अवार्ड कहाँ भेटिएला!

काठमाडौं, चैत ३० (नागरिक) - फिल्म ‘कहाँ भेटिएला'ले उत्कृष्ट फिल्मसहित १० विधामा ‘बक्स अफिस फिल्म अवार्ड' हात पारेको छ। दशरथ रंगशालामा मंगलबार भएको अवार्ड समारोहमा श्रीकृष्ण श्रेष्ठले यही फिल्मबाट अभिनेताको अवार्ड जिते।
गायिका अञ्जु पन्त, गीतकार सुन्दर श्रेष्ठ, नवअभिनेत्री श्वेता खड्का, नृत्य निर्देशक वसन्त श्रेष्ठ, संवाद लेखक शिव रेग्मी र विकास आचार्य, ध्वनि रेकर्डिस्ट राजकृष्ण श्रेष्ठ, कला निर्देशक निर्जल श्रेष्ठ र मेकअप म्यान विक्रम थापाले यसैबाट अवार्ड पाए।यो फिल्मपछि धेरै अवार्ड पायो ‘आफ्नो मान्छे आफ्नै हुन्छ'ले। निर्देशक ऋषि लामिछानेका साथै फाइट डाइरेक्टर रोशन श्रेष्ठ, सहअभिनेत्री अरुणिमा लम्साल, सहअभिनेता मुकेश ढकाल, सम्पादक रजनीनाथ पन्त र लेखक विकास आचार्यले यो फिल्मबाट अवार्ड पाए।रेखा थापाले ‘बाटुली'बाट अभिनेत्रीको अवार्ड पाइन्। ‘मेरो एउटा साथी छ'बाट सुदर्शन थापाले नवनिर्देशकको अवार्ड पाए भने छायाँकार राजेश सिंहलाई यही फिल्मबाट अवार्ड मिल्यो।संगीतकार वसन्त सापकोटा र गायक दीपक लिम्बुले ‘नैना रेशम'बाट अवार्ड पाए। गोविन्द शाहीलाई ‘कहाँ छौ कहाँ'ले नवअभिनेताको अवार्ड दिलायो। मिथिला शर्माले ‘दाग'बाट चरित्र अभिनेत्रीको अवार्ड पाइन् भने नीर शाहले ‘हिफाजत'बाट चरित्र अभिनेताको अवार्ड पाए।सानु भारतीले भेषभुषा (हिफाजत), दिनेश सुनामले पार्श्व संगीत (सम्झना), जयकिशन बस्नेतले हास्य कलाकार (धुम) र सानिया श्रेष्ठले बाल कलाकारको अवार्ड पाए। सुनील थापा, करिश्मा मानन्धर, लक्ष्मीनाथ शर्मा र राजकुमार राई अवार्डका निर्णायक थिए। दर्शकले दिएको भोटको आधारमा भने कहाँ भेटिएला (फिल्म), शिव रेग्मी (निर्देशक), राजेश हमाल (अभिनेता), रेखा थापा (अभिनेत्री), अञ्जु पन्त (गायिका), सुनील थापा (खलनायक), जयकिशन बस्नेत (हास्य कलाकार), राजेशपायल राई (गायक) र शम्भुजित बासकोटा (संगीतकार) उत्कृष्ट ठहरिए।

अवार्ड वितरणपछि भएको ‘बक्स अफिस फिल्म फुटबल लिग'को फाइनल खेलमा फिल्म कलाकारले हास्य कलाकारलाई ३-२ ले हरायो।

0 comments:

Post a Comment