गाउनभन्दा नाच्न गाह्रो

सन्तोष पोखरेल, पोखरा, चैत २९- ‘अभिनयमा नयाँ भए पनि नचाउन धेरै समस्या परेको छैन', फिल्म ‘वीर'मा गायक यशकुमारलाई नचाउने जिम्मा पाएका गोविन्द राईले भने, ‘अलिकति निहुरिनु पर्‍यो के।'अरु हिरोलाई भन्दा उनलाई नाच्न बढी सिकाउनु परेको भने राईले यशको अगाडि नै बताए। ‘अरुलाई एक पटक बताए पुग्ने कुरा यशलाई तीन पटकसम्म भन्नुपर्छ। तर, फाइनल टेक भने राम्रो भएको छ,' राईले भने।फेवाताल किनारको भिरालो पाखामा बल्लतल्ल खुट्टा अड्याउँदै हिरोइन रेखा थापा र यशकुमार चर्को घाममा नाच्दै थिए। दीपक श्रेष्ठको निर्देशनमा छायांकन भइरहेको ‘वीर'को गीत खिच्न पोखरा आएको टोली सुन्दर कम्पोजिसनको प्रयासमा थिए।सुरेश अधिकारीको संगीतमा ‘तिमीलाई म फूलजस्तो' गीतमा यश र रेखाको जोडी जमाउने प्रयत्नमा थिए राई।‘यशकुमारले दृष्टिविहीन रेखालाई मन पराएका छन्। रेखा आफूसँगै नाचेको कल्पनामा डुबेका छन् उनी,' फेवा किनारमा बसेर सुटिङ नियालिरहेका निर्देशक श्रेष्ठले खुलाए,‘त्यही अवस्थालाई गीतमार्फत प्रस्तुत गर्दैछौ।'रेखाले पहिलोपटक दृष्टिविहीनको भूमिकामा अभिनय गरेको श्रेष्ठले जानकारी दिए।‘आतंकवादीको आक्रमणमा परी सानैमा दृष्टि गुमाएकी रेखाको चाहना देशमा हत्या, हिंसा बन्द होस् भन्नेछ। उनले प्रेमी यशकुमारलाई हत्याहिंसा अन्त्य गरेर वीर बन्ने प्रेरणा दिएकी छिन्,' कुराकानीको दौरानमा श्रेष्ठले कथा सुनाउन समेत भ्याए पहिलोपटक निर्वाह गरेको दृष्टिविहीनको भूमिका चुनौतीपूर्ण लागेको रेखाले बताइन्। रेखासँग ‘बाटो मुनिको फूल'मा काम गरेकोले यसमा सजिलो भएको यशले बताए। ‘पढेलेखेको भए पनि उत्तरदायी नभएको युवायुवतीसँग्ाको भेटपछि मान्छे परिवर्तन हुने रहेछ,' यशकुमारले भने, ‘म त्यही परिवर्तन भएको युवा हुँ, जसले वीर भएर देशको लागि केही गर्न खोज्दैछ।' गीत गाउनभन्दा अभिनय गर्न गाह्रो भएको उनले उल्लेख गरे।यो फिल्ममा आयुष रिजाल र कल्पना शाहीको समेत अभिनय रहेको छ। फिल्मको दाङ, सल्यान, टीकापुर लगायतका स्थानमा सुटिङ भएको थियो। पोखरा हुँदै काठमाडौं पुगेपछि सुटिङ पूरा हुने निर्देशकले जानकारी दिए। योगेश लामिछाने र रम्भा ओली फिल्मका निर्माता हुन्।

0 comments:

Post a Comment