सेन्सर बोर्ड औपचारिकतामा सीमित

आखिर पटक-पटक किन सेन्सर बोर्ड कामप्रति लापरवाही गर्छ ? निर्देशक तथा समीक्षक मनोज पण्डित भन्छन् 'किनकी सेन्सर बोर्ड राजनीतिक उद्देश्यले निर्माण भएका सिनेमाहरु बाहेक अन्य सिनेमाको सेन्सरप्रति गम्भिर छैन । राजनीतिक फिल्मबाहेक अन्यको सेन्सर केवल औपचारिकतामा सीमित बनेको छ ।' सेन्सर बोर्डको यस्ता लापरवाहीका घटनाहरुलाई 'चाँदनी चोक टु चाइना'सँग मात्र दाँज्नु पर्याप्त हुँदैन पछिल्लो समय रिलिज भएका स्वदेशी सिनेमाको सेन्सर हेर्दा उक्त आरोपको पुष्टि हुन्छ ।शुक्रबारदेखि उपत्यकामा प्रदर्शन सुरु गरेको चलचित्र 'म बिस्रुँ कसरी'को प्रीमियरमा यस्तै एउटा असंवेदनशिलता र लापरवाहीको उदाहरण भेटियो । सेन्सर बोर्डले चलचित्रलाई उपलब्ध गराएको सर्टिफिकेटमा काटिएका दृश्य तोकेरै उल्लेख भएपनि चलचित्रमा भने हुबहु नकाटिएका दृश्यहरु राखिएका छन् । 'रगत चाटेको र घाँटी अँचेटेको दृश्य काटिएको' कुरा प्रमाणपत्रमा उल्लेख छ तर दृश्य जस्ताकै तस्तै छ । सेन्सर बोर्डले या त चलचित्र सेन्सर नै नगरी सर्टिफिकेट दिएको छ या त निर्माण पक्षले दृश्य राखेर सेन्सर बोर्डलाई चुनौति दिएको छ ।यतिसम्मकी िहंसात्मक दृश्य समेटिएका र सेन्सर बोर्डबाट 'एडल्ट' सर्टिफिकेट पाएको उक्त सिनेमालाई नाबालकहरुले पनि हेरेका थिए । स्वयम अभिभावकहरुले बच्चाहरुलाई 'एडल्ट' फिल्म हेराउन ल्याएका थिए तर आयोजकले उनीहरुलाई नदेखाउनतर्फ वास्ता गरेनन् । सेन्सर बोर्डको यस्तो लापरवाही यसअघिका दुई सिनेमा 'शासन' र 'बाटो मुनिको फूल'मा पनि देखिएको थियो । 'बोर्डमा व्यावसायिक मानिस नहुँदा र राजनीतिक चलचित्रलाई मात्र सेन्सर गर्नुपर्छ भन्ने मनोविज्ञानले यस्तो भएको हो' स्वयम चलचित्र 'दासढुंगा'का निर्देशक समेत रहेका पण्डितले टिप्पणी गरे ।

तस्विर : विहिबार बेलुका राजधानीको कुमारी सिनेमा घरमा आयोजना गरिएको चलचित्र 'म बिस्रुं कसरी' प्रीमियरको एक दृश्य । सो अवसरमा माओबादी नेता सागर थापा, कलाकार र चलचित्रकर्मी उपस्थित थिए ।

0 comments:

Post a Comment