०६७ सालमा युवा पुस्ताका चलचित्र साफ

चलचित्र उधोगको लागि ०६७ साल सधैका बर्ष जस्तै नै भयो । संख्यात्मक रुपमा चलचित्र धेरै निर्माण भयो भने व्यापारका दृष्टिले केहि चलचित्रले मात्र ठिकैको व्यापारमा चित्त बुझाउनु पर्‍यो । यो बर्ष बिगतका बर्ष सार्वजनिक भएका चलचित्र भन्दा फरक धारका चलचित्र निकै बने तर बिडम्वना ति चलचित्रले खासै चमत्कार देखाउन सकेन ।०६७ सालमा बिषेश गरि युवापुस्तालाई लक्षित गरि चलचित्र बनाउनेको लहर नै चल्यो । ०६७ मा नयाँ निर्माता, नयाँ कलाकार, नयाँ निर्देशक आदि धेरै जन्मिए । उनीहरूले सम्भावना देखाए पनि व्यापारका हिसाबले लगभग सबै चलचित्र साफ नै भए । चलचित्र निर्माण गरि पैसा कमाउने सपना देखेका धेरै नव निर्माताहरुको सपना चलचित्र प्रर्दशन पछि चकनाचुर पनि भए । युवापुस्तालाई लक्षित गरि निर्माण गरिएका चलचित्र भन्दा पनि सामाजिक परिबेशका चलचित्र नै सबै भन्दा अगाडि आए । प्राय पुराना निर्माताहरु यो बर्ष चुप लागेर नै बसे भने नयाँ निर्माताको बाढि नै आयो । तर धेरै आशा बोकेका चलचित्रले भन्दा आशा नगरिएका चलचित्रले कमाइ राम्रै गरे ।०६७ सालमा नयाँ निर्माताले बनाएको चलचित्र मध्ये प्रर्दशनमा आएको चलचित्र 'फस्ट लभ' र गोर्खा पल्टन मात्र होला सफल चलचित्र । ति बाहेकका थुप्रै चलचित्रले सोचे भन्दा ठिक विपरित व्यापार गरे । तर हल्ला भने निकै ठूलो गरे । चलचित्र 'फस्ट लभ' को सफलतासँगै नवनायिका ऋचा शर्माले केहि सम्भावना देखाएकी छिन् भने 'गोर्खा पल्टन' सफल भएपनि सम्भावना बोकेका कोही पनि देखिएनन् । सबैभन्दा बढि नयाँ कलाकार लिएर निर्माण गरिएको चलचित्र हो 'स्वर' । सो चलचित्रमा निर्माता, निर्देशक देखि लिएर अधिकांश कलाकार नयाँ नै थिए । चलचित्रले कुनै जादु देखाउन नसकेपनि म्यूजिक भिडियोमा अभिनय गर्ने केकी अधिकारी, रीमा बिश्वकर्मा र बेनिसा हमाल र म्यूजिक भिडियो निर्देशक प्रशन्न पौडेललाई परिचित गरायो यस्तै अर्को चलचित्र आयो 'कोहि मेरो ' । मुस्ताङका दृष्य समेटेको सुरज बंशलको चलचित्र 'कोहि मेरो' त व्याबसायिक नजरमा साफ नै भयो । युवापुस्तालाई मध्येनजर गर्दै निर्माण गरिएको भनिएको सो चलचित्रको हल्लाखल्ला नै चर्को भयो । तर सो चलचित्रका नवनायक सुवास थापाले भने केहि सम्भावना बोकेको बताईयो । यस्तै युवा पुस्ताको अर्को चलचित्र 'बाटो मुनिको फूल' राम्रो हुँदाहुँदै पनि पाईरेसीको सिकार बन्न पुग्यो । यस कुमारको प्रस्तुति रहेको सो चलचित्रले धेरैको प्रसंसा बटुल्न सक्यो तर कमाउन सकेन । यसमा पनि नवनायक बाबु बोगटी र यश कुमारले सम्भावना बोकेर आए । यसैगरी नयाँ कथाबस्तुका साथ प्रदर्शनमा आएको चलचित्र 'पलपलमा' ले पनि कुनै छलाङ मार्न सकेन । नवनिर्देशक उकेश दाहालले सो चलचित्रबाट कुनै पनि कलाकारलाई स्थापित बनाउन सकेनन् तर आफूले भने स्थापित हुन सक्ने सम्भावना देखाएका छन् । उनी पुन: नयाँ कथाबस्तुमा चलचित्र निर्देशन गर्दैछन् । नयाँ प्रयोगका साथ आएको चलचित्र 'एक दिन एक रात' सबैभन्दा नराम्रोसँग डुब्न पुग्यो । यति गहिराईमा गएर डुब्यो कि उत्रने सम्भावना एकदम न्यून नै रह्यो । यस्तै यो बर्षको अन्त्यमा नयाँ प्रबिधि प्रयोग गरिएको भन्दै निकै तामझामका साथ आएको चलचित्र 'व्याच नं १६' पनि युवा बर्ग कै लागि भनी थियो तर तिनै युवावर्गले सो चलचित्रलाई सोचे अनुरूप रूचाउन सकेनन् । समग्रमा भन्नु पर्दा हिन्दि चलचित्र हेर्न पल्किएका युवा बर्गलाई तान्न सक्ने कुनै चलचित्र ०६७ मा बन्न सकेनन् । तर प्रयास भने नगरिएको हैन । जुन प्रयास गरियो त्यसलाई भने सलुट हान्नै पर्छ ।०६७ सालमा जस्तो युवापुस्तालाई भन्दै बनेका चलचित्र हिन्दि चलचित्र हेरिरहेका दर्शकले मन पराइ दिएनन् तर आउदो बर्ष भने गुणस्तरियताको साथमा युवाबर्गलाई मन पर्ने चलचित्र बनुन् । ०६८ सालको अन्त्यमा यस्तो असफलताको समाचार लेख्न नपरोस् । जय सिनेमा !

0 comments:

Post a Comment