लगानी ६५ लाख, नाफा कति?

काठमाडौं, चैत १८ (नागरिक)- व्यापारमा खडेरी लागेको बेला निर्माता सुशील पोखरेल ६५ लाख लगानीमा बनेको फिल्म 'निगरानी' रिलिज गर्दैछन्। उनलाई लागेको छ, 'असल र खराब व्यापारको निर्धारण समय होइन फिल्मले गर्छ।' आफ्नो फिल्मप्रति ढुक्क भएर शुक्रबार काठमाडौंमा फिल्म रिलिज गर्न लागेको उनले जानकारी दिए।'आफ्नो फिल्म त सबैलाई राम्रो लागिहाल्छ। अब यसको मूल्यांकन दर्शकले गर्छन्,' यसअघि ६ वटा फिल्म बनाएका पोखरेल यो अनुभवका कारण घाटा नखानेमा आशावादी छन्। 'उद्योगमा धेरै लगानीकर्ता मात्र छन्। म निर्माता पनि हुँ। बुझेर लगानी गरेको हुनाले घाटा खान्न भन्नेमा ढुक्क छु,'उनले नागरिकसँग भने।करिब ६५लाखको फिल्मबाट ८५लाखसम्म उठाई २०लाख नाफा कमाउने उनको लक्ष्य छ। 'काठमाडौंबाट ३५ लाख र बाहिरबाट ५० लाख आशा गरेको छु। बीचमा चाडबाड परेकाले व्यापार राम्रै हुन्छ होला,' उनले भने। फिल्म रिलिज गर्नु अघि वितरकसँग पैसा नलिएकाले अरू निर्माताजस्तो दबिनु नपर्ने सुविधा आफूले उपभोग गरिरहेको उनले बताए।'पहिला पैसा लियो भने रिलिज डेट लगायत धेरै कुरामा निर्माता बोल्न पाउँदैन। मैले त्यसो हुन दिएको छैन,' उनले भने। फिल्ममा बाल अपहरणको कथा समेटिएको छ। विषयको माग अनुसार पत्रकार, पुलिस र भिलेनको सेरोफेरोमा फिल्म घुम्ने छ। फिल्ममा एक्सन बलियो रहेको उनको दाबी छ। हिमाल केसीको फाइट रहेको 'निगरानी'मा बिराज भट्ट, मुकेश ढकाल, अरुणिमा लम्साल र जेनिशा केसीले अभिनय गरेका छन्। राजेन्द्र उप्रेतीद्वारा निर्देशित फिल्म चैत २५ देखि काठमाडौं बाहिर समेत रिलिज गरिने निर्माता पोखरेलले बताए।

0 comments:

Post a Comment