प्रीतिको फूलको सुगन्ध ठीकठीकै

लक्का जवान भएर पनि अर्जुन सकेसम्म ठगेर खान पल्केको छ, बाबुलाई टेरपुच्छर लगाउँदैन । फिल्म अभिनेत्री युना उप्रेतीको डाई हार्ट फ्यान अर्जुन ९राजबल्लभ कोइराला) आफ्नै गाउँकी गौरी (गरिमा पन्त) को मायालाई भने 'नजिकको तीर्थ हेला' जस्तो ठान्छ । युनाबाट आफ्नो धरातलको बोध भएपछि अन्ततः अर्जुन बदलिन्छ ।रेशराज आचार्य निर्देशित 'प्रीतिको फूल' गाउँले र सहरिया युवतीहरूसहितको त्रिकोणात्मक प्रेमकथा हो । आफ्नो मन खाएको अर्जुनले अभिनेत्री युनालाई नभेटी नछाड्ने अड्डी कसेपछि एकतर्फी मन पराइरहेकी गौरी हार मान्छे र पेवा गाई बेचेर बाटाखर्च दिई युना भेट्न अर्जुनलाई सहर पठाउँछे । संयोगले युनासँग अर्जुनको भेट सुटिङ भइरहेकै अवस्थामा हुन्छ । उसले आफू 'डाइहार्ट फ्यान' भएको बताउँदै अभिनेत्रीलाई अन्तर्वार्ता र फोटाहरूको कटिङ देखाउँछ ।तर व्यवहार क्रममा उसले नायिकालाई आफूले फिल्म, अन्तर्वार्ता र फोटोमा देखेजस्तो पाउँदैन । 'तिनीहरू भनेका एक छिनका आँखाका रमाइला मात्र हुन् । नाटक गर्ने नौटंकीको कुनै भर हुँदैन, जस्तो परिस्थिति आयो त्यस्तै नाटक गर्छन्,' अर्जुनले सहर पस्ने बेला गौरीले भनेको सम्झन्छ र गाउँ नै फर्किन्छ । नायिकाको व्यवहार मन नपरेर फर्किए पनि सहरले भने उसलाई पुनः फिर्ता बोलाउँछ । एउटा घटनामा स्टन्ट शैलीमा एक फिल्म निर्मातालाई बचाएबापत उसले फिल्म खेल्ने अवसर पाउँछ ।अर्जुन खोज्दै निर्माता र नायिका युना गाउँ पुग्छन्, अर्जुन भने गौरीको प्रेममा परिसकेको हुन्छ । पहिले खर्च हालेरै अर्जुनलाई सहर पठाएकी गौरी यसपटक भने राजी हुन्न । उता सहरकी अभिनेत्रीले पनि अर्जुनलाई आफ्नो बनाउन खोज्छे । 'अरू फूल र्झछ, ओइलाउँछ तर प्रीतिको फूल न र्झछ न ओइलाउँछ' भन्ने मूल भाव बोकेको फिल्मले कसको मायालाई प्रीतिको फूल बनाउँछ, यो थाहा पाउन चाहिँ सिनेमा हल नै जानुपर्ने हुन्छ ।ओमप्रकाश लिम्बूको कथालाई पटकथामा ढालेका राजकुमार शर्माले फिल्मको प्रस्तुतिलाई असहज बनाएका छैनन् । सामान्य कथामा फिल्मको कथा एकोहोरो नै भए पनि सरल शैलीमा बगेकाले हेरुन्जेल दर्शकलाई हजम नहुने दृश्य र विषयवस्तु कम छन् । नायक राजबल्लभ र उनका बाबुका रूपमा देखिएका राजाराम पौडेलबीचका संवादहरू स्वाभाविक र जीवन्त लाग्छन् । अभिनयको हिसाबले पनि दुई प्रशंसनीय छन् ।

फिल्मको अर्को सकारात्मक पक्ष हो संगीत । ताराप्रकाश लिम्बूले संगीतमा विविधता दिने प्रयास गरेका छन् । 'बधाई छ तिमीलाई ए हाम्रो अर्जुने...' गीत फिल्मकै ग्रामीण परिस्थितिमा बुनिएकाले पनि रमाइलो लाग्छ । बरु फिल्मका द्वन्द्वमा दिनेश सुनामको पाश्र्व संगीतले अपेक्षित उपस्थिति जनाउन सकेको छैन । नृत्यमा कविराज गहतराजले कुनै उल्लेखनीय काम गरेका छैनन् ।फिल्मको फितलो पक्ष यसको सम्पादन हो । छायांकन पनि खोटविहीन छैन । फिल्मको सम्पादन अनील गौतमले गरेका हुन् भने छायांकन रामप्रकाश प्रधानले । कतिपय फ्रेमहरू फोकस आउट नै छ् । भीरबाट फाल हानेकी युवतीलाई हेलिकप्टरमा बसेको युवकले च्याप्पै समात्नु, केबलबाट आउने टीभी च्यानलको प्रसारण एन्टेना चलाएर मिलाउनु, पहिले सहर आउन बजारसम्म हिँडेर आएको नायकलाई अर्को पटक गाडीमा गुडिसकेपछि उसका बाबु र बहिनीले घरबाटै हात हल्लाएर बिदा दिएको देखाइनु केही अपाच्य प्रसंग हुन् ।

यति हुँदाहुँदै 'प्रीतिको फूल' असुगन्धित भने छैन ।

प्रीतिको फूल

निर्देशकः रेशराज आचार्य

कलाकारः राजबल्लभ कोइराला, युना उप्रेती, गरिमा पन्त, राजाराम पौडेल

0 comments:

Post a Comment