पन्नदेखि टाट पल्टेको र लभरब्याईदेखि ट्राजिक चरित्रमा राजवल्लभले न्याय गरेका छन् । गतिलो अभिनयका हिसाबले 'किन लाग्छ माया' उनको नाम लिनुपर्ने मध्येको एक फिल्म बनेको छ । दर्शकलाई आफूमा होल्ड गराउन
राजवल्लभ सफल देखिएका छन् । प्रायः सबै पात्रको उपस्थितिलाई न्याय दिलाउन सकेको पटकथामा निर्देशकले नायिका गरिमाबाट पनि गतिलै काम लिन सकेका छन् । छोटा फिल्म हुँदै फिचर फिल्ममा हाम फालेका निर्देशक लामिछानेले पहिलो पाइलाले नै लामो गन्तव्यको छनक दिएका छन् । गीत, फाइट र रोमान्सकै त्रिवेणी रहे पनि फिल्म भद्दा हुनबाट जोगिएको छ । गुन्डाहरूलाई तह लगाउने डीएसपी जय सिंहको भूमिका पाए पनि निखिल धेरैबेर हावामा उडेर फाइट खेल्न पाएका छैनन् । फाइटलाई यथार्थ जस्तो देखाउने प्रयास सबै ठाउँमा सफल भने छैन । फिल्म चल्नुअघि नै चर्चा पाइसकेका गीतमा कोरियोग्राफीलाई नराम्रो भनिहाल्न मिल्दैन । खेल खेल्न छिमेकी गाउँ जाँदा आँगनमा अबेरसम्म झ्याउरे गाएर केटी फकाएको प्रसंगले गाउँले स्वाद दिइरहेका बेला तिनै पात्र पछि आधुनिक शैलीमा प्रस्तुत भई नाच्छन् । यसले फिल्म यथार्थ र फर्मुला शैलीको चेपुवामा परेको प्रस्ट्याउँछ । तर यथेष्ट प्लट/सबप्लटलाई बुन्न सकेको फिल्मले मूलधारका फिल्म रुचाउनेका लागि निराश पार्दैन । दीपक बज्राचार्यको छायांकन सफल देखिएको छ । संवाद सहज सुनिएको छ । गीत/संगीतमा स्थानीय स्वादलाई पस्कने सम्भावनालाई फिल्मले पूरै सदुपयोग गरेको छैन । समग्रमा, 'किन लाग्छ माया' प्रेम प्राप्तिको खुसी र गुमाउँदाको वेदना नै गोलचक्कर हो । बीचबीचमा निम्त्याइएका खलपात्र र तिनका हर्कत प्रेमसम्बन्धलाई समयानुसार खुकुलो र बजबुद बनाउन उत्प्रेरकको भूमिकामा छन् । खराब चरित्रको नाशसँगै सत्यको जितकै सनातन मान्यतामा टुंगिएको भए पनि फिल्मको क्लाइमेक्स अति सर्वसुलभ लाग्दैन । मूलधारका फर्मुला फिल्मको स्वाद मन पराउने दर्शकका लागि 'किन लाग्छ माया' हेर्नैपर्ने फिल्म हुन सक्छ ।
कान्तिपुर

0 comments:

Post a Comment